काठमाडौं- सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा १४ दिनको नवजात शिशुको ‘जटिल एवं दुर्लभ’ शल्यक्रिया गरिएको छ। नवजात शिशुमा देखिने जटिल एवम् दुर्लभ मानिने ‘कनजेनिटल डायफ्रामाटिक हर्निया’को शल्यक्रिया गरिएको अस्पतालले दाबी गरेको छ।
अस्पतालका अनुसार सिनामंगल गैरीगाउँका सरस्वती तामाङबाट जन्मिएको बच्चामा जन्मजात हर्नियाको समस्या देखिएको थियो।
चिकित्सकहरूका अनुसार बच्चाको पेट र छातीको बीचमा हुने ‘डायफ्राम’ मांसपेशीमा प्वाल थियो। पेट र छातीलाई छुट्याउने पत्र (डायफ्राम) मा प्वाल परेका कारण पेटभित्र रहनुपर्ने कलेजो, आन्द्रा, आमासय र फियो छातीमा पुगेको थियो। जसका कारण बच्चालाई श्वास फेर्न गाह्रो भएको थियो।
सामान्यतया ३७ हप्तामा बच्चा जन्मिने भए पनि सरस्वतीले ३५ हप्तामै छोरालाई जन्म दिएकी थिइन्।
थापाथलीको प्रसूति अस्पतालमा नर्मल डेलिभरी भएको सो बच्चालाई रेफर गरेर केएमसी पठाइएको थियो। केएमसीका बाल तथा नवजात शिशु सर्जन डा. आशिषलाल श्रेष्ठ नेतृत्वको चिकित्सकहरूको टोलीले बच्चाको सफलतापूर्वक शल्यक्रिया गरेको थियो।
‘डायफ्राम प्वाल परेर छातीमा पुगेको कलेजो, आन्द्रा, आमासय र फियोलाई शल्यक्रिया गरी पेटमा ल्याएर प्वाल टालेका छौं,’ डा.श्रेष्ठले भने, ‘यो निकै जटिल र दुर्लभ समस्या हो। अप्रेसन सफल भयो, अहिले बच्चाको स्वास्थ्य अवस्था राम्रो छ।’
यस्तो समस्या हुँदा विकसित हुँदै गएको फोक्सोको विकास क्रमलाई रोक्ने र श्वास फेर्न गाह्रो भएर बच्चाको ज्यान जाने जोखिम हुने उनले बताए। तर, अप्रेसन सफल भएर जोखिम टरेको उनले बताए।
अप्रेसनपछि नवजात शिशु विशेषज्ञ मानन्धरको प्रत्यक्ष निगरानीमा बच्चालाई दुई हप्ता अस्पतालमा राखिएको थियो। उनको स्वास्थ्य अवस्था सामान्य बनेपछि शुक्रबार डिस्चार्ज गरिएको छ।