- डा.नुतन शर्मा
सामान्यतया दूरबीनको माध्यमबाट पेट नचिरेर सानो सानो प्वाल बनाएर गरिने सर्जरीलाई ल्याप्रोस्किोपिक सर्जरी भनिन्छ। ल्याप्रोस्कोपिक सर्जरी अर्थात दूरबिन शल्य चिकित्सा पद्धतीद्वारा गरिने शल्यक्रिया बिरामीका लागि बरदान सावित भएको छ।
यस्तो शल्य चिकित्सा पद्धतिलाई Key Hole सर्जरी वा Pin Hole सर्जरी पनि भन्ने गरिन्छ । यो एक अत्याधुनिक शल्य चिकित्सा पद्धति हो।
अत्याधुनिक सर्जरीको विधाको यो सर्जरी बिरामीलाई अधिक आराम र सुविधा दिन विकास गरिएको पछिल्लो प्रविधिको रुपमा पनि हेरिन्छ। पछिल्लो समय नेपालमा समेत विभिन्न रोगसँग सम्बन्धित मुख्य शल्यक्रिया (मेजरओटी) दूरबिन पद्धतीबाट गर्न थालिएको छ।
त्यस मध्ये स्त्री रोगसँग सम्बन्धित शल्यक्रिया समेत दूरबिन पद्धतीबाट नेपालका धेरै अस्पतालमा हुन थालेका छन्। बिशेष गरि पाठेघरबाट ट्यूमर निकाल्ने, डिम्बाशयको शिष्ट, ट्यूमर निकाल्ने, बच्चा नहुने अप्रेरशन गर्न र बच्चा नहुने अपरेशन गरिएको छ भने त्यसलाई खोल्ने अपरेशन (ट्यूवल रिक्यानालाइजेशन) लगायतका मुख्य शल्यक्रिया समेत दूरबिन पद्धतीबाट सम्भव छ।
भारतलगायत विकसित मुलुकमा यस्तो अपरेशन सामान्य हुँदै गए पनि नेपालमा यसको प्रयोग भर्खेरै बिस्तार हुन लागेको हो। दूरबिन पद्धतीबाट शल्यक्रिया गर्ने मात्र नभई विभिन्न रोग पत्ता लगाउन समेत यसको प्रयोग निकै सहज भएको छ।
पहिले नेपालमा कतिपय रोगको पहिचानका लागि पेट चिरेर भित्रको समस्या के छ भनेर हेर्ने गरिन्थ्यो। अहिले दूरबिनको प्रयोग अर्थात डाइग्नोष्ट्रिक ल्याप्रोस्कोपिकबाट विभिन्न रोग पत्ता लगाउन सहज भएको छ। स्त्रीसँग सम्बन्धित कतिपय रोगको नाइटोबाट प्वाल पारेर दुरविनको माध्यमले हेरेर समस्याबारे पहिचान गर्न सहज भएको छ।
खास गरि डाइग्नोष्ट्रिक ल्याप्रोस्कोपिकको बढी प्रयोग बाँझोपनको समस्या भएका महिलामा गरिन्छ। पाठेघरसम्म जाने ट्यूव ठीक छ कि छैन त्यो पत्ता लगाउन दूरबिन पद्धती प्रयोग बिरामीका लागि निकै सहज र सुविधायुक्त मानिन्छ। डिम्बाशयको शिष्ट निकाल्ने, डिम्बाशयमा शिष्ट निकाल्दा पाठेघर टाँसिएको छ भने त्यसलाई खुल्ला गर्नुपर्ने हुन्छ, यस्तो बेला डाइग्नोष्ट्रिक ल्याप्रोस्कोपिकको निकै ठूलो भूमिका हुन्छ।
पहिले ट्यूबमा बच्चा बस्ने (Ectopic) हुने बेलामा अधिक रक्तश्रापको समस्या हुँदा धेरैचोटी पेट चिरेर अपरशेन गर्नुपथ्र्यो तर अहिले दूरबिन पद्धतीबाट पेटमा सानो प्वाल पारेर ट्यूबलाई काटेर मर्मत गरेर उपचार गर्न सकिन्छ। त्यसमा कुनै खालको समस्या हुँदैन। बिरामी दुई दिनमै घर जान सक्छ।
अहिले पाँठेघरको शल्यक्रियाका लागि दूरबिन पद्धती बिरामीका लागि अधिक सुविधा र सहज भएको छ। नेपालमा यो पद्धतीको बिस्तार नहुँदासम्म पाँठेघर निकाल्न पेट चिरेर शल्यक्रिया गर्नुपर्ने बाध्यता थि । तर अहिले दूरबिन पद्धतीबाट पेटमा प्वाल पारेर पाठेघर निकाल्ने शल्यक्रिया सहज भएको छ।
यस्तो पद्धतीबाट शल्यक्रिया गर्दा बिरामी ३ दिनमै घर जान सक्छ। साथै केही दिनमै बिरामी आफ्नो नियमित काममा फर्किन सक्छ। पेट चिरेर गर्ने शल्यक्रियाले बिरामीले लामो समयसम्म दुःख पाउँछ, धेरै दिन अस्पताल बस्नुपर्ने हुन्छ, घाउ निको हुन धेरै दिन लाग्छ। नियमित काममा फर्कन बिरामीलाई धेरै समय लाग्न सक्छ। तर, दूरबिन पद्धतीबाट पाठेघरको शल्यक्रिया गर्दा पेट चिर्नु पर्देन, पेटमा सानो प्वाल पार्ने हुँदा बिरामी अप्रेशनपछि छिट्टै रिकोभर हुन्छ । ल्याप्रोस्कोपिक सर्जरीको साइड इफेक्ट हुने सम्भावना पनि न्यून हुन्छ।
कस्ता बिरामीलाई ल्याप्रोस्कोपिक अप्रेशन गर्न उपयुक्त मानिदैन?
