काठमाडौँ । बढ्दै गएको धुलो, धुँवाका कारण निमोनियाको जोखिम बढ्दै गएको छ । फोक्सोमा हुने संक्रमण निमोनिया हो । चिकित्सकहरुको भनाइमा ब्याक्टेरिया, भाइरस, फङ्गस, प्रोटोजोवालगायतले फोक्सोमा संक्रमण भई निमोनिया हुने गर्दछ ।
वरिष्ठ छाती रोग विशेषज्ञका अनुसार एक दिनमा ११ हजार लिटर हावा फोक्सोले प्रशोधन गर्ने गर्दछ । हावाको माध्यमबाट फोक्सोमा प्रवेश गर्ने धुलो, धुँवा र किटाणुले फोक्सो संक्रमित भई निमोनिया हुने गर्दछ । समुदायमा हुने र अस्पतालमा भर्ना भएपछि हुने निमोनिया दुई प्रकारका हुने गर्दछन् । अस्पतालजन्य निमोनिया निकै जोखिमपूर्ण हुने चिकित्सकको भनाइ छ ।
रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई निमोनियाको जोखिम उच्च हुन्छ । मिर्गौला प्रत्यारोपण, मिर्गौलाको समस्या भएका, मधुमेह, एचआइभी संक्रमितजस्ता व्यक्तिमा फङ्गसका कारण पनि निमोनियाको जोखिम उच्च हुन्छ । ज्वारो आउने, छाती दुख्ने, खोकी लाग्नेजस्ता लक्षण नभए पनि वृद्धहरुमा खाना नरुच्ने र चक्कर लाग्ने जस्ता निमोनियाको लक्षण देखा पर्न सक्छन ।
ब्याक्टेरियाले भएको निमोनियाको ‘एन्टिबायोटिक’ औषधि रहे पनि उचित प्रयोग गर्न नसकेमा जोखिम हुने चिकित्सकहरुको भनाइ छ। भाइरस निमोनियाको भने केहीको मात्रै एन्टिभाइरल औषधि रहेको छ । तर पनि ६५ वर्ष नाघेका वृद्ध, मधुमेह भएका, मुटु, मिर्गौला र कलेजेको समस्या भएकालाई यो कडा हुन्सक्छ । जाडो बढेसँगै मौसमी रुघाखोकी फैलने सम्भावना बढी हुने गर्दछ । सबैले निमोनिया गर्दैन, तर गर्भवती महिला, बच्चा, मधुमेहका बिरामी, वृद्ध, मदिरा सेवन गर्ने व्यक्तिमा निमोनिया हुने सम्भावना बढी हुन्छ ।
त्यस्तै पाँच वर्षमुनिका बच्चा निमोनियाको उच्च जोखिममा रहने चिकित्सकहरुको भनाइ छ । यो उमेरमा मृत्यु हुने पाँच बच्चामध्ये एक निमोनियाको कारण मृत्यु हुने गर्दछन् । बाल मृत्युको प्रमुख कारण निमोनिया रहेको चिकित्सकको भनाइ छ । बच्चालाई घरभित्रको धुँवाधुलोमा नराख्न, भीडभाडमा नलैजान, बच्चाको छेउमा बसेर चुरोट नपिउन, कुपोषणबाट बचाउन, आमाको दूध खुवाउन, झोलिलो पदार्थ खुवाउन र नियमित खोप लगाउन पर्छ ।
एचआइभी संक्रमित र दादुरा भएका बच्चामा उच्च जोखिम हुने भएकाले नियमित औषधि प्रयोग गरेर रोगबाट बच्नुपर्ने हुन्छ । बच्चालाई न्यानोमा राख्न, हात धोएर मात्रै खाना खुवाउन, तातोपानी, तुलसी पानी खुवाउन र छ महीनापछिको बच्चालाई अतिरिक्त खाना नियमित खुवाउनुपर्ने हुन्छ ।
निमोनिया भएमा शुरुमा खोकी लाग्ने, नाकबाट सिङ्गान बग्ने र हल्का ज्वरो आएर साधारण रुघाखोकी लाग्ने र पछि छिटोछिटो श्वास फेर्ने गाह्रो हुने (कोखा हान्ने) गर्दछ । कडा किसिमको निमोनियामा उच्च ज्वरो आउने भन्दै यस्ता लक्षण भएमा तत्काल स्वास्थ्य संस्थामा लैजानु पर्छ ।
कडा खालको निमोनिया भएका बालबालिकाले खान र पिउन नसक्ने, सुस्त वा बेहोस हुने, आमाको दूध चुस्न नसक्ने हुन्छ र कसैकसैमा श्वास फेर्दा अस्वाभाविक आवाजसमेत आउने गर्दछ । यस्तो बेला तत्काल स्वास्थ्य संस्थामा लैजानु पर्छ र स्वास्थ्यकर्मीहरुले उपचारमा विशेष ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन् ।