पछिल्लो समय विश्वमा भएका नयाँ तथा अहिले प्रयोगमा आएका खोपहरुलाइ रोगका आधारमा राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्ने निति अनुसार रोटाभाइरस लाई पनि नेपाल राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिएको छ ।
अब हरेक ६ हप्ताभन्दा माथिका बालबालिकालाई झाडा पखाला बिरुद्ध रोटाभाइरस खोप दिन नेपाल सरकारले पहल गरेको छ |
रोटा भाइरस अर्थात् (Winter Diarrhoea) भनेको के हो ?
जाडो मौसम मा बालबालिकाहरूलाई लाग्ने पखालाको प्रमुख कारण नै रोटाभाइरसलाई मानिन्छ । यो यस्तो भाइरस हो, जसका कारण बच्चामा पखाला सजिलै हुने गर्दछ । त्यसैले रोटा भाइरसको कारणले हुने पखालालाई Winter Diarrhea अर्थात चिसो मौसममा हुने पखाला पनि भनिन्छ ।
प्राय बालबालिकाहरूमा देखा पर्ने अधिकांश समस्या मध्य झाडा, बान्ता तथा पखाला गराउने मुख्य भाइरसहरु मध्यको मुख्य जड नै रोटाभाइरस हो । यो दिसापिसाब सँगसँगै अन्य किसिमका फोहरमा रहने भाइरस हो ।
फोहरमा पाइने यो भाइरस विशेषगरि जाडो र गर्मी दुबै याममा देखा पर्ने गर्दछ । फोहर तथा दिसामा सजिलै पाइने यो भाइरस जब विभिन्न माध्यामबाट बच्चाको शरीरमा प्रवेश गर्दछ तब बच्चाहरुमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखा पर्दछन । जस मध्य यस्को असर भनेको बच्चाहरूमा देखा पर्ने पखाला नै मानिन्छ ।
रोटा भाइरस चिसोमा धेरै सकृय हुन्छ । जसले गर्दा चिसो मौसम मा बालबालिकाहरुलाई Winter Diarrhea हुने गर्दछ ।
रोटाभाइरसको संक्रमण धेरै जसो कति उमेरको बालबालिकाहरुमा हुन्छ?
यो भाइरसको संक्रमण ५ बर्ष मुनिका बालबालिकाहरुलाइ हुने गर्दछ । जस मध्ये १ बर्ष मुनिका बालबालिकामा यस भाइरसको संक्रमण अझ बढी मात्रामा हुने गर्दछ ।
धेरै फोहोरमैला , प्रदुषित खानपान र बच्चाहरुमा गरिनुपर्ने स्वास्थ्य सम्बन्धी क्रियाकलापलाई अबलम्बन नगर्दा यो भाइरस बच्चाको शरीरमा प्रवेश गर्दछ । यो किटाणु दिसा पिसाब जन्य फोहरमा रहने गर्दछ ।
प्राय पाँच वर्ष मुनिका बच्चाहरुले जे भेटायो त्यहि आफ्नो मुखमा हाल्ने बानीले गर्दा बच्चामा यो भाइरस सजिलै प्रवेश गर्ने गर्दछ र बच्चाहरुमा यो भाइरसले छिटोभन्दा छिटो सताउने गर्दछ ।
मुखबाट सजिलैसँग शरीरमा छिर्ने भएकोले मेडिकल शब्दमा यस्लाइ ‘फिको ओरल’ पनि भन्ने गरिन्छ ।
पछिल्लो समयमा नेपालमा रोटाभाइरसको संक्रमणका तथ्याङ्कहरु
पछिल्लो ४ वर्षको सर्बेक्षणको तथ्यांक हेर्दा नेपालमा बार्षिक ५ वर्ष मुनिका बच्चाहरुमा कम्तिमा पनि ३ लाख ५० हजार बालबालिकाहरु पखालाका कारण सिकिस्त बिरामी परेर विभिन्न अस्पतालमा भर्ना हुने गरेको पाइएको छ ।
सन् २०१० देखि २०१६ सम्म कान्ति बाल अस्पतालमा गरिएको सर्बेक्षणको अनुसार पखालाका कारण अस्पतालमा भर्ना भएका मध्य ३८५ बालबालिकाहरुलाइ रोटाभाइरसका कारण नै पखाला लाग्ने गरेको स्वास्थ्य तथ्यांकले जनाएको छ ।
रोटाभाइरसको संक्रमणका लक्षणहरु के के हुन्?
