नेपालमा पहिलोपटक २०४० सालमा मानसिक स्वास्थ्य सम्बन्धी बिरामी मात्र हेर्ने अस्पताल ललितपुरमा खोलियो।
त्यसबेला नेपालको जनसङ्ख्या डेढ करोडभन्दा केही मात्र बढी थियो। अहिले जनसङ्ख्या २०४० सालको तुलनामा दोबर भइसक्यो तर मानसिक अस्पताल देशभरमै त्यही एउटा छ।
शय्या पनि जम्मा ५० छन्।
जसका कारण भर्ना भएर उपचार गराउनु पर्ने बिरामीहरू मर्कामा पर्ने गरेको पाइएको छ।
दुर्गमबाट आएको बिरामीहरू खर्च सकिउन्जेल पनि पर्खिरहनुपर्ने पर्ने या त एउटा बिरामी भर्ना गराउन अर्कोलाई घर फर्काउनु पर्ने बाध्यता रहेको अस्पतालका निर्देशक डाक्टर मोहनराज श्रेष्ठले बताए।
“धेरै टाढाबाट आएका बिरामीलाई त फर्काउन सकिँदैन। त्यसैले जसोतसो व्यवस्थापन गरेर राख्छौँ। सधैँ यसरी सकिँदैन। हामीले निरन्तर शय्या सङ्ख्या बढाएर ३०० पुर्याउने माग गरिरहेका छौँ,” श्रेष्ठले भने।
अस्पतालको आकस्मिक कक्षमा जम्मा ३ वटा शय्या छन्। निकै गम्भीर वा आक्रामक अवस्थामा ल्याइएका बिरामीहरूका लागि ठाउँ व्यवस्थापन गर्न हम्मे हम्मे पर्ने बताइएको छ।
मानसिक अस्पताल, ललितपुर मानसिक रोगको उपचार केन्द्रित एक मात्र सरकारी अस्पताल हो। मनोसामाजिक समस्या भोगिरहेका बिरामीहरू उपचारका लागि देशको कुनाकाप्चाबाट यहीँ धाउँछन्।
बिरामको चाप धान्न नसक्ने शय्या सङ्ख्या, अपर्याप्त जनशक्ति र उपकरणहरूको अभाव मुख्य समस्या भएको अस्पतालका निर्देशक डाक्टर श्रेष्ठले बताए।
“वर्षौँदेखि समस्याहरू ज्युँका त्युँ छन्। हामी अस्पतालमा सेवा सुविधा बिस्तारका लागि माग गरिरहेका छौँ। अहिले जे जति छन् त्यतिले त यसलाई केन्द्रीय अस्पताल भन्न मिल्दैन। विशेषज्ञ चिकित्सकदेखि स्टाफ नर्ससम्मको अभाव छ,” श्रेष्ठले बीबीसीलाई बताए।
के हुन् त मुख्य समस्या?
यहाँ प्राय निजी अस्पतालमा खर्च गर्न नसक्ने वर्गका मानिसको घुइँचो लाग्छ। बहिरङ्ग सेवाका लागि मात्र दैनिक डेढ सयसम्म बिरामी धाउने श्रेष्ठले बताए।
उक्त सङ्ख्याका बिरामीहरू रोग पत्ता लगाउन प्रयोग गरिने म्याग्नेटिक रेजोनेन्स इमेजिङ (एमआरआई) गर्न समेत पाटन अस्पताल वा सिभिल अस्पताल धाउनु पर्ने बाध्यता छ। अस्पतालमा आधुनिक उपकरण जडान अर्को चुनौती हो।
“झन्डै चार दशक अघिको भौतिक संरचना र उपकरणहरू प्रयोग गरिरहेका छौँ। यो बिरामीहरूका लागि मात्र नभइ हामी चिकित्सकहरूका लागि पनि समस्याको विषय हो। त्यसैले बिरामीको उपचारमा मात्र ध्यान दिन पाएका छैनौँ। व्यवस्थापकीय पाटोबारे पनि सोच्नु पर्ने स्थिति छ,” अस्पतालका प्रवक्ता एवं मनोचिकित्सक डाक्टर अनन्तप्रसाद अधिकारीले बताए।
भौतिक संरचना र उपकरणहरू बाहेक अस्पतालमा जनशक्ति दरबन्दी पनि २०४० सालकै हो।
केन्द्रीय मानसिक अस्पतालमा ८ जना विशेषज्ञ डाक्टर छन्। तीमध्ये दुई जना करारमा खटेका हुन्। त्यस्तै १६ जनाको दरबन्दी रहे पनि जम्मा ११ जना नर्सहरू यहाँ कार्यरत छन्।
“दरबन्दी सङ्ख्या नै अपर्याप्त छ। त्यसमाथि दरबन्दीभन्दा पनि कम नर्स खटेका छन्। तत्काल साइक्याट्रिक नर्स खटाउनेबारे सोच्न त सम्भव नै छैन। जबकि मानसिक अस्पतालमा उनीहरूको उपस्थिति अनिवार्य हुनुपर्छ,” अधिकारीले भने।
केन्द्रीय मानसिक अस्पतालमा जम्मा एक जना मनोविद् छिन्।
श्रोत : बिबिसी
मनोविद्का लागि दरबन्दी नै छैन भन्नु 'अविश्वसनीय सुनिन्छ'। हाल त्यहाँ कार्यरत मनोविद् डाक्टर तृष्णा घोष विष्टलाई अस्पतालको विकास समितिले खटाएको हो।
आकस्मिक कक्षमा २४ घण्टा खटिने पारामेडिक्स पनि अपुग भएको उनले बताए। अस्पतालमा एमडी गरिरहेका आवासीय चिकित्सकहरू राउन्डमा खट्छन्।
