चितवन, २९ भदौ: बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको कोभिड वार्डमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले कोभिड भत्ता पाउन सकेका छैनन् । गत बैशाखबाट अस्पतालमा कोभिड वार्ड सञ्चालनमा आएपनि हालसम्म त्यहाँ कार्यरत कसैले पनि भत्ता नपाएको गुनासो गरेका हुन् ।
कोभिड वार्ड हेर्दै आउनुभएका डा गुरुशरण साहले हालसम्म कोभिड वार्डमा काम गर्ने कसैले पनि भत्ता नपाएको बताए । उनका अनुसार अस्पतालको मेडिकल विभागका चिकित्सक र २० भन्दा बढी मेडिकल अफिसरहरुले कोभिड वार्डमा आलोपालो काम गर्दै आइरहेका छन् ।
यसैगरी नर्सिङ स्टाफले पनि आलोपालो कोभिड वार्डमा काम गर्दै आएका छन् । जोखिम मोलेर काम गरेको भए पनि हालसम्म कोभिड भत्ता नपाएको गुनासो उनीहरुको छ । स्थानीय तहका कर्मचारीलेसमेत कोभिड भत्ता पाउने गरेको तर आफूहरुले जोखिम मोलेर काम गर्दासमेत भत्ता नपाएको गुनासो अस्पतालमा कार्यरत एक नर्सले बताए । दूधे बच्चा घरमा छाडेर कोभिड वार्डमा काम गरे पनि राज्यले प्रोत्साहनस्वरुप दिएको भत्ता अस्पतालले रोकेको उनको आरोप छ ।
अस्पतालले गत बैशाखदेखि कोभिड वार्ड सञ्चालनमा ल्याएको हो । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले सरकारले पर्याप्त बजेट नपठाउँदा भत्ता वितरणमा समस्या भएको बताए । उनले अस्पतालको सञ्चालक समितिको बैठक बसेर आवश्यक निर्णय गरेपछि छिट्टै भत्ता वितरण गरिने बताए । उनले बजेट पर्याप्त नभएका कारण एउटा मापदण्ड बनाएर वितरण गर्ने योजना रहेको जानकारी दिए ।
कोभिडमा काम गरेका को हुन्, उनीहरुको तलब कति हो ? त्यसको अध्ययन भइरहेको कार्यकारी निर्देशक गौतमको भनाइ छ । नेपाल सरकारले तलबको पचास प्रतिशत भत्ता दिने निर्णय गरेको भन्दै उनले यस अस्पतालमा तलब धेरै भएका कारण सोही अनुपातमा भत्ता वितरण गर्न नसकिएको बताए ।
उनले भने, “नेपाल सरकारको तलब र हाम्रोमा पाउने तलब फरक छ । तलबको पचास प्रतिशत भत्ता दिँदा सरकारले दिएको बजेटले पुग्दैन ।” कति प्रतिशतका आधारमा दिने भन्ने निर्णय गरेपछि भत्ता वितरण गर्ने उनले बताए ।-रासस/