२५ भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूले स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीको सबलीकरण प्रमुख प्राथमिकता हुनुपर्नेमा जोड दिएका छन् ।
कोरोना महामारीको प्रभावकारी रूपमा प्रतिकार्य गर्न र भविष्यमा आउन सक्ने स्वास्थ्य आपतकालको तयारीका लागि स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीलाई थप सबलीकरण गर्नु पर्नेमा उनीहरुको जोड छ ।
‘कोभिड–१९ महामारीले अभूतपूर्व चुनौतीहरू ल्याएको छ । विश्वको कुनै पनि देश यस स्तरको आपतकालको सामना गर्नका लागि पर्याप्त मात्रामा तयार थिएन । स्वास्थ्य सुरक्षा प्रणालीहरू सबलीकरण गर्ने हाम्रा प्रयत्नहरूमा हाल जारी महामारीबाट सिकेका पाठहरूको उपयोग गर्नु अत्यन्त महत्वपूर्ण छ, ‘सङ्गठन दक्षिणपूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले क्षेत्रीय समितिको चौहत्तरौं बैठकमा भनिन् ।
आपतकालीन जोखिम व्यवस्थापनको सबलीकरण सन् २०१४ देखि विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसिया क्षेत्रको लागि सबैभन्दा उच्च प्राथमिकताको कार्यक्रमको रूपमा रहँदै आएको छ । यस क्षेत्रका ६ वटा देशहरूलाई प्रभावित बनाएको महाप्रकोप, सन् २००४ मा हिन्द महासागरमा आएको सुनामी पश्चात यस क्षेत्रले प्रतिकार्यको क्षमता निरन्तर रूपमा वृद्धि गर्दै आएको छ ।
विगतका वर्षहरूमा सदस्य राष्ट्रहरूले स्वास्थ्य आपतकाल तयारी तथा प्रतिकार्यका लागि अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली ९२००५० को कार्यान्वयनमा पनि उल्लेखनीय प्रगति गरेका थिए । ‘राष्ट्रहरूले संक्रमणको फैलावट रोक्न र जीवन बचाउनका लागि विद्यमान प्रमुख क्षमताहरूको पूर्ण उपयोग गरेका छन् र साथै महामारीले निम्त्याएका अभूतपूर्व चुनौतीहरूको सामना गर्ने प्रयास पनि गरेका छन् ।
डा. खेत्रपाल सिंहले स्वास्थ्य सुरक्षाका लागि राष्ट्रिय कार्ययोजनाहरू तर्जुमा र कार्यान्वयन गरेर र तिनलाई स्वास्थ्य प्रणाली सबलीकरणका प्रयासहरूसँग जोडेर राष्ट्रहरूले अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली ९२००५० अन्तर्गत आवश्यक पर्ने मुख्य क्षमताहरू निर्माण गर्ने, तिनलाई सुदृढ बनाउने र कायम राख्ने कार्य गर्नु जरुरी रहेको उल्लेख गरिन ।
कोभिड–१९ महामारी शुरु हुनुभन्दा केही महिना पहिले मात्र, यस क्षेत्रका सदस्य राष्ट्रहरूले ‘दिल्ली घोषणापत्र’ अनुमोदन गरेका थिए । यसको उद्देश्य जोखिमको लेखाजोखालाई विस्तार गरेर, लगानी अभिवृद्धि गरेर र बहुक्षेत्रीय योजनाहरूको कार्यान्वयनलाई थप प्रभावकारी बनाएर आपतकालीन तयारी क्षमतालाई थप सुदृढ बनाउने थियो ।