रोटा भाइरसको प्रवेशसँगै बच्चाहरुमा विभिन्न किसिमका लक्षणहरु देखा पर्ने गर्दछ ।
- पातलो दिशा हुने वा पखाला लाग्ने (दिनमा ३/४ पटक ) गर्दछ । पखाला ५/७ दिनसम्म पनि चल्न सक्छ ।
- बच्चाहरुले बान्ता गरिरहने गर्दछन ।
- लगातार पखाला लागिरहेको अवस्थामा बच्चाहरुमा कडा खालको जलबियोजन पनि हुन सक्छ ।
- यो भाइरसको प्रवेशसंगै बच्चाहरुमा ज्वोरो पनि आउने हुनाले पेट दुख्ने, बच्चा धेरै रुने, झिज्जिने हुन्छ ।
- खाना खान नखोज्ने अर्थात खाना खानु परेमा धेरै दुख दिने वा खाना मा रुचि नदेखाउने गर्दछन जुन लक्षण धेरै दिन सम्म भइरहेको अबस्थामा बच्चाहरुको आखा गड्ने र बच्चा बेहोस समेत हुने गर्दछन् ।
रोटाभाइरसको संक्रमणका जोखिम कारकहरु के के हुन्?
रोटा भाइरसको कारणले लाग्ने पखाला अर्थात Winter Diarrhoea हुनासाथ प्राय जसो आमा बुबाहरुले आफ्नो बच्चालाई एन्टिबायोटिकको प्रयोग गरिरहेको भेटिन्छ ।
यसरी बच्चालाई बिना स्वास्थ्य जाँच एन्टिबायोटिक सेवन गराउदा बच्चामा थप अन्य जटिल समस्याहरु उत्पन्न हुने खतरा पनि बढेर जान्छ ।
बच्चाले दिनमा कति पटक बान्ता गर्यो र कति पटक पातलो दिशा गर्यो र पातलो दिशा गरेसँगै पिसाब गर्यो वा गरेन भनेर ख्याल गर्नु जरुरी छ ।
सामान्यतया बच्चाले दिनमा ४/६ पटक पिसाब गरेको नै हुनु पर्दछ । पखाला बढि भएको कारण बच्चाको शरीरमा पानीको मात्रा कम हुँदा पिसाब कम आउने हुन सक्छ । जसले गर्दा बच्चाको मृगौलामा समेत असर हुन सक्दछ जस्को कारण थप जटिलता थपिन सक्छ ।
माथिको लक्षणसँग सगै बच्चाको आँखा गड्ने ,पेट्मा छाला चाउरी पर्ने वा छाला खुम्चिने, खाना खाएपछी बान्ता गर्यो वा बेहोस हुने आदि समस्या भएमा तत्कालै स्वास्थ संस्थामा लैजानु पर्दछ ।
रोटाभाइरस संक्रमणबाट आफ्नो बच्चालाई जोगाउने उपायहरु के के हुन् त ?
- बच्चालाई खाना खुवाउनु अघि हात राम्रोसँग धोएर मात्र खुवाउने वा खान दिने
- फलफुल खुवाउनुभन्दा अगाडि फलफुललाई केही समय तातोपानीमा डुबाउने अथवा फलफुललाई राम्रोसँग पखालेर मात्र खुवाउने
- बच्चाहरु खेल्ने वा बस्ने, सुत्ने ठाउँ सधैं सफा राख्ने
- बच्चालाई समय समयमा नुहाइदिने अथवा बच्चालाई सफासुघर राखिराख्ने
- बच्चाले लगाएको कपडाहरु सकेसम्म दिनदिनै परिवर्तन गरिदिने
- बच्चालाई उमालेको पानी मात्र पिउन दिने
- बच्चालाई प्रदान गरिने कुनै पनि खोपबाट बन्चित नगराउने ( नेपाल राष्ट्रिय खोप कार्यक्रम अनुसार रोटाभाइरस खोप लगाउने)