नेपालमा १२ देखि १७ वर्षका बालबालिकालाई दिइने खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको अधिकारीहरूले बताएका छन्।
नेपालले हाल फाइजर र मोडेर्ना खोप आयात गर्नका लागि पहल अघि बढाएको बताइएको छ।
''मोडेर्नाको हामीले शुल्क तिरिसकेका छौँ। फाइजरसँग हामी अहिले एकदम घनीभूत छलफलमा छौँ,'' स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख सागर दाहाल भने।
गत अगस्ट महिनाको दोस्रो साता नेपालले कोभिड विरुद्धको मोडेर्ना खोपको ४० लाख मात्रा खरिद गर्नका लागि सम्झौता गरेको विश्व ब्याङ्कले जनाएको थियो।
कोभ्याक्ससँगको लागत साझेदारीमार्फत् विश्व ब्याङ्कको वित्तीय सहयोगमा सो मात्रा खरिद गर्नका लागि खोपसम्बन्धी विश्वव्यापी सञ्जाल गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको ब्याङ्कले जनाएको छ।
त्यसबाहेक स्वास्थ्य मन्त्रालयले फाइजर खोपको ६० लाख मात्रा खोप लिने गरी तयारी अघि बढाएको छ।
फाइजरसँग खोप खरिद गर्नका लागि विश्व ब्याङ्क र एशियाली विकास ब्याङ्कको ऋण र अनुदान सहयोग परिचालन गरिने तय भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका थिए।
''फाइजरले दिन मिल्छ भनेर खबर गरिसकेको छ,'' दाहालले भने। उक्त खोप माइनस ७० तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक तथा खोपसम्बन्धी विज्ञ समितिका संयोजक डा. श्यामराज उप्रेतीका अनुसार नेपाललाई राष्ट्रसङ्घीय बालकोष यूनिसेफमार्फत् गाभीले ''एक लाख मात्रा खोप चाँडै नै दिँदैछ''।
गाभीमार्फत् नेपालले प्राप्त गर्ने भनिएको खोप फाइजर रहेको उनले जानकारी दिए।
भण्डारणका लागि के गरिँदैछ?
खोप आउने निश्चित जस्तो देखिएको अवस्थामा "कोल्ड चेन" कसरी व्यवस्थापन गर्ने र ''प्रोटोकल'' कसरी बनाउने लगायतका विषयमा पनि छलफल भइरहेको बताइएको छ।
खोप आयातको सङ्ख्याको हकमा भने त्यो भण्डारण लगायतका क्षमताको अवस्थामा आधारित रहने अधिकारीहरूको भनाइ छ।
हालसम्म विकास भएका कोभिड खोपमा भण्डारण र वितरणका हिसाबले सबैभन्दा चुनौतीपूर्ण खोप फाइजरको रहेको विज्ञहरू बताउँछन्।
हाल नेपालसँग माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने फाइजर खोप राख्न सकिने चारवटा मात्रै फ्रिज उपलब्ध रहेको विभागले जनाएको छ।
''चारवटा पनि १०० - १०० लिटरको मात्रै छ। अरू फ्रिजहरू र ''कोल्ड चेन'' उपकरणहरू पनि हामी ल्याउँदैछौँ। ''अल्ट्रा कोल्ड चेन'' उपकरणहरू नल्याउँदा एक लाखसम्म खोप मात्र एक पटकमा दिन सकिने अवस्था छ,'' दाहालले भने।
''खोप सँगसँगै यी सबै चिजमा हामी सँगसँगै काम गरिरहेका छौँ।''
सरकारले भण्डारणसँगै ''कोल्ड चेन''को व्यवस्थापन हुने गरी खोप ढुवानीका लागि आवश्यक पर्ने नौवटा गाडी पनि खरिद गर्न लागेको जनाएको छ।
तीमध्ये दुईवटा सङ्घीय राजधानी काठमाण्डूमा र अन्य सातवटा प्रत्येक प्रदेशमा एक-एक वटाको दरले राखिने योजना छ।
शरूवाती समयमा नेपालसँग अल्ट्रा कोल्ड चेनका लागि पूर्वाधार नभए पनि बालबालिकालाई खोप उपलब्ध गराउने गरी पहल अघि बढाइएसँगै त्यस्ता पूर्वाधारमा पनि ध्यान केन्द्रित गरिएको उप्रेतीले जानकारी दिए।
कसरी हुन्छ वितरण?
