नेपालगञ्ज - बाँकेमा कोरोना संक्रमितको संख्या दिनानु दिन बृद्धि हुन थालेपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जिल्लामा वैशाख ९ गते देखि लकडाउन गर्ने निर्णय गरेको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेको मंगलबार बसेको बैठकले बाँकेमा तिव्र गतिमा चारैतिर फैलिरहेको कोरोनाको चेन तोड्नका लागि कम्तिमा एक साताको लकडाउन गर्नुपर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताए।
उनले एक दिनमा ३ सय भन्दा बढी संक्रमित थपिन थालेपछि नेपालगञ्ज लगायत जिल्लाका विभिन्न क्षेत्रहरु अतिनै धेरै जोखिममा परिसकेकोले अब लकडाउनको विकल्प नरहेको हुँदा बाध्य भएर लकडाउनको निर्णय गरिएको बताए ।
बैशाख ९ गते विहीबारदेखि एकसातासम्मका लागि अति आवश्यक सेवा बाहेक सबै क्षेत्र बन्द रहनेगरि लकडाउन गरिने निर्णय गरेर डिसीसीएमसीले प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेको हो ।
अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि बेड समेत अभाव भएपछि लकडाउन बाध्यकारी भएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।
पछिल्लो समयमा केही दिन यता आएर बाँके जिल्ला कोरोनाको हटस्पट बनेको छ । पहिलो पटक बाँकेमा एकैदिन ३२२ जना कोरोना संक्रमित भेटिएका छन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार गतवर्षदेखि हालसम्मकै दर हेर्दा बाँकेमा भेटिएका कोरोना संक्रमितको आँकडा अहिले सबैभन्दा उच्च हो ।
बाँकेका तीन वटा प्रयोगशालामा गरिएको ६३१ नमुना परीक्षणमा सोमवार एकदिनमा मात्रै ३२२ जना संक्रमित फेला परेका छन् । भेरी अस्पतालको ल्याबबाट २१९, बागेश्वरी ल्याबबाट ३७ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्याबबाट ६६ जना गरि ३२२ जनामा कोरोना पुष्टि भएको छ ।