-डा. प्रेम राज बैद्य
काठमाडौं - मुटुको कुनै पनि धमनिहरुमा शतप्रतिशत अबरोध भई मुटुको मांशपेशिकाले काम गर्न नसक्नु र अन्त्यमा सो भागको मृत्यु हुनुलाई हार्ट अट्याक अर्थात हृदयघात भन्ने गरिन्छ । हृदयघात मुटुको देब्रे मुख्य धमनीमा पुर्ण अवरोध भएमा प्राणघातक पनि हुनसक्छ, भने साना धमनिहरुको अवरोध भएमा हृदयघात भएको थाहा नहुन पनि सक्छ ।
हृदयघात हुनुभन्दा अगाडि साधारण लक्षणहरु देखिने गर्छन । अधिकांश मानिसले शुरुवाती चरणमा देखिने लक्षणलाई सामान्य मानेर घरमै बसिरहन्छन् । जसका कारण हृदयघात जस्तो ठुलो रुप लिन्छ । हृदयघातको उपचार सहज छैन । यदि हृदयघात हुदा देब्रे पट्टिको मुख्य धमनीमा अवरोध भएको छ भने यसलाई झन जटिल रुप मानिन्छ । जसका कारण व्यक्तिको पहिलो हृदयघातबाट नै मृत्यु हुनसक्छ ।
कुनै हृदयघात लक्षण बिना पनि हुनसक्छ । भने कुनै हृदयघातमा यस्ता लक्षणहरु देखापर्न सक्छन् ।
ठुलो धमनीमा अवरोध भएमा छातिको बिचमा वा द्रेब्रे तिर बेस्सरी थिचेको जस्तो दुख्नु वा व्यायम गर्दा, उकालो चढ्दा, मानसिक तनाव बढ्दा छातिको बिचमा वा देब्रे तिर भारी असजीलाे मशहुस हुनु स्वाँ स्वाँ बढ्नु, कहिलेकाहि देब्रे हातमा वा च्यापु तिर मन्द दुखाई सरेको जस्तो महशुस हुनु तर केहि समय आराम गरेपछि निको हुनु। चिटचिट पसिना आउनु, वाकवाक लाग्नु , बेहोस पनि हुन सक्छ।
उच्च रक्तचाप मधुमेह र खराब कोलेस्टरोल समयमा नै जाचँ गरि नियन्त्रण राख्न सकेमा ५० प्रतिशत हृदयघात कम गर्न सकिन्छ । त्यसका साथै धुम्रपान निषेध, मोटोपना नियन्त्रण, नियमित व्यायाम, मानिसक तनाव नलिनका साथै जिवनशैलिमा सुधार ल्याउन सके यो रोगलाई ८० प्रतिशत नियन्त्रण गर्न सकिन्छ ।
यो रोग जनचेतनाको अभाव, सिमित अस्पताल, मुटुरोग बिशेषज्ञको कमी र हृदयघातको लक्षण सामान्य हुने भएकाले समयमा नै उपचार र निदान गर्न निकै कठिन भइरहेको छ । त्यसैले हरेक व्यक्तिले बर्षमा एकपटक मुटुको परिक्षण गराउँन अति आवश्यक छ ।
मुटुमा समस्या देखिएमा नियमित चिकित्सकको सल्लाह अनुसार परिक्षण गराउँनुपर्छ । हालसम्म हृदयघातको प्रमुख कारण थाहा पाउन सकिएको छैन । तर यसका कारक तत्वबारे प्रायः जानकार नै छन्।
जसमध्ये हामीले परिर्वतन गर्न नसकिने कारक तत्वहरु यसप्रकार छन् ।
उमेर बढ्दै जादाँ हृदयघातको जोखिम बढ्दै जान्छ।
महिलाको तुलनामा पुरुषलाई बढि हृदयघात हुन्छ भने महिनावारी रोकिएपछि महिलालाई पनि पुरुषसरह नै हृदयघातको जोखिम हुन्छ।
यो बंशानुगत कारणले पनि हुने गर्दछ। दक्षिण पुर्वी एसियाका मानिसहरुमा हृदयघातको जोखिम धेरै हुने गर्दछ ।
परिर्वतन गर्न सकिने कारक तत्वहरु
मधुमेह
उच्च रक्तचाप
उच्च कोलेस्टोर
धुम्रपान
व्यायमको कमी
मोटोपना
मानसिक तनाव
जनचेतना
जिवनशैलि
कसरी थाहा पाउने मुटुको धमनीमा अबरोध भएको ?
माथी उल्लेख गरिएका लक्षणहरु देखापरेमा तुरुन्त रेष्ट इलेक्ट्रोकार्डियोग्राम (इ सि जि electrocardiogram) गर्नुपर्छ । यदि इसिजिमा केहि समस्या देखापरेमा वा देखा नपरेमा सम्भव भए एक्ससाइज इ सि जि ( excrise ECG =TMT ) वा स्ट्र्रेश इकोकार्डियोग्राफि (stress echo cardiography) गर्नुपर्ने हुन सक्छ । टि एम टि पोजेटिभ भएमा क्रोनीक एन्जियोग्राफि (CAG) गर्नुपर्छ । यदि टि एम टि गर्न नसकेको अवस्थामा वा टि एम टि नेगेटिभ भएमा पनि मुटुको धमनीको रोगको लक्षण छन् भने CoronaryAngiography (CAG) गर्नुपर्छ । साथै यसबाट कती अवरोध छ या छैन हेर्न सकिन्छ ।
थालियम टेष्ट (thallium test) र स्ट्र्रेश इकोबाट (stress echo) हृदयघात भएपछि मायोकार्डियम भाइबिलिटि ( Myocardial viability) हेर्न सकिन्छ । आजकल क्लोनरी सिटि एन्जियोग्राफि ( coronary CT angiography) बाट क्याल्सियम स्कोर र अवरोध पनि हेर्न सकिन्छ । तर यसबारे अझै अनुसन्धान भइरहेको छ ।
जब मुटुको धमनीमा ७० प्रतिशत भन्दा बढि अवरोध भएमा वा कम अवरोधमा पनि हृदयघातको लक्षण देखिएमा यसलाई एन्जियोप्लास्टि (angioplasty) अथवा शल्यचिकित्सा वाई पास कोरोनरी आरटि बाइपास ग्राफटिङ (Coronary artery bypass grafting -CABG) शल्यक्रिया गर्नुपर्छ । याे अपरेसन मुटु नरोकी बिटिडं हर्ट सर्जरी पनि गर्न सकिन्छ।
७० प्रतिशत भन्दा कम अवरोधमा ठुलो समस्या नभएमा नियमित परिक्षण र औषधि सेवन गर्नुका साथै व्यायम र जिवनशैलीमा परिर्वतन ल्याउनुपर्छ ।
अन्त्यमा दैनिक ध्यान गर्नु, हरियो सागपात र फलफुल धेरै खानुपर्छ । दैनिक ८ देखि १० गिलास पानि पिउनुपर्छ । दैनिक ३० मिनेट भन्दा बढि हिड्ने गर्नुपर्छ । हामीहरूले सकेसम्म कम खाना खाने बानी गर्नु पर्छ नत्र औषधि पनि खाना जस्तै खानु पर्ने हुनसक्छ।