काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिणपूर्वी एसियाली राष्ट्रका क्षेत्रीय कार्यकारी समितिको ७४औं बैठकमा स्वास्थ्य प्रणालीहरूको उत्थानशीलतालाई थप सबलीकरण गर्न ११ वटै सदस्य राष्ट्रका स्वास्थ्यमन्त्रीहरुले मन्त्रिस्तरिय प्रतिबद्धता व्यक्त गरेका हुन्। सम्मेलनको दोस्रो दिन ११ वटै सदस्य राष्ट्रका स्वास्थ्यमन्त्रीहरुले संयुक्त रुपमा १२ बुंदे घोषणा पत्र सार्वजनिक गरेका छन्।
घोषणा पत्रमा महामारीको दौरान र महामारीपश्चात्को समयमा अत्यावश्यक स्वास्थ्य सेवा र जनस्वास्थ्यका कार्यक्रम सञ्चालन राख्नका लागि समुदायलाई संलग्न गराउन, समुदायको सशक्तीकरण गर्न, जोखिममा रहेका र प्रभावित समुदायका लागि प्रभावकारी प्रतिकार्य सञ्चालन गर्न, जनस्वास्थ्य आपत्कालीनसम्बन्धी र विपद् जोखिम व्यवस्थापनसम्बन्धी रणनीतिलाई एकीकृत गर्न, प्राथमिक स्वास्थ्य स्याहारमा निगरानी तथा तयारी क्षमताको सुदृढीकरण गर्न सदस्य राष्ट्रले प्रतिबद्धता जनाएको छ ।
जनस्वास्थ्य सम्बन्धी आपत्काललाई सम्बोधन गर्न र सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भएको सुनिश्चित गर्नका लागि राष्ट्रिय क्षमता विकास कार्यमा डब्लुएचओको महत्वपूर्ण भूमिका हुनुपर्नेसमेत घोषणापत्रमा उल्लेख छ । सदस्य राष्ट्रहरूले प्राथमिक स्वास्थ्य स्याहारको मानसिक स्वास्थ्य तथा अन्य रोगलगायतका नसर्ने रोगलाई समाहित गर्ने, प्राथमिक स्वास्थ्य स्याहार सेवाका लागि राष्ट्रिय गुणस्तर मापदण्ड स्थापना गर्ने र महामारी तथा पुनःरुत्थानको दौरानमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
त्यस्तै परम्परागत औषधि प्रणालीको सम्भाव्यताको उचित उपयोग गर्ने र डिजिटल स्वास्थ्य प्रविधिमा भएका नवीनतम आविष्कारको पनि सर्वोत्तम उपयोग गर्ने घोषणापत्रमा उल्लेख छ ।
बैठकमा यस क्षेत्रका सदस्य राष्ट्रका स्वास्थ्यमन्त्री तथा स्वास्थ्यका उच्च पदाधिकारी, संयुक्त राष्ट्र सङ्घीय निकाय, साझेदार, दातृ निकाय तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको थियो ।
बैठकमा समेटिएका ११ राष्ट्र नेपाल, बङ्गलादेश, भारत, भुटान, श्रीलङ्का, माल्दिभ्स, थाइल्याण्ड, उत्तर कोरिया, इन्डोनेसिया, म्यानमार, पूर्वी टिमोरका स्वास्थ्यमन्त्री सहभागी हुनुहुन्थ्यो ।
बैठकले सार्वजनिक स्वास्थ्य आपत्कालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण, नसर्ने रोगको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गतिदिने र भाइरल हेपाटाइटिस, एचआइभी र यौन रोगको उन्मूलनलगायतका विषयमा समेत छलफल गरेको थियो ।
त्यस्तै बैठकमा स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगका लागि खोप कार्य योजनाका लागि क्षेत्रीय कार्यढाँचाका बारेमा पनि छलफल भएको बताइएको छ