नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाएर मनाइदैछ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुले शक्ति प्राप्तिका लागि मीठामीठा एवं आडिलो परिकार दरका रुपमा खाई भोलिको व्रतका लागि पूर्वतयारी गर्ने गर्दछन् ।
विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाइ दर खुवाउने गर्दछन् । माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा भए पनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायम रहेका कारण धेरै महिलाले सजगताका साथ तीज मनाउनुपर्ने अवस्था छ ।
आज दर खाएपछि औपचारिकरुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ ।भोलिपल्ट व्रत बसी पूजा र नाचगान गर्ने चलन छ । तर, हिजोआज तीज आउनुभन्दा हप्तौँ अघिदेखि दर खाने र खुवाउने कार्यक्रम भइरहेका हुन्छन् । सहरबजारमा हुने यस्ता दर कार्यक्रममा सात्विक तथा तामसिक भोजन समावेश हुन्छन्।
दरका नाममा मादक पदार्थको प्रयोग तथा खानाको अति प्रयोगले व्यक्तिको शारीरिक स्वास्थ्यमा त असर पुर्याउँछ नै, सामाजिक स्वास्थ्य समेत खलबलिन्छ । दरका नाममा धेरै खानु वा भारी खानु अनावश्यक मात्र होइन, घातक पनि हुन सक्छ । त्यसैले दर खाँदा ध्यान पुर्याउनुपर्छ।
दरमा के खाने, के नखाने ?
१. दर खान बनाइने मिठा परिकारहरूमा धेरै चिल्लो हाल्नु हुँदैन । चिल्लो पर्दाथमा कोलष्ट्रलको मात्रा धेरै हुन्छ, जसले शरीरलाई राम्रो गर्दैन ।
२. दर खाने भन्ने बित्तिकै दैनिक भन्दा बढी नै खाइन्छ । तर यसरी मात्रा नमिलाई खाँदा शरीरले एकैपटक पचाउन सक्दैन त्यसैले शरीरलाई चाहिने मात्र खानुपर्छ ।
३. दरमा खीर, अचार, विभिन्न किसिमका तरकारीहरूको परिकार, सलाद र मासुको पनि प्रयोग गरिन्छ । धेरै किसिमका परिकार बनाउदा स्वास्थ्यलाई फाइदा हुने गरी बनाउनु पर्छ । परिकारमा अन्य खानेकुरा भन्दा सलादको मात्रा धेरै हुनुपर्छ ।
४ आजभोलि विभिन्न ठाउँमा सामुहिक रुपमा दर खाने कार्यक्रमहरू नै आयोजना गरिएको हुन्छ । यसरी सामुहिक रुपमा खाने दरमा ‘फुड पोइजन’ हुने सम्भावना हुन्छ । त्यसैले सकेसम्म घरमै बनाएको दर खाँदा राम्रो हुन्छ ।
५. दर खाने नाममा आजभोलि महिलाहरू रक्सी (अल्कोहल) पनि खान्छन् । अल्कोहल पिउँदा शरीरलाई फाइदा गर्दैन । र, दुर्घटनामा समेत पर्न सकिन्छ ।
६. पोषिलो खाने : पोषणका लागि दरमा दुग्ध खाद्य पदार्थ खानु राम्रो मानिन्छ । दूध, दही, मखन, घिउ जस्ता खानेकुराले शरीरलाई लामो समय शक्ति दिने खाद्य प्राविधिज्ञ बताउँछन् । व्रतको राति अबेर खाएर शरीरलाई व्रतका लागि तयार गर्नु उपयुक्त हुने खाद्य प्राविधिज्ञ चापागाइँको सुझाव छ । शरीरका लागि ग्लुकोज तथा कार्बाेहाइड्रेड दिने खालका खानेकुरा उनी सुझाउँछन् । यसका लागि फलफूल तथा अन्नबाट बनेका परिकार खानुपर्छ । मधुमेह, रक्तचाप, ग्याष्ट्रिकका समस्या भएका बिरामीले दर खाँदा खानाको सन्तुलनमा विशेष ध्यान दिनुपर्छ । यस्ता बिरामीले सबेसम्म निराहार व्रत पन्छाउनु नै राम्रो मानिन्छ।
व्रतको बेला नाचगानका धेरै शक्ति खेर फाल्नु पनि अनुपयुक्त हुन्छ । धेरै परिश्रम पर्दा लिभरमा जम्मा भएको ग्लुकोज सिद्धिएर कमजोरी तथा बेहोस हुने सम्भावना हुन्छ । त्यसैले व्रतको समय शरीरलाई भार पर्ने गतिविधि कम गर्नुपर्छ ।
दरको नाममा मादक पदार्थ सेवन गर्नु विसंगति हो । तीजभन्दा धेरै दिनअघि हुने गरेका दर कार्यक्रममा मदिराजस्ता हानिकारक कुरा प्रयोगलाई निरुत्साहित गरिनुपर्छ।
तीजमा विवाहित महिलाहरू पतिको दीर्घायुको लागि र अविवाहितहरू राम्रो र असल पतिको कामनामा निराहार व्रत वस्छन्।