- डा. कपिलदेव उपाध्याय
काठमाडौं - कोरोना भाइरस (कोभिड १९)को संक्रमणको महामारीको कारण अहिले सर्वत्र चिन्ता, तनाव र डर बढाएको छ । अहिलेको अवस्था कल्पना बाहिरको अवस्था भएकोले डर, चिन्ता हुनु स्वभाविक हो । मृत्यु भन्दा पनि मृत्यु हुने चिन्ताले बढी डर उत्पन्न गराउँछ ।
नेपालमा कोरोना भाइरसको संक्रमण अहिले दोस्रो चरणमा भर्खर प्रवेश गरेको छ । समुदायको तहमा संक्रमण फैलिसकेको छैन । अन्य मुलुकमा झैं महामारीको अवस्था पनि नभएकोले अहिले नै चिन्ता, डर पालेर बस्नु उपयुक्त होइन ।
कोरोनाको महामारीले नेपालमा भन्दा पनि युरोप र अमेरिकामा बासिन्दामा डर, तनाव पैदा गरेको छ । संसारभर १२ लाख भन्दा बढी संक्रमित भएको पाइएको छ । भाइरसको संक्रमणले ७० हजार भन्दा बढीको मृत्यु समेत भइसकेको छ । संक्रमित मध्ये दुई लाख भन्दा बढी निको भएर घर फर्किसकेका पनि छन । त्यसैले संक्रमित सबैको ज्यान जाने होइन । आँखाले नदेखिने यो कोरोना भाइरससँग विश्वले नै युद्ध लडनु परिरहेको छ ।
चिन्ता स्वभाविक
अहिलेको परिस्थितिमा कोरोना भाइरसको संक्रमण हुन्छ की भनेर धेरैव्यक्तिमा डर, चिन्ता, तनाब देखिन्छ । यो स्वभाविक पनि हो । डराउँदैमा वा आत्तिदैमा कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सकिंदैन । के गर्दा जोखिम कम हुन्छ ? खतराबाट जोगिन सकिन्छ त्यसतर्फ सचेत हुनु पर्छ । कोरोना भाइरसका बारेमा प्रचारित मिथ्या समाचारबाट पनि जोगिनु पर्छ ।
सकारात्मक सोंच
हामी स्वस्थ छौं र परिवारमा पनि कोहि संक्रमित छैनन भने हामी डराउन पर्दैन । डर,चिन्ता र भावनाहरु मनबाट उत्पन्न हुने हुन । जुन डर उत्पन्न भइरहेको छ त्यो सबै कल्पना हो । हामीले भावनालाई बढाईचढाईं गरेर अझ आत्तिने वा डराउने गर्नुहुँदैन ।
यस्तो सोंच वा भावना आउनु सामान्य वा स्वभाविक हो भनी स्वीकार गर्नुपर्छ । यदि कसैलाई संक्रमण भयो भने समाधानका लागि के गर्न सकिन्छ ? वा जोगाउन सकिन्छ भनेर समाधानका उपाय सोंचौं । समाधानका उपायहरुबारे प्रयास गरौं । मनमा आउने रिस डर, ईष्र्या ,घृणालाई शक्ति नदिउँ । ती तत्वले आफुलाई नियन्त्रण गर्न नदिउँ । विचार र भावना आफै हराएर जानेछन ।
के गर्ने ?
साबुन पानीले हातधुँदा कोरोना भाइरस मर्छ । संक्रमण हुँदैन । हातले मुख, नाक , अनुहार छुने बानी धेरैको हुन्छ । त्यसबानीलाई हटाउनु पर्छ । बानीलाई परिवर्तन गरौं । सेनिटाइजर साथमा लिएर हिंडौं । हाच्छिउँ वा खोक्ने व्यक्तिबाट टाढा रहनु पर्छ ।
सामाजिक दुरी कायम राख्नु पर्छ भनेको पनि यहिं हो । कुनै रोगका कारण वा औषधिका कारण रोगप्रतिरोधात्मक क्षमता न्युन छ भने चिकित्सकसँग परामर्श लिन सकिन्छ । मास्क लगाउनु पर्छ ।
रुघाखोकी लाग्दा कोरोना भाइरसकै कारणले होला भन्ने नसोचौं । सामान्य फलु वा अन्य कारणले पनि रुघा लाग्न सक्छ । डर, रिस, तनाव, नैराश्यता अहिले सबैमा छ । तनाबबाट कसरी मुक्त हुने तर्फ ध्यान दिउँ ।
अहिले मुलुकमा लक डाउन घोषणा गरिएको छ । कसरी समय विताउने भन्ने भइरहेको हुन सक्छ । घरमा बसिरहेको बेला आधा घण्टा क्लासिकल म्युजिक सुन्दा पनि तनावलाई न्युन गर्न सकिन्छ । संभव छ भने घरमै मन पर्ने फिल्म हेर्न सकिन्छ ।
रुचि अनुसारको पुस्तक अध्ययन गर्न सकिन्छ । परिवारका सदस्यसँग पनि रमाइलो कुराकानी गर्न सकिन्छ । स्काइप, भाइबरमा कुरा गरेर पनि मनलाई बहलाउन सकिन्छ । यदि विश्वास छ भने प्रार्थना र पुजाआजा गर्न सकिन्छ । घरमा शारीरिक व्यायाम गर्न सकिन्छ । मन पर्ने सन्तहरुको प्रवचन-सुझाव सुन्न सकिन्छ ।
रोग निरोधक शक्ति बढाउन सकिन्छ । राम्रो निद्रा, पौष्टिक आहार र व्यायामद्धारा रोग निरोधक शक्ति बढाउन सकिन्छ । ध्यान र योगासनले पनि फाइदा हुन्छ ।
यस बेला सकारात्मक सोंचको विकास गर्नु पर्छ । मलाई संक्रमण हुँदैन ।म स्वस्थ छुँ ।मेरो रोग निरोधक शक्ति राम्रो छ । कुनै कारणवश संक्रमण भइहाल्यो भने पनि म निको हुनेछुँ भन्ने सोंचलाई सकारात्मक सोंचाईका रुपमा लिइन्छ । नकारात्मक सोंच राखेर आत्तिदा , तनाव लिंदा स्टेस हर्मोन उत्पन्न हुन्छ । त्यसैले सकारात्मक सोंच हुनु पर्छ ।
श्रीमदभागवत गीतामा भने झैं मन नै शत्रु र मीत्र हो । मनको सहायताले नै उद्धार गर्नु पर्छ । भगवान गौतम बुद्धले भने झैं आफनो प्रकाश र ज्योतिलाई चिन्नु पर्छ ।
कोरोना भाइरस विरुद्धको लडाईंमा मानवले विजयी हासिल गर्न सक्छ भन्ने सकारात्मक सोंच राख्नु पर्छ । उर्जाशील हुने प्रयत्न जारी राख्नु पर्छ । आपसमा प्रेम र सदभाव राख्नु पर्छ ।
(बरिष्ठ मनोचिकित्सक डा.उपाध्यायको लेख)