काठमाडौं - भ्यासेक्टोमी पुरुषले गर्ने स्थायी बन्ध्याकरण हो । यो सुरक्षित सामान्य शल्यक्रिया (अपरेशन) हो । यो शल्यक्रिया गर्दा पुरुषको अण्डकोष थैलीमा एउटा सानो प्वाल पारी त्यहींबाट दुवैतिरका शुक्रकीट बाहिनी नली (वीर्यनली) बाँधेर काटिन्छ ।
भ्यासेक्टोमी गरेपछि पुरुषको यौन क्षमतालाई कुनै असर गर्दैन । भ्यासेक्टोमी गरिसकेपछि ३ महिनासम्म यौन सम्पर्क गर्नुपरेमा पुरुषले कण्डम प्रयोग गर्नुपर्छ । किनभने शुक्रकीट बाहिनी नलीमा रहिरहेको शुक्रकीट निख्रन करीब ३ महिना लाग्छ ।
भ्यासेक्टोमीले कसरी गर्भ रोक्छ ?
भ्यासेक्टोमी गर्दा पुरुषको अण्डकोशमा एउटा सानो प्वाल पारी त्यहींबाट शुक्रकीट नलीहरु काटेर बाँधिन्छ । शुक्रकीट आउने दुवै नली बन्द गरेपछि शुक्रकीट आउन पाउँदैनन् । महिलाको डिम्ब र पुरुषको शुक्रकीट भेट हुँदैन र गर्भ रहन पाउँदैन ।
भ्यासेक्टोमी कस्ता पुरुषलाई उपयुक्त हुन्छ ?
सन्तानको रहर पुगिसकेको,
एच.आई.भी. संक्रमित र एड्स भएको अथवा एन्टीरेट्रोभाइरल औषधी (एच.आई.भी को औषधी) सेवन गरिरहेका पुरुषले पनि भ्यासेक्टोमी गर्न सक्छन् ।
भ्यासेक्टोमी गरिसकेपछि ध्यान दिनुपर्ने कुराहरुः
ज्वरो आएमा, घाउ पाकेको शंका लागेमा अथवा सुन्निएर दुखेमा तुरुन्तै स्वास्थ्य संस्थामा गएर जचाउँनुपर्छ ।
भ्यासेक्टोमी गरेपछि ३ महिनासम्म यौन सम्पर्क गर्दा अनिवार्य रुपमा कण्डम प्रयोग गर्नुपर्दछ । वीर्य जाँच गर्ने सुबिधा भएको ठाउँ छ भने भ्यासेक्टोमी गरेको ३ महिनापछि वीर्य जाँच गराएर वीर्यमा शुक्रकिट भए नभएको यकिन गर्नु अझ राम्रो हुन्छ ।
भ्यासेक्टोमी गरेको १ हप्तासम्म साइकल, घोडा वा रुख चढ्ने जस्ता काम गर्नु हुदैन ।
भ्यासेक्टोमी गरेपछि विशेष परिस्थितिमा शुक्रबाहिनी नली जोडाउन पनि सकिन्छ । तर, नली जोडेपछि बच्चा हुन्छ नै भन्ने यकिन गर्न सकिंदैन ।
भ्यासेक्टोमी गर्न चाहने पुरुषहरुलाई जानकारी ः
भ्यासेक्टोमी गर्न चिसो वा जाडो मौसम नै कुर्नु पर्दैन,
जुनसुकै महिनामा पनि गर्न सकिन्छ ।
बन्ध्याकरण गरेको घाउ ५/७ दिनपछि आफै निको हुन्छ ।
नजिकको स्वास्थ्य संस्थामा १ हप्तापछि जचाउँन जानुपर्छ ।
भ्यासेक्टोमी गरिसकेपछि कम्तिमा ३ महिनासम्म यौन सम्पर्क गर्दा कण्डम प्रयोग नगरेमा गर्भ रहन सक्छ ।
भ्यासेक्टोमी सम्बन्धी वास्तविकताहरु
भ्यासेक्टोमी गरेपछि पुरुषलाई ढाड दुख्ने वा कमजोर हुने हुँदैन र पहिलेको जस्तो गाह्रो कामहरु गर्नसक्छ ।
भ्यासेक्टोमी गरेपछि पुरुषको पुरुषत्व घट्ने, सम्भोगकार्यमा कमी आउने अथवा कम उत्पादनशील हुने कुनै पनि समस्याहरु हुदैनन् ।
भ्यासेक्टोमी पश्चात् सम्भोगमा स्खलन हुने वीर्यको मात्रा, बाक्लोपन अथवा स्वरुपमा केही पनि पहिलेभन्दा फरक हुँदैन तर वीर्यमा शुक्रकीटहरु हुदैनन् ।
भ्यासेक्टोमी गर्नु भनेको खसी पार्नु होइन । भ्यासेक्टोमीबाट अण्डकोषको कार्यहरुमा जस्तै, शुक्रकीट तथा हर्मोन उत्पादनमा कुनै असर गर्दैन ।