गर्भावस्था संवेदनशील अवस्था हो । गर्भावस्थामा महिलामा थुप्रै परिवर्तन देखापर्छन् । खासगरी शरीरका अंगमा लचिलोपन आउने भएकाले पनि शारीरिक परिवर्तन देखापरेका हुन् । सामान्यतया समय बित्दै जाँदा गर्भको आकार पनि बढ्दै जाने गर्छ । जसका कारण पेटबाहेक अन्य अंग, मांसपेशी, आन्द्रा आदिमा भार पर्ने हुदाँ पेट दुख्ने गर्छ । गर्भावस्थामा पेट दुख्नु सामान्य हो । तर, अत्यधिक दुख्नु, बारम्बार दुख्नु र पेट दुखाइसँगै अन्य स्वास्थ्य समस्या देखापरेमा भने चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । अब जानौँ, गर्भावस्थामा पेट दुख्नुका कारणबारे
गर्भावस्थामा पेट दुखाई
सामान्यतया गर्भावस्थामा पेट दुख्नु वा पेट जकडिनु सामान्य हो । पेटमा जम्मा भएको वायुका कारण पेट दुख्नसक्छ ।
तर पेट दुख्नुमा बायुसहित अन्य कारण पनि हुनसक्छन् । पेटमा रहेको शिशुका कारण गर्भको आकार बढ्ने गर्छ । जसका कारण पेटबाहेक अन्य अंग, मांसपेशी, आन्द्रामा पनि भार पर्छ र त्यसबाट पेट दुख्ने गर्छ ।
पेटको दुखाई अधिक छ र लामो समयसम्म दुखाई कम भएन भने तुरुन्तै चिकित्सकका जानुपर्छ । अझ, पेट दुखाईका साथै ज्वरो आयो, योनीबाट रगत बग्यो, चक्कर लाग्यो र कमजोरी भयो भने विना कुनै विलम्व अस्पताल जानुपर्छ ।
इम्प्लान्टेसन
सामान्यतया गर्भको प्रारम्भीक अवस्थामा भ्रुण पाठेघरको पर्खालमा गएर बस्ने गर्छ, जसका कारण पनि कसै कसैलाई पेट दुख्ने गर्छ । यसलाई चिकित्सकीय भाषामा ‘इम्प्लान्टेसन’ भन्ने गरिन्छ । कहिलेकाही ‘इम्प्लान्टेसन’सँगै योनीबाट रगत समेत बग्ने गर्छ ।
कब्जियतको समस्या
गर्भावस्थाका क्रममा कहिलेकाही पाठेघरको दवाव आन्द्रामा पर्छ र त्यसले कब्जियतको समस्या ल्याउनसक्छ । गर्भावस्थामा कब्जियतबाट बच्न प्रशस्त मात्रामा पानी पिउनुपर्छ । अनि पर्याप्त मात्रामा हरिया रेशेदार सागसब्जी खानुपर्छ ।
लेवर पेन
गर्भावस्थाको अन्तिम चरणमा जब प्रसुतीको समय आउँछ, त्यतिबेला पेटमा छुट्टै किसिमको पिडा महसुस हुन्छ । यस्तो दुखाई हरेक पाच मिनेटमा महसुस हुन्छ र पिडादायक हुुन्छ ।
यसको साथै, योनीबाट पानी तथा रगत बग्न थाल्छ । कहिलेकाही यस्तो पिडा प्रसुती अवस्था सुरुहुनु केही दिन पहिलेबाटै हुन थाल्छ, जसलाई ‘पि्रम्याचुअर लेवर पेन’ पनि भनिन्छ ।