काठमाडौं । सामान्य भाषामा रुघाखोकी भनिए पनि मेडिकल भाषामा भाइरल ज्वरो वा भाइरल फ्लु भनिने संक्रमणका कारण चिसो बढेसँगै बिरामीको संख्या बढेको देखिन्छ।
यो मुख्यगरी राइनो (२५–८० प्रतिशत) भाइरसले गराउँछ। कोरोना भइरस (१०–२० प्रतिशत), इन्फ्लेजा भाइरस (१०–१५ प्रतिशत) र एडिनो भाइरस (५ प्रतिशत) पनि भाइरल फ्लुको कारण हो। भाइरसले धेरैजसो माथिल्लो श्वासप्रश्वास नली (नाकदेखि घाँटीसम्म) संक्रमण गराउँछ। शरीरमा भाइरस छिरेको १–२ दिनमा लक्षण देखा पर्न थाल्छन् र २–४ दिनमा तिनले उग्र रूप लिन्छन् भने सामान्यतः ७–११ दिनसम्म आफैं हराएर जान्छन् वा भनौं हाम्रो शरीरको रोग प्रतिरोधात्मक शक्तिले तिनलाई नष्ट गरिदिन्छन्।
भाइरल ज्वरो मानिसको रगतमा भाइरसको संक्रमण भएपछि आउँछ । यसलाई सिजनल फ्लु पनि भनिन्छ । अझ भनौँ, जब मानिसको शरीरमा रोगप्रतिरोधात्मक क्षमता कम हुँदै गएपछि मानिसलाई भाइरल ज्वरो आउँछ । प्रायः मौसम परिवर्तन हुने समयमा मानिसलाई भाइरल ज्वरो आउँछ ।
भाइरल ज्वरो आएको समयमा मुख बार्ने, धूवाँ, धूलोबाट बच्नको लागि मास्कको प्रयोग गर्ने, भीडभाडमा नजाने । भाइरल ज्वरोकै कारणले अन्य रोग समेत लाग्ने सम्भावना भएकाले भाइरल ज्वरो आएको समयमा विशेष ध्यान पुर्याउनुपर्छ ।
लक्षण
कमन कोल्ड (रुघा, खोकी), १०२÷३ डिग्री ज्वरो आउनु, कुनै एक समय ज्वरो आउनु (बिहान, दिउँसो, राति) ज्वरो आउनु, खोकी लाग्नु, खान मन नलाग्नु, अल्छी लाग्नु, जिउ दुःख्नु, टाउको दुःख्नु, घाँटी दुःख्नु ।
बच्ने उपाय
भाइरल ज्वरोबाट बच्ने उपाय भनेकै सबैभन्दा पहिला भाइरल लाग्नै नदिनु हो । धूवाँ धूलोबाट बच्ने, मुखमा मास्कको प्रयोग गर्ने, भिटामिन सी तथा फलफूल खाने, उमालेको पानी प्रशस्त पिउने, जंगफुड नखाने, सरसफाइमा विशेष ध्यान दिने, खोक्दा, हाच्छ्युँ गर्दा वा हाइ गर्दा सधैँ रुमालले मुख छोप्ने गर्नुपर्छ ।
भाइरल ज्वरो आएमा, सिटामोल, एन्टिकोल्ड, निको लगायतका औषधि प्रयोग गर्न सकिन्छ । तर ज्वरोकै कारणले लाग्नसक्ने अरु रोगबाट बच्नको लागि खानपानमा विशेष ध्यान दिनुपर्छ ।
घरेलु उपचार
भाइरल ज्वरोका लक्षण देखा परेमा घरमै सामान्य उपचार गर्दा हुन्छ। जस्तैः तातोपानीमा मह, अदुवा, कागती या तुलसी पत्ता राखेर दिनमा ४–५ गिलास पिउने गर्दा यसमा राहत मिल्छ। यस्तो बेला प्रशस्त दाल, सुप र गेडागुडीको रस पिउनु लाभदायक हुन्छ। त्यस्तै दिनमा दुईपटक सादा उमालेको पानीको वाफ १० देखि १५ मिनेटसम्म लिने गर्दा वाफकै कारण भाइरस बढ्ने दर घट्छ र व्यक्तिलाई राहत मिल्छ। एक गिलास मनतातो पानीमा आधा चम्चा नुन राखेर दिनमा ३–४ पटक घाँटी कुल्ला गर्दा पनि त्यो लाभदायक हुन्छ।
