दाँत सिरिङ–सिरिङ हुने, चिसो पानी तथा गुलियो वस्तु खाँदा दाँत दुख्नेलगायतका समस्यालाई चिकित्सकीय भाषामा हाइपर सेन्सिटिभिटी भनिन्छ । हाइपर सेन्सिटिभिटी एक किसिमको दुखाइ हो, जुन दाँतको बीचको तह डेन्टिन देखिएर हुने गर्दछ । यस रोग जन्माउने तथा बढाउने काम तातो, चिसो, ब्रस गर्दा अथवा छुँदा, औषधि, रसायन, गुलियो पदार्थले गर्छ ।
हामी सबैलाई थाहा भएकै कुरा हो दाँतको बाहिरी भागलाई इनामेल भनिन्छ। इनामेलभन्दा भित्रको भाग डेन्टिन हो। सबैभन्दा भित्रको भागलाई पल्प भनिन्छ। विभिन्न कारणबस इनामेल खिइँदा डेन्टिन देखिन्छ र सिरिङ–सिरिङ हुन्छ।
इनामेल खिइने कारण हरु :
- गलत तरिकाले तथा धेरै बल लगाएर दाँत माझ्नाले इनामेल खिइन पुग्छ र डेन्टिन देखिन्छ। अनि दाँत सिरिङ–सिरिङ हुने समस्या आउँछ।
- एसिड भएको खानेकुराको सेवन, पेटको समस्याले जसले गर्दा अमिलो पानी आउँछ र इनामेल खियाउँछ।
- कसै–कसैको सुत्दाखेरि दाँत किट्ने बानी हुन्छ । यस्तो बानी नियमित गर्नाले इनामेल खिइन्छ।
- मुख सफा नराख्नाले गिजाको रोग जस्तै गिजा तल सर्ने भएर दाँतको जरा देखिन पुग्छ र सिरिङ–सिरिङको समस्या आउँछ।
- यदि नमिलेको दाँत छ भने पनि टोकाइ नमिलेर दाँत खिइन सक्छ
- दाँत कीराले खायो भने पनि सिरिङ–सिरिङ गर्ने समस्या आउँछ।
- पहिले भरेको दाँतको सिमेन्ट निस्कियो भनेपनि सिरिङ–सिरिङ हुन्छ।
- एकपटक भरेको दाँतमा फेरि कीराले खान सुरु ग¥यो भने पनि यो समस्या आउन सक्छ।
- कहिलेकाहीँ सिमेन्ट भरेपछि, ब्लिचिङ गरेपछि पनि दाँत सिरिङ–सिरिङ हुनसक्छ। तर त्यो केही समयपछि आफैँ सन्चो हुन्छ।
- कहिलेकाहीँ एसिडयुक्त मुख कुल्ला गर्ने औषधिको प्रयोगले पनि दाँत सिरिङ–सिरिङ हुने समस्या आउनसक्छ।
बच्ने उपायहरु :
अहिले बजारमा विभिन्न मञ्जन उपलब्ध छन् । मञ्जनमा पोटासियम नाइट्रेटजस्ता तत्वहरू हुन्छन् जसले सिरिङ-सिरिङका साथै पीडा र अप्ठ्यारो पनि कम गर्छन् । फ्लोराइडयुक्त माउथवासले पनि दाँत सिरिङ हुने समस्या कम गर्छ ।
बजारमा उपलब्ध टुथपेस्ट तथा माउथवासले पनि समस्या समाधान भएन भने डेन्टिस्टकहाँ गएर उपचार गराउनुपर्छ । दाँतको सेन्सिटिभिटी यस्तो समस्या हो जसले दैनिक क्रियाकलापमै असर पुर्याउँछ । यद्यपि सिरिङ-सिरिङ लाग्ने समस्या तथा अप्ठ्यारोपनलाई सजिलै रोकथाम गर्न सकिन्छ र आफ्नो जीवनलाई सहज ढंगले अघि बढाउन सकिन्छ । इनामेल खिइएर यस्तो समस्या देखापरेको हो भने ब्रस गर्ने शैली परिवर्तन गर्नुपर्छ र सकेसम्म सफ्ट ब्रस प्रयोग गर्नुपर्छ ।
- सही तरिकाले ब्रस गर्नुपर्छ। ब्रस कडा छ भने नरम ब्रसको प्रयोग गर्नुपर्छ।
- एसिडभएको खानेकुरा सकेसम्म नखाने अथवा कम खाने, यदि सेवन गरेमा प्रशस्त मात्रामा पानी पिउने बानी बसाउने।
- ग्यास्ट्रिकसम्बन्धी समस्याको उपचार गराउने।
- सुत्दाखेरि दाँत किट्ने बानी छ भने दन्त चिकित्सकको तुरुन्तै परामर्श लिइहाल्ने र माउथगार्ड लगाउने।
- दिनको दुइपटक फ्लोराइडयुक्त मन्जनले दाँत माझ्ने बानी बसाउने, फ्लोराइड भएको माउथवास, फ्लस प्रयोग गर्ने र दाँत, गिजा स्वस्थ राख्ने।
- यदि खैनी, चुरोट सेवन गर्ने बानी छ भने तुरुन्तै त्याग्ने।
उपचार
यदि दाँत सिरिङ–सिरिङ हुने समस्या छ भने तुरुन्तै दन्त चिकित्सककहाँ गएर कारण पत्ता लगाउनुपर्छ। कारणअनुसार उपचार फरक पर्छ।
- संवेदनशीलतामा प्रयोग गर्ने मन्जनहरु थुप्रै नाममा बजारमा उपलब्ध छन् जुन दुई हप्ताजति प्रयोग गरे सिरिङ–सिरिङको समस्या बिस्तारै कम भएर जान्छ।
- यदि गिजा धेरै तल सरेर दाँतको जरा देखिएर यस्तो समस्या आएको हो भने सर्जरी पनि गर्नुपर्ने हुन सक्छ। यसो गर्दा देखिएको दाँतको जरा छोपिन्छ र समस्या कम भएर जान्छ।
- दाँत किट्ने बानीले यो समस्या आएको हो भने माउथगार्ड लगाउनु पर्छ।
- दाँत किराले खाएर यो समस्या आएको हो भने तुरुन्त दन्त चिकित्सककहाँ गएर दाँत भरिहाल्नुपर्छ।
- यदि पहिले भरेको दाँतको सिमेन्ट निस्किएको छ भने फेरि भर्नुपर्छ।
- सकेसम्म पेटको समस्याको उपचार छिट्टो गराइहाल्नुपर्छ।
- नमिलेको दाँतको अर्थोडोन्टिक उपचार गराउनुपर्छ, जसमा तारको सहायताले नमिलेको दाँत मिलाइन्छ र दाँत अझै खिइनबाट बचाउन सकिन्छ।
- यदि माथि उल्लेखित उपचार गर्दा पनि निको नभएमा रुट क्यानल उपचार गराउनु पर्ने हुन सक्छ
डाक्टर सँगको अन्तर्वार्तामा आधारित