कोभिड महामारीबीच पछिल्लो समय नेपालमा मौसमी फ्लुको समस्या बढेको चिकित्सकहरूले बताएका छन्।
स्वास्थ्य मन्त्रालयले भने सरकारी प्रणालीमा फ्लु असामान्य वृद्धि भएको नदेखिएको जनाएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक तथा मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले भन्छन्: "तर छिटफुट केसहरु रिपोर्ट भइरहेका छन्। साना बालबालिकाहरू घ्यारघ्यार गराउने भाइरसबाट सङ्क्रमित भएको सूचना छ।"
मौसमी फ्लु प्रति सर्वसाधारणहरूले पहिले त्यति ध्यान दिने नगरेको भए पनि कोभिडका कारण मानिसहरू गम्भीर हुन थालेको बताइएको छ।
कोरोनाभाइरस सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण भएकाले सर्वसाधारणहरू बढी त्रसित भएको चिकित्सकहरू बताउँछन्।
नेपालमा मौसमी फ्लु कुन समयमा बढ्छ?
हालको मौसममा नियमित रूपमा नेपालमा मौसमी फ्लु देखिने हुँदा आत्तिइहाल्नु पर्ने अवस्था नरहेको पौडेल बताउँछन्। तर सर्वसाधारणहरू सचेत भने रहनुपर्ने उनको भनाइ छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल अनुसन्धान एकाइका प्रमुख डा. शेरबहादुर पुनका अनुसार नेपालमा फेब्रुअरी - मार्च महिना र जुलाईदेखि सेप्टेम्बर महिनामा फ्लुबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या बढ्ने गरेको पाइन्छ।
"अझ तुलना गर्ने हो भने त यो जुलाई - अगस्टतिर बढी हुन्छ," उनले भने।
गत फेब्रुअरी - मार्च महिनातिर अस्पताल आएकाहरूले फ्लुका कारण हप्तामै दुई-तीन पटकसम्म कोभिड परीक्षण गरेको पाइएको उनले जानकारी दिए।
काठमाण्डू मात्र नभएर भरतपुर र पोखरा लगायतका सहरहरूमा पनि फ्लुबाट बिरामी परेकाहरूको सङ्ख्या बढेको पाइएको उनले बताए।
"तीन-चार हप्ता अघिसम्म त अलि धेरै नै तथ्याङ्क देखिन्छ। नेपालभरि हप्तामा १५० भन्दा बढी पुष्टि भएको देख्छु," डा. पुनले भने।
"पछिल्लो दुई हप्तादेखि भने अलि तल ओर्लिएको देखिन्छ।"
नेपालमा देखा परेका मौसमी फ्लु के हुन्?
डा. पुनका अनुसार नेपालमा सामान्यता इन्फलुएन्जा ए बढी फैलिन्छ भने इन्फ्लुएन्जा बी तुलनात्मक रूपमा कम फैलिन्छ।
टाइप ए इन्फ्लुएन्जाले महामारी जस्तै गरी फैलिन सक्ने भए पनि टाइप बीले भने सामान्यता त्यस्तो अवस्था सृजना नगराउने उनको भनाइ छ।
"तर पछिल्लो दुई हप्तामा चाहिँ फ्लु बीले अग्रता लिइरहेको देखिन्छ," उनले भने।
"बीले मेरै चिनेको कतिपय एकदमै थला परेको पाएँ। उहाँहरू बरु कोभिड लाग्दा यस्तो परेको थिइएन, यो कडा भयो भन्छन्।''
फ्लुको लक्षण कति कडा हुन्छ भन्ने विषयमा सामान्यतया चिकित्सकहरूले टाइप एलाई बढी कडा मान्ने गरेको भए पनि टाइप बी पनि उत्तिकै कडा देखिएको र पछिल्लो दुई हप्तामा त्यो झन् "आक्रामक भएर गएको" देखिएको उनले जानकारी दिए।
पछिल्लो तथ्याङ्क अस्पताल आउनेहरूले गरेको परीक्षणमा आधारित रहेको तर त्यसले समुदायमा फ्लु प्रशस्त छ भन्ने अनुमान गर्ने सकिने उनको भनाइ छ।
टाइप ए र बीमा के फरक हुन्छ?
चिकित्सकहरूका अनुसार दुवै फ्लुमा ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, जिउ दुख्ने र कसैलाई पखाला लाग्ने जस्ता लक्षण देखिन्छ।
तर बर्ड फ्लु, स्वाइन फ्लु र हङ्कङ फ्लु जस्ता सङ्क्रमणका लक्षण कडा हुने उनको भनाइ छ।यी सबै टाइप ए अन्तर्गत पर्छन्।
श्रोत : बिबिसी नेपाली सेवा