यसका साथै भाइरल ज्वरो आउँदा २–३ दिन घरमै आराम गर्ने, फ्रिजमा राखेको चिसो कुरा नखाने, सिटामोल (पारासिटामोल) दिनमा ३–४ पटक (६ घन्टाको फरकमा) खाने गर्दा ज्वरो कम हुन्छ र दुखाइ कम गर्छ। घरेलु उपचार गरेको ५–६ दिनसम्म पनि स्वास्थ्यमा सुधार नआउँदा स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह लिनु उचित हुन्छ।
६ दिनसम्म पनि अवस्था नसुधे्र भाइरस सक्रमणका कारण शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति कमजोर हुँदै जान्छ र त्यतिबेला ब्याक्टेरियाले आक्रमण गर्न सक्छ, जसलाई सुपर इनफेक्सन भनिन्छ र जटिलता आउन सक्छन्। जस्तैः पिनास (साइनुसाइटिस), टन्सिलको संक्रमण (टन्सिलाइटिस), कान पाक्ने समस्या (ओटाइटिस मिडिया), फोक्सोको संक्रमण (न्युमोनिया), फारान्जाइटिस र क्रोनिक ब्रोन्काइटिस।
कस्तो अवस्थामा उपचार
६ दिनसम्म भाइरल ज्वरो आएमा आवश्यक जाँच र परीक्षण गरेर आवश्यकताअनुसार एन्टिबायोटिक र अरू औषधि सेवन गर्नुपर्छ। वस्यक मानिसमा भन्दा बच्चा र वृद्धवृद्धा (०–५ वर्षसम्म र ५० वर्षमाथिका) मा रोग प्रतिरोधात्मक शक्ति कम हुने भएकाले उनीहरूमा भाइरसले छिटो आक्रमण गर्न सक्छ र जटिलता हुने सम्भावना धेरै हुन्छ। पाँच वर्षमुनिका बच्चालाई सामान्य रुघाखोकी मात्र लागे पनि समस्या जटिल बन्न सक्छ। त्यसैले आमाबाले विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ। यस्तोमा विशेषतः बच्चाको टाउको र हातखुट्टा न्यानो राख्ने, आमाको दूध पटक–पटक चुसाउने (२–३ घन्टाको फरकम) ६ महिनामाथिका बच्चालाई प्रशस्त तातो झोल कुरा खुवाउने गर्नुपर्छ। तर ०–५ वर्षसम्मका बच्चाले छिटो–छिटो सास फेरेमा, नाक फुलाएर सास फेरेमा, कोखा हानेमा, राम्ररी खान छोडेमा, बच्चा सुस्त हुँदै गएमा, झिँजिने, रुने र नखेल्ने गरेमा स्वास्थ्य संस्था वा चिकित्सककहाँ लगिहाल्नुपर्छ।
भाइरल फ्लु सरुवा रोग हो। अरूबाट आफूलाई यो सर्न नदिन वा अरूलाई सर्न नदिन हात राम्रोसँग साबुनपानीले धुनुपर्छ। नाक र आँखा हातले चलाउनु हुन्न। सिंगान र खकार जथाभागी फाल्नुहुन्न। यस्तोमा सफा र रुमाल या पेपर प्रयोग गर्नुपर्छ। सुर्तीजन्य पदार्थ तथा जाँडरक्सी खानु हुन्न।
डाक्टर सँगको कुराकानीमा आधारित