काठमाडौं, कात्तिक ४ गते । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म कोभिशील्ड, भेरो सेल, जोन्सन एन्ड जोन्सन, जापानी आस्ट्राजेनेका र स्वीडिश आस्ट्राजेनेका खोप लगाइएको छ।
अनुदान सहयोगमा प्राप्त गर्नुबाहेक नेपालले भारतबाट कोभिशिल्ड र चीनबाट भेरो सेल खरिद पनि गरेको छ।
खोप अभियान सुरु भएयता कार्तिक ३ गतेसम्म डेढ करोडभन्दा बढी मात्रा खोप लगाइसकिएको छ।
स्वास्थ्य समन्वय महाशाखाका प्रमुख डा. विवेककुमार लालका अनुसार त्यसमध्ये ६१ प्रतिशत हिस्सा चीनमा उत्पादित भेरो सेलको रहेको छ।
त्यसबाहेक २९ प्रतिशत आस्ट्राजेनेका र १० प्रतिशत जोन्सन एन्ड जोन्सन खोपको हिस्सा रहेको छ।
नेपालले अनुदानमा सबैभन्दा बढी खोप चीनबाट भेरो सेल पाएको मन्त्रालयले जनाएको छ।
चीनले सुरुतिर १८ लाख मात्र अनुदानमा दियो भने अनुदानकै १६ लाख मात्र आउने क्रम जारी रहेको चिनियाँ दूतावासको विवरणमा छ।
त्यसपछि अर्को १० लाख मात्रा पनि अनुदानमा दिने चिनियाँ घोषणा छ।
केही दिनअघि मात्रै नेपालका परराष्ट्रमन्त्रीसँग भएको टेलिफोन वार्ताका क्रममा चिनियाँ विदेशमन्त्रीले अर्को २० लाख मात्र अनुदानमा दिइने घोषणा गरेका थिए।
त्यसबाहेक नेपालले चीनबाट एक करोड मात्रा खोप खरिद गरेको छ।