बाँझोपन रोग हो र यो पुरुष वा महिला जसलाई पनि हुन सक्छ भन्ने चेतना बिस्तार हुँदै गएको छ । एक वर्षसम्म नियमित शारीरिक सम्बन्धमा रहेर पनि गर्भ रहन नसक्नुलाई बाँझोपन भन्ने गरिन्छ । बाँझोपन हुनुका विभिन्न कारण हुन सक्छन् । यहाँ भने पुरुषमा हुने एक प्रकारको बाँझोपन बारे जानकारी दिदै छौँ ।
पुरुषहरुको अण्डकोषमा शुक्रकीट नबन्नु वा वीर्यमा शुक्रकीट नआउनुलाई ‘एजोस्पर्मिया’ भनिन्छ ।एजोस्पर्मिया भएको हो वा होइन भन्ने थाहा पाउन वीर्य परीक्षण गर्नुपर्ने हुन्छ । वीर्य परीक्षणबाट शुक्रकीट भए नभएको वा शुक्रकीट बन्ने प्रक्रियामा हुने गडबडीबारे पत्ता लगाउन सकिन्छ । सामान्यतया शुक्रकीट नबन्नु वा शुक्रकीट ननिस्कनु भनेको नै बाँझोपन हुनु हो । कसैकसैको अण्डकोषले शुक्रकीट उत्पादन नगरेको हुन सक्छ भने कसैको शुक्रकीट बने पनि निस्कने क्रममा अवरोध भएको हुन सक्छ । एजोस्पर्मिया दुई किसिमको हुन्छ । एउटा अवरोधजन्य र अर्को अवरोध नहुँदाको अवस्था ।
वीर्यनलीमा हुने अवरोध
वीर्यनलीमा विभिन्न कारणले अवरोध आएको हुन सक्छ । वीर्यनलीमा संक्रमणका कारण अवरोध आएको हुन सक्छ भने केहीमा जन्मजात वीर्यनलीमा अवरोध हुन्छ । केही व्यक्तिमा भने शल्यक्रियाका कारण पनि यस्तो समस्या देखिन्छ । विभिन्न समस्याका कारण लिंगको शल्यक्रिया गरिएको छ भने पछि गएर त्यसले वीर्य निस्किने नलीमा नै अवरोध ल्याउन सक्छ ।
बाँझोपनको अर्को कारण भनेको ‘भ्यासेक्टोमी’ पनि हो । भ्यासेक्टोमी गर्नु भनेको वीर्यनलीमा अवरोध ल्याउनु हो । भ्यासेक्टोमी गरेका तर पछि बच्चाको चाहाना भएर भ्यासेक्टोमी खोल्दा वीर्यनली अवरोध भई शुक्रकीट बाहिर ननिस्कन सक्छ । यसरी अवरोध भएको वीर्यनलीलाई शल्याक्रियाबाट खोल्न सकिन्छ । तर, शतप्रतिशत सफल हुन्छ भन्न सकिँदैन ।
वीर्यनलीमा अवरोध नहुँदाका समस्या
वीर्यनलीमा अवरोध हुँदा मात्रै होइन अवरोध नहुँदा पनि विभिन्न कारणले शुक्रकीट नबनेको हुन सक्छ । कहिलेकाहीँ अण्डकोषमा हुने संक्रमणका कारण शुक्रकीट बन्ने प्रक्रिया खलबलिएको हुनसक्छ । अण्डकोषभित्र हुने संक्रमणले शुक्रकीट बन्ने प्रक्रियामा अवरोध पुर्याउन सक्छ ।
बिरामीलाई क्यान्सर भएपछि दिइने केमोथेरापी, रेडियोथेरापीका कारण पनि अण्डकोषमा शुक्रकीट बन्ने क्रम रोकिन सक्छ । केमोथेरापी र रेडियोथेरापी गर्दा प्रवाह हुने विभिन्न रेडियसनको असरले शुक्रकीट नबन्ने हुन सक्छ । यस्तै, लामो समयसम्म गर्मीमा काम गर्नेहरुमा पनि शुक्रकीट बन्ने प्रक्रियामा गडबडी आउने गर्छ । तर, शुक्रकीट बन्न नसक्नुका ९० प्रतिशत कारण भने पत्ता लाग्दैनन् । यस्ता समस्या केही समयका लागि वा कुनै रोग विशेषले भएको छ भने औषधि उपचार गरेर ठिक गर्न सकिन्छ ।
तर, जन्मजात वा दीर्घकालीन समस्या भएकाहरुमा भने औषधि उपचारले काम नगर्न पनि सक्छ । यस्ता व्यक्तिलाई बच्चाको चाहना भएमा आइभिएफ ( इन्भिट्रो फर्टिलाइजेसन ) गर्न सकिन्छ । त्यसमा पनि शुक्रकीटले काम गरेन भने शुक्रकीट दान गर्नेहरुबाट शुक्रकीट लिनुपर्ने हुन्छ ।