बालबालिका लक्षित खोप वितरणबारे पनि हाल विभागले काम गरिरहेको बताइएको छ।
यस बारेमा ठोस योजना तय भइनसकेको भए पनि बालबालिकालाई विद्यालयमै आधारित रहेर खोप ''दिइन्छ'' भन्ने आफ्नो बुझाइ रहेको दाहालले जानकारी दिए।
के दशैँ लगत्तै खोप आइपुग्ने अवस्था छ भन्ने प्रश्नमा दाहाल भन्छन्: ''दशैँ लगत्तै खोप आउँछ भन्न सक्ने स्थिति त देख्दिन। तर हाम्रो प्रयास चाहिँ जतिसक्दो चाँडो, यही २०२१ भित्रै ल्याउने भन्ने हो।''
उप्रेतीले पनि डिसेम्बर महिनाअघि नै उक्त खोप उपलब्ध हुन्छ भन्ने जानकारी प्राप्त गरेको बताए।
तर स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ''दशैँ लगत्तै बालबालिकालाई लगाउने कोभिड विरुद्धको खोप नेपाल आइपुग्ने'' सार्वजनिक रूपमा बताएका थिए।
प्रतिनिधिसभाको बैठकमा केही महिनाअघि बोल्दै श्रेष्ठले मोडेर्ना र फाइजरसहित कुल पाँच करोड २२ लाख मात्रा खोप आगामी माघ महिनासम्म नेपाल ल्याइसकिने बताएका थिए।
बालबालिकालाई फाइजर र मोडेर्ना खोपको विकल्प छैन?
कोभिडविरुद्ध खोपहरू विकास हुने शुरूवाती क्रममा तीनको बालबालिकाहरूमा परीक्षण गरिएको थिएन।
उप्रेतीका अनुसार फाइजर खोपको भने १६ वर्षभन्दा माथिको उमेर समूहमा परीक्षण गरिएको थियो।
बालबालिकामा सङ्क्रमण तुलनात्मक रूपमा कम हुने र भइहाले भने पनि त्यो त्यो तुलनात्मक रूपमा कम घातक हुने बताइएको अवस्थामा बालबालिका लक्षित खोपहरू विकास हुने क्रममा ढिलाइ भएको उप्रेती बताउँछन्।
''पछि आएर बालबालिकाहरूलाई पनि खोप दिनुपर्छ भन्ने भएपछि फेरि परीक्षण सुरु भयो। धेरै खोपहरूको हाल बालबालिकाहरूमा परीक्षण भइरहेको छ,'' उनले भने।
त्यसमध्ये १२ वर्षभन्दा माथिका बालबालिकालाई दिन हुने खोपका रूपमा फाइजर आएको उनी बताउँछन्।
उक्त खोपलाई अमेरिकी खाद्य तथा औषधि नियामक संस्था (एफडीए) र विश्व स्वास्थ्य सङ्गठनले स्वीकृत गरेको उप्रेतीले बताए।
बालबालिकाका लागि अर्को विकल्प मोडेर्ना रहेको उनको भनाइ छ।
उक्त खोपलाई अमेरिकामा बालबालिकाहरूमा प्रयोग स्वीकृत गरे पनि विश्व स्वास्थ्य सङ्गठनले भने स्वीकृत गरिनसकेको उनी बताउँछन्।
तर युरोपको खोप नियमन गर्ने निकायले भने स्वीकृत गरेको र त्यसले उक्त खोप गुणस्तरीय रहेको देखाउने उप्रेतीले तर्क गरे।
"नेपालमा बालबालिकाका लागि भनेर हाल यी दुई खोप मात्रै ल्याउने पहल गरिराखेका छौँ। तर चीनमा भेरोसेल खोप पनि बालबालिकाहरूमा प्रयोग गरिएको बताइएको छ।"
चीनले गत जुन महिनामा नै सिनोभ्याकले उत्पादन गरेको खोप तीन वर्षदेखि १७ वर्ष उमेरसम्मका बालबालिकामा दिन शुरू गरेको थियो।
त्यति सानो उमेरका बालबालिकालाई कोभिड खोप दिन शुरू गर्ने चीन पहिलो देश थियो।
नेपालले हालसम्म भारतमा उत्पादित कोभिशील्ड, जापान र स्वीडेनमा उत्पादित अस्ट्राजेनेका, चीनमा निर्मित भेरोसेल र अमेरिकामा उत्पादित जोनसन एन्ड जोनसन खोप प्रयोगमा ल्याइएको छ।
कोरोनाभाइरसविरुद्ध लगाइने खोपमध्ये हालसम्म नेपालमा प्रयोग गरिएका अधिकांश खोप २ देखि ८ डिग्री तापक्रममा राख्न मिल्छ।
श्रोत : बिबिसी