दम्पतीले चाहना राखेको खण्डमा विवाहको दुई वर्षभित्रै गर्भ आउनुपर्दछ । तर यसको लागि विवाह गरेदेखि सँगै बसेको र परिवार नियोजनका कुनै पनि साधन नअपनाएको हुनुपर्छ । मानिसको गर्भ ४० हप्ता वा २८० दिनको हुन्छ । अर्थात् नियमित महिनावारी रोकिएको दिनदेखि ९ महिना ७ दिनमा सुत्केरी हुनुपर्दछ । यसरी हिसाब गरेको दुई हप्ताअगाडिदेखि एक हप्तापछाडिको अवधिमा करिब ८० प्रतिशत गर्भवती महिलाको सुत्केरी हुन्छ ।
नियमित गर्भजाँच गर्नुपर्नाको मुख्य उद्देश्य स्वस्थ आमा र शिशु नै हो । आजकल कम बच्चा पाउन थालेको कारण गर्भजाँचको महत्व झन् धेरै भएको छ । नियमित गर्भजाँचको क्रममा गर्भवती महिलामा पहिल्यैदेखि कुनै मेडिकल समस्या छ कि वा गर्भावस्थाकै कारण कुनै मेडिकल समस्या देखा पर्यो कि भनेर पत्ता लगाइन्छ । त्यसैले पनि सम्भव भएसम्म गर्भपूर्व नै विवाहित दम्पती सम्बन्धित प्रसूति रोग विशेषज्ञसँग परामर्श लिन जानु बुद्धिमानी हुन्छ ।
गर्भावस्थाको शुरुवाततिर रगत बग्ने, तल्लो पेट अचाक्ली दुख्ने, ज्वरो आउने, पिसाब पोल्ने, अतिशय उल्टी हुने समस्या हुनसक्छ । यी सबैजसो समस्याले गर्भमा रहेको भ्रूण वा गर्भेशिशुलाई नकारात्मक असर पुग्न सक्छ । गर्भावस्थाको मध्यतिर देखा पर्न सक्ने मधुमेह, उच्च रक्तचाप, रक्तअल्पताले गर्भेशिशुको वृद्धिलाई असर पुर्याउने वा कम तौलको शिशु जन्मिने खतरा हुन्छ । गर्भावस्थाको आखिरीतिर महिना नपुग्दै सुत्केरी व्यथा लाग्ने, सुत्केरीपूर्व योनिद्वारबाट रगत बग्ने, कम्पन छुट्नेजस्ता समस्या झनै खतरनाक साबित हुनसक्छ । त्यसो भएर कुनै पनि गर्भ स्वस्थ वा सुरक्षित पार्नु छ भने नियमित गर्भजाँचको विकल्प नै छैन ।
नियमित तवरले गर्भजाँच गर्न गएकै क्रममा गर्भवती महिला तथा गर्भेशिशुलाई स्वस्थ राख्न फोलिक एसिड, आइरन, क्याल्सियम खानुपर्ने तथा टीडी खोप लाउनुपर्ने सल्लाह पाइन्छ । नियमित गर्भजाँचको क्रममा तौल लिने, रक्तचाप नाप्ने, हातखुट्टा सुन्निएको छ वा छैन हेर्ने गरिन्छ । जस्तै कि स्वस्थ खालको गर्भवती अवस्था औसतमा १० देखि १२ किलो तौल बढ्नुपर्दछ । गर्भवती महिलाको तौल कम बढ्नु वा बढी बढ्नु पनि राम्रो होइन । त्यसै गरी नियमित तवरमा रगत, पिसाब, अल्ट्रासाउन्ड गराउन सल्लाह पाइन्छ । यी सबै जाँचकै कारणले पनि गर्भवती महिलामा विकसित हुन लागेको वा समस्या नै भैसकेको थाहा हुन्छ । समयमै यस्ता समस्या पत्ता लगाई उपचार पाएको खण्डमा गर्भवती महिला र गर्भेशिशु स्वस्थ बनाइराख्न मद्दत गर्दछ ।
जसरी बिहान–बेलुका खाना खान धेरै थोकको जोरजाम गर्नुपर्दछ, प्रत्येकपटकको गर्भ स्वस्थ, सुरक्षित बनाउन गर्भावस्थाको शुरुवातीदेखि धेरै विचार पुर्याउनुपर्दछ । नियमित गर्भजाँचका क्रममा पोषण शिक्षा, फिजियोथेरापी, दन्त स्वास्थ्य, सुत्केरीको लागि तयारीबारे निकै महत्वपूर्ण सल्लाह पाइन्छ । यसको अलावा निगेटिभ रक्तसमूह, जुम्ल्याहा गर्भ बोकेको, गर्भेशिशु उल्टो, तेर्सो भएको, यसअघि सिजेरियनबाट बच्चा पाएको केसमा पनि फरक तवरले व्यवस्थापन गरिन्छ । विवाहको निकै समयपछि गर्भ आएको, पहिले–पहिलेको गर्भ तुहिएको, गर्भ बिग्रेको, सानै उमेरमा गर्भवती हुन लागेको वा उमेर ढल्केपछि गर्भ आएको केसमा पनि विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ ।
केही वर्षअघिसम्म गर्भजाँच, स्वास्थ्यकर्मीको उपलब्धता, उपचारको सुविधा सहज थिएन । भगवान् भरोसाले गर्भवती हुने, सुत्केरी हुने प्रक्रिया हुन्थ्यो । अहिले जति बुझ्यो झन् गाह्रो भनेझैँ प्रत्येक गर्भमा यो समस्या होला कि त्यो होला भनेर धेरै थोकको ख्याल राख्नुपर्ने बेला छ । त्यसैले पनि होला अहिलेका बुहारीले सासूबाट भनाइ पनि खेप्नुपर्छ– ‘उहिले हामीले त्यत्तिका बच्चा पायौं केही गर्न परेन, आजकलका चाहिँ के–के हो के के नानाथरीका कुरा ?’ तर अहिलेका सासूले समय सुहाउँदा प्रचलन अपनाउँदै जानुमै बुद्धिमानी छ ।
यदि आमा र बच्चा दुवैको स्वस्थता चाहने हो भने गर्भावस्थामा मात्र नभई सुत्केरी बेलामा पनि उत्तिकै ख्याल गर्नुपर्दछ । मुख्य कुरा त घरमै बच्चा पाउने चलनलाई निरुत्साहित नै गर्नुपर्दछ । संस्थागत सुत्केरी गराउनको लागि नेपाल सरकारले प्रोत्साहनस्वरुप निकै सुविधाहरुको व्यवस्था गरेको छ । तालिमप्राप्त प्रसूतिकर्मी उपलब्ध हुन्छन् । चिकित्सकहरुलाई वैज्ञानिक एवं सुरक्षित तवरले कसरी सुत्केरी गराउने भन्ने सैद्धान्तिक र व्यावहारिक ज्ञान छ । संक्रमण रोकथाम एवं निर्मलीकरणका उपायहरु अपनाएर सुत्केरी गराउनुपर्नेबारे उचित ज्ञान छ । तालिमप्राप्त स्वास्थ्यकर्मीहरुले गर्भावस्था तथा सुत्केरी बेलाका खतराका लक्षण, चिह्नहरु समयमै थाहा पाउँछन् । अझ कस्तो परिस्थितिमा सिजेरियनबाट मात्र सुत्केरी हुन्छ भन्ने ज्ञान छ । साथै आफ्नो बलबुताले नभ्याएमा समयमै रेफर गर्नुपर्दछ भन्ने हेक्का पनि छ ।
कुरा यत्तिमै सकिँदैन, सुत्केरीपश्चात्को समय पनि आमा तथा नवजात शिशुको लागि महत्वपूर्ण छ । सुत्केरीलगत्तै अधिक रक्तश्राव हुने, संक्रमण हुने, ज्वरो आउने, विभिन्न स्तरको मानसिक समस्या देखा पर्ने, यथेष्ट मात्रामा दूध नआउने, अधिक जन्डिस देखा पर्ने, शिशुले तापक्रम कायम राख्न नसक्ने, कम्पन छुट्ने आदि समस्याले गर्भावस्था र सुत्केरी बेलासम्मको अवधिमा गरिएको मेहनत खेर जान सक्छ ।
अतः प्रत्येक गर्भलाई महत्वको मानी, उत्तिकै महत्व दिई गर्भ आउनुअगाडिदेखि नै आफ्नो मन खाने चिकित्सक, प्रसूतिकर्मीको निरन्तर अनुगमनमा रही गर्भावस्था, सुत्केरी बेला र प्रसवोत्तर समयलाई राम्रो बनाउन सकेको खण्डमा मात्र आमा र शिशु स्वस्थ हुन सक्छन् । एकपटकको गर्भ बिग्रेको खण्डमा विशेषतः प्रभावित महिलाले खेप्नुपर्ने मानसिक एवं शारीरिक तनाव भनिसाध्य छैन । त्यसैले पनि महिला स्वास्थ्यलाई समग्रमा उत्थान गर्नकै लागि पनि प्रत्येक गर्भावस्थाको सुरक्षित व्यवस्थापन गर्न निकै जरुरी छ ।
प्रा.डा. सुमनराज ताम्राकार (स्त्रीरोग विशेषज्ञ) को लेख बाट