काठमाडौँ, भदौ २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको खोप व्यवस्था गरी १८ वर्षमुनिका बालबालिकालाई महामारीको जोखिमबाट सुरक्षित बनाई बालअधिकारको संरक्षणमा सम्बद्ध सबै पक्षको ध्यान आकृष्ट गर्नुभएको छ ।
राष्ट्रिय बाल दिवस–२०७८ को अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले ‘सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने सङ्कल्प पूूरा गर्न राज्यका तीनै तह, अभिभावक, विद्यालय र समग्र समाज जिम्मेवार रहेको बताउनुभएको हो ।
नेपालले संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन गरी बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बाल सहभागिताजस्ता विषयमा प्रतिबद्धता प्रकट गरेको दिन पारेर हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।
सन्देशमा भनिएको छ– बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताजस्ता विषय समेटिँदै बालबालिकाको सर्वाङ्गीण विकासको प्रत्याभूति गर्नु राज्यको दायित्व हो । बालबालिकासम्बन्धी ऐन, २०७५ लागू भई बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणजस्ता विषयमा उल्लेख्य कार्यहरू भइरहेको स्मरण गराउँदै उहाँले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ ।
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको अधिकार संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घरपरिवार बालमैत्री हुनु जरुरी रहेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले ५७औँ राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै भन्नुभएको छ, “समुदाय, सरकार तथा विद्यालय र स्वास्थ्य सेवाहरू पनि बालमैत्री हुन जरुरी छ । तसर्थ बालअधिकार संरक्षण तथा सम्वद्र्धन गर्नु हामी सबैको साझा जिम्मेवारी हो ।”
नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा आत्मसात् गरेको र संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण तथा उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक सुनिश्चित गरेको उहाँले चर्चा गर्नुभएको छ । कोभिड–१९ को नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयहरूमा थप प्रयास गर्न आवश्यक रहेकोमा उहाँले जोड दिनुभएको छ ।