हामीकहाँ रुघाखोकी लाग्दा समेत एन्टिबायोटिक चपाइदिने चलन छ । जबकी रुघाखोकी सामान्य घरेलु औषधीले पनि ठिक हुन्छ । तर, हामी छिटो र सजिलोका लागि एन्टिबायोटिक चपाउँछौ । जबकी यसको असर निकै भयानक छ ।
सामान्य शारीरिक समस्या आउनसाथ चिकित्सकले एन्टिबायोटिक थमाइदिन्छन् । हामी पनि कुनै दुख बिराम हुनसाथ एन्टिबायोटिक चलाउँछौ ।
किनभने यसको भयावह असरबारे हामी अनभिज्ञ छौ । क्षणिक रुपमा हामीलाई यसले आराम मिले पनि त्यसले दीर्घकालिन रुपमा निकै असर पर्छ ।
एन्टीबायोटिक्स भनेको यस्तो रसायनिक तत्व हो, जसले शरीरमा रहेका ब्याक्टरियाहरुलाई मात्र मार्न सक्ने क्षमता राख्छ । ब्याक्टेरियामा भएको कोषिकाहरुमा भएको निश्चित तत्वहरुलाई लक्षित गरेर मार्न सक्ने क्षमता भएको औषधीलाई नै एन्टीबायोटिक्स भन्ने गरिन्छ ।
सरल अर्थमा भन्नुपर्दा शरीरमा पैदा हुने विभिन्न ब्याक्टेरियामध्ये कुनै निश्चित ब्याक्टेरिया नष्ट गर्ने क्षमता भएको औषधी एन्टिबायोटिक्स हो ।
विश्वमा एन्टीबायोटिक्सको जथाभावी प्रयोग बढ्दै गएको छ । एन्टीबायोटिक्सको जथाभावी प्रयोगकै कारण सन् २०५० सम्ममा एक करोड मानिसको मृत्युको कारण एन्टीबायोटिक्स रेजिस्टेन्स हुन सक्नेछ । यो आंकडा विश्व स्वास्थ्य सगठनले निकालेको हो ।
विश्व स्वास्थ्य संगठनकै अनुसार एन्टीबायोटिक्सका जथाभावी प्रयोगकै कारण हाल विश्वमा एन्टी माइक्रोबायल रेजिस्टेन्ट पैदा भैरहेको छ, जसको कारण एन्टीबायोटिकको असर हुन छाडेको छ । कतिपय मुलुकमा एन्टिबायोटिक प्रयोगका लागि छुटै नीति बन्ने क्रममा छ । तर, नेपालमा एन्टीबायोटिक्स सम्बन्धी कुनै नीतिनियम नहुँदा सामान्य रुघाखोकीमा पनि मानिसहरु एन्टीबायोटिक्सको प्रयोग गर्छन् ।
एक तथ्यांक अनुसार नेपालमै पनि झण्डै ६० प्रतिशत एन्टीबायोटिक्सको सेवन चिकित्सकको परामर्श विना नै गरिन्छ ।
चिकित्सकका अनुसार कुनै पनि एन्टीबायोटिक्स प्रयोग गर्नुृ पूर्व रगतको कल्चर आवश्यक छ । यसले विरामीलाई कुन प्रकारको एन्टीबायोटिक्स जरुरी छ भन्ने जानकारी गराउँछ ।
सामान्यतया यस्ता एन्टीबायोटिक्सको प्रयोग चिकित्सकको सल्लाह अनुसार मात्र गर्नु पर्छ । त्यस्तै, बैक्टेरियाको संक्रमण भएमा मात्र एन्टीबायोसिटक्सको प्रयोग गर्नु पर्छ ।
कुन बेला प्रयोग गर्ने ?
एन्टिबायोटिक्सको जथाभावी प्रयोग गर्दा ब्याक्टेरियाले त्यस बिरुद्ध लड्ने क्षमता विकास गर्छ । जसले गर्दा हाम्रो शरीरमा औषधीको प्रभाव रहँदैन । ब्याक्टेरियाले आफ्नो कोषिका बदलेपछि हामीलाई एन्टिबायोटिक्सले काम गर्दैन र समस्या थप चर्को बन्छ ।
एन्टिबायोटिक्स चलाएपछि पुरा डोज लिनुपर्छ । अन्याथा ब्याक्टेरियाले अर्को रुप लिएर आक्रमण गर्छ ।
एन्टिबायोटिक नै रोगको पूर्ण उपचार होइन । एन्टिबायोटिक खाएपछि त्यसले शरीरमा संक्रमित ब्याक्टेरियालाई नष्ट गर्छ । यस हिसाबले कुन किसिमको ब्याक्टेरिया हो, त्यही आधारमा एन्टिबायोटिक प्रयोग गर्नुपर्छ । यसको मात्रा, अवधी, समय सबैकुरा ख्याल गर्नुपर्छ ।
एन्टिबायोटिक्स लिइसकेपछि त्यसको निश्चित डोज पुरा गर्नैपर्ने हुन्छ । तर, हामी जथाभावी औषकि किन्छौं । मनोमानी ढंगले प्रयोग गर्छौ । आफ्नो समस्या ठिक भइसकेपछि औषधीको डोज पुरा नगरी छाडिदिन्छौं ।
जब एन्टीबयोटिक्सको विकास गरिन्छ, त्यतिबेला नै उक्त औषधिले शरीरमा कति बेला सम्म काम गर्न सक्दछ भनेर आंकलन गरिएको हुन्छ । शरीरमा कति मात्रामा उक्त औषधी रहन्छ भनेर हेरिएको हुन्छ ।
त्यसैले गर्दा चिकित्सकहरुले जुन एन्टीबायोटिक्स जसरी खान सल्लाह दिन्छन्, त्यही अनुसार किन खानु पर्छ ।
त्यसैले त कुनै एन्टीबायोटिक्स दिनमा एक पटक खाए पुग्छ भने कुनै दिनमा दुई पटक वा तीन पटकसम्म पनि खानु पर्ने हुन्छ ।