सामान्यतय हेपाटाईटिस रोगलाई जन्डिसको नामले चिन्ने गर्दछौ। हेपाटाईटिसलाई खासगरी "ए", "बी", "सी" "डी" र "ई" को नामले बर्गिकरण गरिएको छ। हेपाटाईटिस भाइरसको कारणले हुने गर्दछ। यसमा हेपाटाईटिस "ए" र "ई" संक्रमित खाना र पानीको मध्यमबाट सर्ने गर्दछ।
यी दुवै हेपाटाईटिसहरु बिशेष गरेर गर्मी बर्षातको समयमा फैलने गर्दछ।
नेपालमा पनि हेपाटाईटिस "ए" र "ई" हरेक बर्ष जस्तो देखिदै आहिरहेका छन। यसमा पनि हेपाटाईटिस "ई" बाट गर्भवती महिलालाई बढी जोखिम हुने गर्दछ। यदी गर्भवती महिलामा हेपाटाईटिस "ई" संक्रमण भए १५ देखि २० प्रतिशतको मृत्यु हुने गर्दछ।
हेपाटाईटिस "ई" चार प्रकारका छन। यसलाई "१" "२" "३" र "४" गरेर बर्गिकरण गरेका छन। पहिलो "१" र "२" प्रजातिका हेपाटाईटिस "ई" मानिसमा देखिने गर्दछ भने बाकी जनावरमा देखिने गर्दछन। तर कहिले काही "३" र "४" प्रजातिको हेपाटाईटिस "ई" ले पनि संक्रमण गर्ने गरेको पाईन्छ ।
कुनै पनि हेपाटाईटिसको लक्षणहरु एक अर्कासंग मिल्दो जुल्दो हुने भएकोले यही प्रकारको हेपाटाईटिस हो भन्न सकिदैन।
हेपाटाईटिस "ई" को लक्षणहरु संक्रमण भएको दुइ देखि दस हप्तासम्ममा देखिने गर्दछ। खानामा रुचि नहुनु, पेट दुख्नु, वाक वाक लाग्नु, बान्ता हुनु आधी यसका लक्षणहरु हुन्।
त्यस्तै पिसाब कालो वा गाडा पहेलो देखिनु र आँखा तथा शरीर पहेलो पनि हुने गर्दछ। शारीरिक परिक्षण गर्दा कलेजो तथा फियो पनि बढेको हुनसक्दछ।
नेपालमा धेरै जसो आखा पहेलो भएपछि जन्डिस भयो भनेर मात्र आउने गरेको पाईन्छ । तर यसको लागि प्रयोगशाला परिक्षण अनिवार्य हुन्छ। यसैको आधारमा हेपाटाईटिस "ई" भए नभएको थाहा हुन्छ।
यसको बिशेष उपचार हुदैन तर कलेजोको कार्य क्षमताको परिक्षण भने पूर्ण रुपमा ठिक नभए सम्म बेला बेलामा गर्नु पर्दछ। यो एक देखि छ हप्तासम्ममा बिस्तारै आफै ठिक भएर जान्छ। यसको कारणले कलेजो फेल हुनसक्ने भएकोले बिशेष सतर्कता अपनाउनु पर्दछ।
माथि उल्लेख गरेजस्तै बिशेष गरेर गर्भवती महिलाले सतर्कता अपनाउनु पर्दछ। नेपालमा सन् २०१४ मा बिराटनगरमा हेपाटाईटिस "ई" को ठुलो महामारी फैलिएको थियो जसमा १४ जनाको मृत्यु भएको थियो। धेरै मानिसहरु जन्डिस देखिए उपचारका लागि अरु बैकल्पिक उपचारहरू जस्तै आयुर्बेद वा हर्बल उपचार गर्ने हुदा संक्रमितको संख्या र मृत्युदर बर्षेनी सोचे भन्दा बढी हुनसक्दछ।
नेपालमा पानीको गुणस्तरमा अझै ठुलो समस्या रहेकोले र हेपाटाईटिस "ई" को संक्रमण अब आउदै गरेको मनसुनमा फैलन सक्ने सम्भावना भएकोले गर्भवती महिलाको स्वास्थमा ठुलो संकट देखिन सक्दछ। धेरै ठाउमा त जन्डिस भएपछी कुन हेपाटाईटिसको कारणले भएको हो भनेर समेत पहिचान नगर्ने हुदा गर्भवती महिलाले बिशेष ध्यान दिन जरुरी हुन्छ। बर्षातको समयमा हामीले उपभोग गर्ने पानी हेपाटाईटिस "ई" संक्रमित हुनसक्ने र संक्रमित गर्भवतीमाउच्च मृत्युदरको कारणले अहिले यदी गर्भवती हुनुहुन्छ भने पानी प्रयोग गर्दा अनिवार्य पानीलाई उमालेर मात्र प्रयोग गर्नु पर्दछ।