“अपुग स्रोत र साधीबिच सेवा दिइरहेका छौँ। स्वास्थ्य मन्त्रालयसँग निरन्तर मागसमेत गरिरहेका छौँ। हाललाई कम्तीमा १०० वटा शय्या सङ्ख्या थप्न पाए ए पनि व्यवस्थापन केही सहज हुन्छ भन्ने आशा छ,” अधिकारीले बताए।
यस अस्पतालमा सबै खाले मानसिक बिरामीको एकै ठाउँमा राखेर जाँच गरिन्छ। अस्पतालमा फरक फरक मनोसामाजिक समस्या भएका बिरामीको लागि फरक विभाग नै छैन।
बालबालिका, लागु औषध प्रयोगकर्ता, दीर्घकालीन सेवा, कैद बन्दी आदिका लागि फरक विभाग हुनुपर्ने बताइन्छ।
तर, विशिष्टीकृत सेवा दिन भौतिक पूर्वाधार र दक्ष जनशक्ति अभाव भएको डाक्टरहरू बताउँछन्।
बजेटको प्राथमिकतामा छैन मानसिक अस्पताल
कुल बजेटको करिब १० प्रतिशत स्वास्थ्य क्षेत्रका लागि छुटाइएको छ। त्यसमध्ये मानसिक अस्पताललाई १ प्रतिशत पनि नपुर्याइएको निर्देशक श्रेष्ठको आरोप छ। जसका कारण कर्मचारीको तलबदेखि बिरामीको खाना खर्च जुटाउन समेत धौधौ परेको बताइएको छ।
अस्पताल बाहिरको सटर भाडादेखि हरेक साँझ सञ्चालन हुने ‘सशुल्क क्लिनिक’बाट सङ्कलित रकममा समेत निर्भर हुनुपर्ने प्रवक्ताले डा अधिकारीले बताए।
अभावबीच अस्पतालका डाक्टरहरूले वीर अस्पतालमा साताको दुई दिन आइतवार र बिहीवार मनोचिकित्सकीय सेवा दिँदै आएका छन्।
“मानसिक बिरामी आफ्नो लागि माग्न र बोल्न सक्दैनन्। हामीले उनीहरूका लागि माग गरिरहेका हौँ। सरकारले बुझ्छ र चाँडै प्राथमिकताको विषय बनाउँछ भन्ने आशा छ,” अधिकारीले भने।
यस्ता छन् पछिल्ला विकास क्रम
अस्पतालमा केही उपकरण र प्रयोगशाला स्थापित हुनुलाई भने सकारात्मक परिवर्तनका रूपमा व्याख्या गर्छन् डाक्टर अधिकारी।
दुई महिनाअघि देखि अस्पतालमा डिजिटल एकसरे मेसिन, चुम्बकीय तरङ्गहरूबाट उपचार गराउने पद्धति रिपिटेटिभ ट्रान्सक्रिप्ट म्याग्नेटिक स्टिम्युलेसन मेसिन, मानिसको शारीरिक र मानसिक स्थितिमा हुने परिवर्तन नियाल्ने बायोफिडब्याकलगायत उपकरण सञ्चालनमा आएको जानकारी दिए। त्यस्तै निन्द्रा सम्बन्धी समस्या अध्ययन गर्ने प्रयोगशाला समेत स्थापना भएको छ।
“बिस्तारै परिवर्तन भइरहेको छ। अब सरकारले केन्द्रीय अस्पताललाई विशिष्टीकृत गर्ने र हरेक प्रदेशमा मानसिक अस्पताल स्थापना गरे बिरामीहरूले भोक भोकै काठमाण्डूसम्म धाउने र उपचारको पालो कुर्ने दिनको अन्त्य हुने थियो,” डाक्टर अधिकारीले भने।
कस्ता छन् मानसिक स्वास्थ्यका लागि सरकारको योजना?
सरकारले दुई सयभन्दा बढी शय्या भएका अस्पतालले १० प्रतिशत शय्या मनोसामाजिक समस्या भएका बिरामीका लागि छुट्टाउनु पर्ने बताएका छन्। तर, वीर अस्पताल तथा शिक्षण अस्पतालजस्ता सरकारी स्वास्थ्य केन्द्रहरूले पनि मानसिक स्वास्थ्य समस्या भएका बिरामीको चाप धान्न नसकेको बताइन्छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले देशभरका १३ वटा सरकारी अस्पतालहरूमा मानसिक स्वास्थ्य अन्तरङ्ग सेवा सञ्चालन गर्ने योजना अघि बढेको जानकारी दिए।
उनले भने,”हामीले पूर्वमा मेची अस्पतालदेखि पश्चिममा डँडेलधुरा अस्पतालसम्ममा मानसिक स्वास्थ्य सेवा विस्तार गर्दै छौँ। अस्पतालहरूको नामावली र आवश्यक जनशक्तिको अनुसूची तयार भइसकेको छ।”
मन्त्रालयले नवौँ र दशौँ तहको सल्लाहकार मनोचिकित्सक, सातौँ तहको क्लिनिकल मनोविद्, सातौँ तहको मनोरोग नर्स र पाँचौँ तहको मनोविद् नर्स चाहिने बताएको छ।
प्रवक्ता पौडेलले भने,”मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर सेवा बिस्तार गर्न लागेका हौँ। केन्द्रीय मानसिक अस्पतालको स्तरोन्नतिका लागि पनि आवश्यक पहल गरिरहेका छौँ।”