पहिला कोभिड-१९ भएका तर अहिले स्वस्थ युवाहरूलाई यूकेमा योजनाबद्ध रूपमा कोरोनाभाइरसको सङ्क्रमण गरिने एउटा वैज्ञानिक अनुसन्धानमा सहभागी हुन आग्रह गरिएको छ।
यो महिनादेखि आरम्भ हुने उक्त अध्ययनमा संलग्न विज्ञहरू दोस्रो पटक कोरोनाभाइरसको सङ्क्रमण हुँदा शरीरको प्रतिरक्षा प्रणालीले कसरी सामना गर्छ भन्ने जान्न खोज्दैछन्।
उनीहरूको लक्ष्य अझ राम्रो उपचार खोज्नु तथा खोप बनाउनु हो। वेल्कम ट्रस्टले यो अध्ययनका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ।
यो अनुसन्धानका लागि १८ वर्षदेखि ३० वर्षसम्मका ६४ जना स्वयंसेवीहरूलाई १७ दिन अस्पतालमा छुट्टै राखिनेछ।
त्यहाँ उनीहरूलाई "सुरक्षित र नियन्त्रित परिस्थितिमा" चीनको वुहानमा फैलिएको कोरोनाभाइरसको प्रकारको संसर्गमा ल्याइनेछ।
चिकित्सकहरूको टोलीले ती सहभागीहरूको स्वास्थ्य स्थितिको निगरानी गर्नेछन्।
लक्षण
न्यून वा शून्य लक्षण उत्पन्न हुनेगरी कोरोनाभाइरस शरीरमा बस्न र सङ्ख्या विस्तार गर्न आवश्यक मात्रा अध्ययनको पहिलो चरणमा निर्क्योल गरिनेछ।
त्यो मात्रा प्रयोग गरी सहभागीहरूलाई दोस्रो चरणमा सङ्क्रमित गरिनेछ।
ग्रीष्मयाममा दोस्रो चरणमा अध्ययन आरम्भ हुने अपेक्षा गरिएको छ।
लक्षण देखिएका सहभागीहरूको एन्टिबडी विधिबाट उपचार गरिनेछ।
अरूलाई सङ्क्रमण गराउन नसक्ने अवस्थामा पुगेपछि मात्र उनीहरूलाई अस्पतालबाट घर जान दिइनेछ।
खोप र उपचारविधिमा सहयोग
यूनिभर्सिटी अफ अक्सफर्डसँग आबद्ध प्रमुख अनुसन्धानकर्ता प्रा. हेलन मक्शेनका अनुसार "च्यालेन्ज स्टडी" भनिने स्वस्थ मानिसलाई योजनाबद्ध रूपमा सङ्क्रमण गराएर गरिने यस्तो अध्ययनले अन्य अध्ययनले नभन्ने कुरा थाहा दिन्छ।
"किनभने आफैँ हुने सङ्क्रमणमा भन्दा यी अध्ययनहरू एकदमै नियन्त्रित हुन्छन्," उनले भनिन्।
"यी सहभागीहरूलाई पुनः सङ्क्रमित गराउँदा पहिलो पटक कोभिड हुँदा उनीहरूको प्रतिरक्षा प्रणाली कस्तो प्रतिक्रिया गरेको थियो, दोस्रो सङ्क्रमण कहिले हुन्छ तथा तिनमा कति भाइरस थियो भन्ने हामी ठ्याक्कै थाहा पाउँछौँ," उनले भनिन्।
प्राध्यापक मक्शेनका अनुसार यो अध्ययनले हाम्रो आधारभूत बुझाइ सुदृढ बनाउनुबाहेक मानिसहरू सुरक्षित छन् कि छैनन् भनेर पत्ता लगाउने परीक्षणहरूको प्रारूप बनाउन सघाउनेछ।
वरिक यूनिभर्सिटीका प्राध्यापक लरन्स यङ भन्छन्, "पूर्णतः नियन्त्रित अवस्थामा सङ्क्रमणबारे महत्त्वपूर्ण जानकारी लिन तथा खोपको प्रभावकारिताको परीक्षण गर्न ह्यूमन च्यालेन्ज अध्ययनको लामो इतिहास छ।"
यस्ता अध्ययनहरूबाट भाइरसले गर्ने सङ्क्रमण र प्रतिरोध प्रणालीको प्रतिक्रियाबारे हाम्रो बुझाइमा सुधार गर्न तथा खोप निर्माण र एन्टिभाइरल उपचारविधिका लागि महत्त्वपूर्ण जानकारी उपलब्ध हुन सक्ने उनको विश्वास छ।
बिबिसी