काठमाडौँ, महामारीका समयमा न्यायोचित र समतामूलक पहुँचको सुनिश्चिततासहित नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउनुपर्ने निष्कर्ष निकाल्दै नेपाल चिकित्सक सङ्घको सम्मेलन सम्पन्न भएको छ ।
सङ्घको पहिलो राष्ट्रिय स्वास्थ्य सम्मेलनले १२ बुँदे घोषणापत्र समेत जारी गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक उदघाटन गरेको सम्मेलनमा विभिन्न पाँच ५ वटा विषयमा छलफल भएको थियो। सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाजस्ता महामारी र विभिन्न विपत्ति सामना गर्न आवश्यक तयारीबारे नीतिगत स्पष्टता र कानूनी प्रबन्ध हुनुपर्ने बताए।
प्रधानमन्त्री देउवाले कुनै पनि समस्याको समाधान सामूहिक, सहकार्य र प्रतिबद्धतामा निर्भर रहनेभन्दै कुनै पनि महामारीको सामनाका लागि नीतिगत स्पष्टतामा जोड दिए। ‘विपत्तिको सामना गर्नका निमित्त अवलम्बन गर्नुपर्ने आधारहरुलाई नीतिगत रुपमा समावेश गर्न सकेको स्वास्थ्य सेवालाई परिकल्पना गरे बमोजिमको सर्व सुलभ, सहज पार्दै जनताको जीवन रक्षा गर्न सकिन्छ भन्ने मेरो विश्वास रहेको छ,’ सम्मेलनमा देउवाले भने।
सङ्घका अध्यक्ष डा. लोचन कार्कीका अनुसार नेपालमा कोभिड–१९ को जोखिम कायम रहेकाले ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती र अग्रमोर्चामा रहेर कार्य गरिरहेकाहरू बढी प्रभावित भएको निष्कर्ष सम्मेलनले निकालेको छ ।
यस्तै महामारीमा आफू र आफ्नो ज्यान जोखिममा राखेर अहोरात्र महामारीको रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने सम्पूर्ण स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत महìवपूर्ण योगदान दिनुहुने सम्पूर्णमा सम्मेलनले हार्दिक कृतज्ञता समेत व्यक्त गरेको छ ।
अध्यक्ष डा. कार्कीले सबल र सक्षम जनशक्ति एवं चुस्त स्वास्थ्य प्रणाली स्वास्थ्य क्षेत्रको मेरुदण्ड भएकाले यसको व्यवस्थापन र वृत्ति विकासका लागि स्वास्थ्य सेवा ऐनलाई परिमार्जन गर्दै र चिकित्सक ऐन ल्याइनुपर्ने बताउनुभयो । यस्तै, महामारीलगायत अन्य जनस्वास्थ विपत्तिको स्थितिमा पूर्वतयारी र प्रतिकार्यलाई सबल र सक्षम जनशक्तिको आवश्यकता रहेको सङ्घले जनाएको छ ।