डाइटिसियन रस्मी श्रेष्ठ
काठमाडौं । बर्ष दिनमा एकपटक आउने हिन्दु महिलाहरुको महान चाड तिजमा श्रीमानको दिर्घ जिवन र सुस्वास्थ्यको लागी निराहार व्रत बस्ने परम्परा रहि आएको छ । व्रत बस्ने अघिल्लो रात दर खाने परम्परा छ । तर अहिलेको परिवेशलाई नियाल्ने हो भने महिनौ अगाडिदेखी दर खाने गरिन्छ । दरका रुपमा विभिन्न परिकारहरु खाने गर्दछन् ।
पहिले दरको रुपमा खिर, पुरी, तरकारीहरु लगायत बिभिन्न घरेलु मिठाइहरु, फलफुल, दुध, दही खाने चलन थियो । तर आजभोलि दरमा खाईने परिकारहरु परिर्वतन भएका छन् जस्तैः पुलाउ, माछा, मासु, तथा बजारका मिठाईहरु खाने गरिन्छ । जसले गर्दा शरीर मोटाउनुका साथै विभिन्न समस्याहरु देखिन सक्छन् ।
त्यसैले एक दिनको ब्रत बस्नका लागि खाइने दर सफा, शुद्ध र स्वास्थ्यमा असर नपार्ने हुनुपर्दछ । साथै सबै पौष्टिक तत्वहरु मिलेको हुनु पर्दछ । जसले गर्दा ब्रतको दिनमा पनि उहि स्फुर्ती र उर्जा कायम राख्न सकिन्छ ।
दर खाँदा हाम्रो शरिरलाई चाहिने पौष्टिक तत्वहरु काब्रोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ तथा फाइबरको साथै पानीको मात्रा पनि सुन्तुलित हुनुपर्छ । यि पौष्टिक तत्वहरु पाउनको लागि ठिक्क मात्रामा चिल्लो राखेर पुलाउ, चाम्रे, रोटी, सिजन अनुसारका तरकारीहरु, फलफुल, गेडागुडी, दुध, दही तथा दुधबाट बनेका परिकारहरु जस्तै पनिर, चिजहरुलाई पनि दरमा समाबेश गनुपर्छ । त्यस्तै गरि तोफु च्याउलाई तरकारीमा मिलाएर खान सकिन्छ । हरियो सागपात तथा सलादहरु पनि दरमा मिलाएर खानुपर्छ ।
आफ्नो शरीलाई आवश्यक भन्दा बढी खानेकुराहरु खाएमा अपच भएर पेटमा समस्या आउन सक्छ । कहिले काहि यसले गर्दा झाडापखला पनि हुनसक्छ । आवश्यकता भन्दा बढी खाँदा, बढी भएको उर्जा बोसोमा परिणत भएर जम्मा हन्छ । जसले गर्दा शारिरको तौल बढ्छ ।
शरिरको तौल बढ्दै जानुु भनेको दिर्घकालीन रोगहरु जस्तै मघुमेह, उच्च रक्तचाप, मिर्गौला आदी समस्याहरु देखिन थाल्नु हो । त्यसैले दर खाइसके पछि शारिरीक व्यायामहरु अथवा नाच्न अत्यावश्यक हुन्छ । जसले बढी खाएको खानालाई बोसोको रुपमा जम्मा हुन दिदैन ।
नियमित औषधि सेवन गरिरहेका ब्रतालुहरुले कस्ता कुरामा ध्यान दिने ?
अहिलेको समाजमा ग्याष्ट्रिक, उच्चरक्तचाप, मधुमेह तथा थाइराइड जस्ता रोगहरु धेरै महिलाहरुमा देखिन्छ । त्यसैले यस्ता रोग भएका महिलाहरुले ब्रत बस्दा तथा दर खाँदा धेरै कुराहरुको बिचार गर्नुपर्ने हुन्छ ।
थोरै खाने बरु धेरै पटक खाने
खानामा नूनको प्रयोग कम गर्ने दिन भरीमा ३ ग्राम मात्र खाने
सिजनल तरकारी तथा फलफुलहरु खाने
हरियो सागपात तथा सलादहरु प्रशस्त खाने
फलफुल खाँदा केरा, आँप, अनार कम खाने मेवा, मौसम, नास्पातीहरु एक पटक खादा १०० ग्राम देखी १२० ग्राम सम्म खान मिल्छ ।
प्रोसेस गरेका खानेकुराहरु सकेसम्म नखाने
त्यस्तै गरेर रेडिमेड खानेकुराहरु पनि नखाने
कोल्ड ड्रिङस नपिउने यसको सट्टामा दही, मोही पिउने
दर खाँदा गुलियो खानेकुराहरु नखाने
चिल्लो खाँदा पनि ध्यू, बटर जस्ता चिल्लो पदार्थहरु सकेसम्म नखाँने यदी खानै पर्ने अवस्थामा कम मात्रामा खाने
यदी ब्रतालुले कुनै रोगको नियमित औषधी सेवन गर्नुपर्ने छ भने त्यसको लागी विशेष ध्यान दिएर औषधी समयमा खानुपर्छ । ब्रतमा निराहार बस्नु भन्दा झोलिलो पदार्थ तथा ताजा फलफुलहरु खानु उपयुक्त हुन्छ ।
ब्रत बस्दा के कुरामा ध्यान दिने ?
ब्रतको दिनमा आफुलाई पानीको कमी हुन दिनुहुदैन । त्यसैले सर्वप्रथम शरिरमा पानीको मात्रालाई सन्तुलनमा राख्नुपर्छ । खासगरी मधुमेहका बिरामीले ब्रतको दिनमा खालि पेट बस्दा शरिरमा चिनीको मात्रा कम हुन जान्छ । जुन धेरै खतरापूर्ण मानिन्छ । त्यसैले फलफुल तथा फलफुलको फ्रेस जुसहरु, दहीको लस्सी, मोही अथवा दुध पिउनुपर्छ ।
यस्तो अवस्थामा चोखो दही रोटी, साबुदानाको खीर अथवा जौको सातु खानु उपयुक्त मानिन्छ । दिनभरी केही नखाइकन निराहार ब्रत बस्नेहरुले एकैपटक राती खाना खादाँ कम चिल्लो भएको खाना जस्तैः रोटी तरकारी, दुध, दही फलफुलहरु खानुपर्छ ।
व्रतको भोलि पल्ट के गर्ने ?
व्रतको भोलिपल्ट खानेकुराहरुमा पहिले तरल पदार्थ हुनुपर्छ । जस्तै कालो चिया अथवा काडाँ पानि त्यसपछि कम चिल्लो भएको सामान्य खानेकुरा खानुपर्छ । खानामा सबै किसिमको पौष्टिकतत्वहरु (कार्बोहाइड्रट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन तथा खनिज पदार्थहरु) मिलेको सन्तुलित भोजन खानुपर्छ । खानाको साथै पानी पनि उपयुक्त मात्रामा पिउनु जरुरी हुन्छ ।
डाइटिसियन रस्मी श्रेष्ठ निदान अस्पतालमा कार्यरत छिन् ।