• क्यान्सरको सम्भावना भएका बिरामीः क्यान्सरको सम्भावना भएका बिरामीको ल्याप्रोस्कोपिक अप्रेरेशन गर्नु हुँदैन, किनभने यस्तो प्रविधिले कुनै पनि कुरा सिंगै निकाल्न मिल्दैन, फुटाएर र टुक्रा पारेर सानो बनाएर बाहिर निकाल्नुपर्ने हुन्छ, जस्ले गर्दा क्यान्सर बिरामीमा रोग अझै फैलिने सम्भावना हुन्छ।
• धेरै मोटो बिरामीलाई पनि दूरबिन पद्धतीबाट शल्यक्रिया गर्दा जटिलता आउन सक्छ। ल्याप्रोष्कोपिक गर्दा ग्यास मार्फत बिरामीको पेट फुलाएर प्वाल पारेर औजार भित्र छिराएर शल्यक्रिया गर्नुपर्ने हुन्छ त्यस कारण मोटो बिरामीमा अधिक बोसोका कारण प्वाल पारेर दूरबिन पद्धतीबाट शल्यक्रिया गर्दा कठिनाई उत्पन्न हुन सक्छ। साथै बिरामीलाई अप्रेशन गर्दा दिइने पोजिसनले पनि मोटो व्यक्तिलाई गाह्रो पार्न सक्छ।
• फोक्सो, मुटु र छातीसम्बन्धी रोगका बिरामीका लागि पनि त्यति उपयुक्त मानिदैन। यस्ता बिरामीमा दूरबिन पद्धतीको शल्यक्रियाले जोखिम बढाउने सम्भावना हुन्छ।
ल्याप्रोस्कोपिक अप्रेशनका फाइदाः
दूरबिन पद्धतीबाट गरिने शल्यक्रिया बिरामीका लागि निकै फाइदाजनक हो। चिकित्सकलाई तुलनात्मक रुपमा समय धेरै लाग्ने र कठिन हुने भए पनि बिरामीका लागि यो पद्धती अधिक सुविधाजक मानिन्छ । कुनै पनि बिरामीले शल्यक्रियामा दुखाई कम, सुरक्षित र छिटो निको हुने चाहना राखेको हुन्छ, त्यसैले दूरबिनबाट गरिने शल्यक्रियाले यी सवै कुराको सम्बोधन गर्ने हुँदा बिरामीका लागि यो प्रविधि निकै फाइदाजनक देखिएको छ।
यस्तो शल्यक्रियामा सानो प्वाल पार्ने हुँदा दाग देखिने पनि हुँदैन । तर यस्तो पद्धती सबै बिरामीमा सफल हुन्छ भन्ने हुँदैन कहिले काँही ल्याप्रोस्कोपिक सर्जरी गर्दा केही कठिनाई आए ओपन सर्जरीमा रुपान्तरण गर्नुपर्ने हुन्छ।
समग्रमा यसका मुख्य फाइदालाई निम्न बुँदामा उल्लेख गरिएको छ ।
• संक्रमण कम हुने
• न्युन रक्तश्राव हुने
• छिट्टै काममा फर्किन सकिने
• शल्यक्रियापछि हुन सक्ने हर्नियाको समस्याबाट मुक्ती
डा.नुतन शर्मा
प्रशूति तथा स्त्री रोग, टेष्ट ट्युव बेवी बिशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन