के हो ढाँडको नसा च्यापिनु भनेको?
- उमेर बढ्दै गैसकेपछी ढाडको हड्डी बिचमा रहेको नरम मासु उछिटिएर बाहिर निस्की गडबडी वा दबाब पार्ने गर्दछ जसलाई ढाँडको नसा च्यापिनु भनिन्छ।
यो रोग लाग्नुको कारण?
यो बिभिन्न कारणले लाग्ने गर्दछ। जस्तै:
- उमेर बढ्दै गईसकेपछी बिस्तारै हड्डीहरु खीईदै जाने गर्छ र ढाँडको नरम मासुमा जती पानी हुनुपर्ने हो त्यती हुँदैन र कम कम हुँदै जाने गर्छ जसको कारण यो समस्या देखिने गर्दछ।
- कुनै चोटपटक लागेको खण्डमा
- शरीरमा अनावश्यक बल प्रयोग गरेमा
- जीवनशैलीको कारणः धेरै समय एकै ठाउँमा बसेर काम गर्दा
- महिलाहरुको हकमा प्रसव वेदनाको कारण
यो समस्या कुन उमेर समुहमा बढी देखिन्छ?
- यो समस्या ३०-४० बर्ष भन्दा माथिको मानिसहरुमा बढी देखिन्छ त्यसका साथै एकैठाउँमा बसिराख्नुहुने मानिसहरुमा बढी देखिनेगर्दछ।
यसमा के कस्तो लक्षण देखिन्छ त?
- नसा च्यापिनुको फरक फरक लक्ष्ण हने गर्दछ। यो ढाडको दुखाईबाट सुरु भई बिस्तारै दुखाइ खुट्टामा सर्ने गर्दछ। त्यसपछी अरु लक्षणहरु देखिन्छन् जस्तै खुट्टा झम्झमाउने, खुट्टाको चाल नपाउने, दिसापिसाबमा समस्या आउने आदी।
यसलाई उपचार नगरी बस्दा कस्तो समस्या देखिने गर्दछ?
- लामो समय सम्म उपचार नगरेको खण्डमा बिरामीलाई खुट्टा प्यारलाइसिस हुनसक्ने, दिसापिसाबमा समस्या आउन सक्ने र निको हुन लामो समय लाग्ने गर्दछ।
के अपरेसन यसको अन्तिम उपाय हो?
- यस्ता समस्या भएमा औषधिले दुखाई कम गर्न केही मात्रामा सघाउ पुर्याउँछ तर त्यसले मात्र यो समस्या निको हुँदैन । यसको लागि फिजियोथेरापी नै आवश्यक पर्छ । फिजियोथेरापीले पनि दुखाई कम भएन र खुट्टातिर दुखाइ बढ्न थाल्यो भने अन्तिम उपाय चाँही अपरेसन हो।
यसको उपचार पछी मान्छे आफ्नो पहिलाको सामान्य अवस्थामा फर्किन सक्छ त?
- केही समय लाग्न सक्छ तर यसको उपचार पछी मान्छे आफ्नो सामान्य अवस्थाको जीवनशैलीमा फर्किन सक्छ।
यसबाट कसरी बच्ने त?
- लामो समयसम्म कुर्सी तथा टुलमा झुकेर नबसौँ, बस्दा उपरखुट्टी लगाएर वा शरीरको एक भागलाई मात्र दबाब दिएर नबसौँ । एउटै पोजिसनमा लामो समयसम्म रहने व्यक्तिमा यो समस्या हुन सक्छ ।
-. सामान वा भारी वस्तु उठाउँदा सावधानी अपनाऔँ । हडबडमा बलपूर्वक भारी उठाउने कोसिस नगरौँ ।
- अग्लो हिलजुत्ता वा चप्पलको प्रयोग नगरौँ।
- उकाली–ओराली गर्दा सिँढी चढदा सावधानीपूर्वक बिस्तारै हिँडौं।
- अगाडि झुकेर सामान उठाउनुपर्दा कम्मरबाट नझुकौँ। निहुरिएर गर्नुपर्ने कुनै पनि काम गर्नुपर्दा घुँडा खुम्च्याएर कम्मरलाई नमोडी बिस्तारै उठाऔँ।
- खोक्दा वा हाच्छिउँ गर्दा भित्ता वा टेबुलको साहयता लिऔँ।
- शरीरको तौललाई आफ्नो उचाइअनुसार नियन्त्रणमा राखौँ। विशेषगरी, पेटलाई बढ्न नदिऔँ, यसले ढाडमा अतिरिक्त दबाब दिन्छ।
- गद्दा, फोम, डन्लपजस्ता बाक्ला र मुलायम ओछ्यानमा नसुतौँ। स्प्रिङ भएको लचकदार झोलुङ्गे ओछ्यान बढी आरामदायक भए पनि ढाडको लागि राम्रो होइन।
- साह्रै कडा ओछ्यानले पनि ढाडलाई राम्रो गर्दैन। सामन्यतः एक इन्चजति बाक्लो कपासको बिछ्यौनामा सुत्नु ढाडको लागि राम्रो हो।
- सुत्दा सीधा सुत्ने बानी बसालौँ। घोप्टो वा कोल्टेभन्दा उत्तानो सुत्नु नै ढाडका लागि राम्रो हो। नसा च्यापिइ सकेपछि भने खुट्टा खुम्च्याएर सजिलो हुनेगरी गोडामुनि तकिया राखेर सुतौँ । सिरानी काँधको लम्बाइबराबर अग्लो भए ढाडका लागि राम्रो मानिन्छ।
- लामो समयसम्म उभिरहने वा बसिरहने नगरौँ। गर्नैपर्ने भएमा बीचबीचमा अवस्था परिवर्तन गरिरहनुहोला। उभिएर गर्नुपर्ने काम गर्दा एक खुट्टालाई अर्को खुट्टाभन्दा ६ इन्चजति माथि कुनै वस्तुको आड लिई राखौँ।
- ड्राइभिङ गर्दा सिटलाई अलि अगाडि नै सारेर बस्ने गरौँ। ड्राइभिङ सिटमा अथवा कुर्सीमा बस्दा ‘ब्याक रेस्टको’ प्रयोग गर्ने गरौँ।
- कम्मर वा गर्धन दुख्ने समस्या भएकाहरुले मोटरसाइकल नचलाऔँ। हिँड्दा ढाडको बेल्ट वा घाँटीको कलर लगाऔँ।
- हिँड्दा बूढो मान्छेजस्तो कुप्रेर होइन, बहादुरजस्तो छाती खोलेर हिँडौँ।
(न्यूरो सर्जन डा. हृदयश प्रताप मल्लसँगको अन्तर्वातामा आधारित)