ब्रिटेनका स्वास्थ्य अधिकारीहरुले कतिपय बिरामीलाई एन्टिबायोटिक्स दिनुको साटो घर गएर आराम गर्न लगाउनुपर्ने बताएका छन्।
सार्वजनिक स्वास्थ्य निकाय पब्लिक हेल्थ इंग्लण्ड (पिएचइ)ले भनेको छ, विरामीलाई गरिने एन्टिबायोटिक्सको हरेक पांचवटा सिफारिस मध्ये कम्तीमा एउटा अनावश्यक रुपमा हुने गरेको छ।
त्यस्ता औषधिको अत्यधिक र अनावश्यक प्रयोगले गर्दा सुपरबग भनिने औषधि प्रतिरोधक किटाणुको सृजना हुन गई संक्रमणहरुको उपचारलाई जटिल बनाइरहेको छ।
डरलाग्दो तथ्यांक
पिएचइले संक्रमणको वृद्धिदर रोक्न विरामी आफैले भूमिका खेल्नुपर्ने उल्लेख गरेको छ।
उसको आँकडा अनुसार ब्रिटेनमा औषधि प्रतिरोधी संक्रमणका कारण वर्षेनी ५ हजार मानिसहरुले ज्यान गुमाउने गरेको अनुमान गरिन्छ।
इकोलाइ ब्याक्टेरियाका कारण देखिने १० मध्ये चार संक्रमण पहिलोपल्ट दिइने प्रकारका एन्टिबायोटिक्सले ठिक गर्न नसक्ने भैसकेको उक्त निकायले जनाएको छ।
र सन् २०५० सम्म अहिले क्यान्सरका कारण ज्यान गुमाउने भन्दा बढी मानिसले औषधि प्रतिरोधी संक्रमणका कारण ज्यान गुमाउनुपर्ने उसको भविष्यवाणी छ।
रगतमा फैलने सेप्सिस भनिने संक्रमण, निमोनिया, ब्याक्टेरियल मेनिनजाइटिस र अरु गम्भीर संक्रमणको उपचारमा एन्टिबायोटिक्सको महत्वपूर्ण भूमिका हुन्छ।
तर पिएचइले सबै प्रकारका रोगहरुमा एन्टिबायोटिक्स आवश्यक नरहेको जनाएको छ।
उपचार
उदाहरणका लागि खोकी वा ब्रोंकाइटिस तीन हप्तासम्ममा स्वत: निको हुनसक्छ तर एन्टिबायोटिक्सले त्यो भन्दा एक वा दुई दिन अघि मात्र त्यसलाई निको पार्न सक्छ।
पिएचइका स्वास्थ्य निर्देशक प्राध्यापक पल कोसफोर्ड भन्छन्, "सामान्य खालका समस्या देखिँदा हामीलाई एन्टिबायोटिक्स चाहिंदैन, हामी मध्ये अधिकांश बेला बेलामा संक्रमणको शिकार भइरहन्छौँ तर हाम्रो आफ्नै रोग प्रतिरोधी क्षमताले त्यसलाई निको बनाउँछ।"
उनले एन्टिबायोटिक्सको अपेक्षा गर्दै बिरामीहरुले चिकित्सकलाई भेट्न नहुने पनि सुझाव दिएका छन्।
त्यसको साटो शरिरलाई नै संक्रमणसँग जुध्न समय दिनुपर्ने भन्दै चिकित्सकहरुले बढी भन्दा बढी आराम गर्न, पारासिटामोल जस्ता दुखाइ कम गर्ने औषधी खान र धेरै झोल पदार्थ पिउन सुझाव दिएका छन्।
बिबिसी