विश्व स्वास्थ्य संगठन र दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूले हाल जारी कोभिड–१९ महामारीको प्रभावकारी रूपमा प्रतिकार्य गर्न र भविष्यमा आउनसक्ने स्वास्थ्य आपतकालका लागि तयारी गर्नका लागि स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीलाई थप सबलीकरण गर्ने बारेमा छलफल गरेका छन्।
कोभिड–१९ महामारीको प्रभावकारी रूपमा प्रतिकार्य गर्न स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा विश्व स्वास्थ्य संगठन र दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरुले जोड दिएका छन् ।
विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले क्षेत्रीय समितिको चौहत्तरौं बैठकमा कोभिड–१९ महामारीले अभूतपूर्व चुनौतीहरु सिर्जना गरेको बताइन् ।
'कोभिड–१९ महामारीले अभूतपूर्व चुनौतीहरू ल्याएको छ। विश्वको कुनै पनि देश यस स्तरको आपतकालको सामना गर्नका लागि पर्याप्त मात्रामा तयार थिएन। स्वास्थ्य सुरक्षा प्रणालीहरू सबलीकरण गर्ने हाम्रा प्रयत्नहरूमा हाल जारी महामारीबाट सिकेका पाठहरूको उपयोग गर्नु अत्यन्त महत्वपूर्ण छ,' विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा पूनम खेत्रपाल सिंहले क्षेत्रीय समितिको चौहत्तरौं बैठकमा भनिन्।
यस महामारीबाट सबै राष्ट्रहरुले निगरानी, क्लिनिकल व्यवस्थापन, प्रयोगशाला परीक्षण, खोप कार्यक्रम, तथा सामुदायिक संलग्नता लगायतका प्रतिकार्यलाई आकस्मिक रूपमा असामान्य स्तरमा क्षमता विस्तार गर्न अति आवश्यक भएको क्षेत्रीय निर्देशक डा. सिंहको भनाइ छ ।
डा. खेत्रपाल सिंहले स्वास्थ्य सुरक्षाका लागि राष्ट्रिय कार्ययोजनाहरू तर्जुमा र कार्यान्वयन गरेर र तिनलाई स्वास्थ्य प्रणाली सबलीकरणका प्रयासहरूसँग जोडेर राष्ट्रहरूले अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली (२००५) अन्तर्गत आवश्यक पर्ने मुख्य क्षमताहरू निर्माण गर्ने, तिनलाई सुदृढ बनाउने र कायम राख्ने कार्य गर्नु जरुरी रहेको बताइन्।
उनले स्वास्थ्य सुरक्षाका लागि राष्ट्रिय कार्ययोजनाहरु तर्जुमा र कार्यान्वयन गर्नुपर्ने बताइन् । ‘हालको महामारीको प्रतिकार्य गर्न र भविष्यमा आउनसक्ने महामारी, आपतकाल तथा प्रकोपहरुका लागि अझ राम्रो तयारी गर्नका लागि स्वास्थ्य आपतकाल तयारी तथा प्रतिकार्य क्षमतालाई थप सबलीकरण गर्न आवश्यक पर्ने प्राथमिकता तथा कार्यहरु हामीले पहिचान गरिराख्नु पर्छ,’ उनले भनिन् ।
बैठकमा सदस्य राष्ट्रहरुले आपतकालीन शासन संरचना तथा जनशक्ति, निगरानी तथा चेतावनी संयन्त्र, प्रयोगशाला, आपूर्ति व्यवस्थापन प्रणाली, स्वास्थ्य स्याहार प्रणालीको तत्परता, सामुदायिक संलग्नता र तयारी प्रक्रियाका विषयमा छलफल गरेका छन् ।