काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि आउने कोरोना संक्रमितको संख्या घट्दै गएपछि अस्पतालले ननकोभिडका बिरामीको उपचार गर्ने तयारी गरेको छ ।
पछिल्लो समय उपचारका लागि आउने कोरोना संक्रमितको संख्या घटेसँगै अस्पतालले नन कोभिडका बिरामीहरुको उपचारको तयारी गरेको अस्पतालका निर्देशक डा.अनुप बास्तोला बताउँछन् । २४ बेडको आइसियू क्षमता रहेको उक्त अस्पतालको आइसियूमा १० जना कोरोना संक्रमितको उपचार भइरहेको छ भने कूल १६ संक्रमितहरु अस्पताल भर्ना भएका डा.बास्तोला बताउँछन् ।
संक्रमण रोग विशेषज्ञ डा.बास्तोला भन्छन् -'अब भने सहज अवस्थातर्फ गएको भान भइरहेको छ।' यसको अर्थ संक्रमण जोखिम भने रहँदै नरहेको भन्ने होइन उनी थप्छन् । डा.बास्तोलाका अनुसार खोप लगाउने मानिसहको संख्या बढ्दै जानु तथा संक्रमित भइसकेकाहरुमा समेत एन्टीबडीको विकास हुनु जस्ता कारणले पछिल्लो समय नेपालमा कोरोना संक्रमण घट्दै गएको हो ।
अझै पनि कोरोनाको दोस्रो लहर सकिएको भन्दै ढुक्क हुने स्थिती भने रहेको छैन । खोप नलगाएका तथा जनस्वास्थ्यका मापदण्डको समेत पालना नगर्ने व्यक्तिहरु कोरोनाको जोखिम वर्गमा रहेको डा.बास्तोलाको दाबी छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार हालसम्म कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ मध्ये खोपको पहिलो मात्रा २८ दशमलव ३ प्रतिशत र २१ दशमलव ७ प्रतिशतले खोपको पुर्ण मात्रामा खोप लगाएका छन् । त्यस्तै, १८ वर्ष वा सो भन्दा माथिका लक्षित जनसंख्यामध्ये १ करोड ९९ लाख २२ हजार १६४ जनाले खोप लगाएका छन् , तीमध्ये ४३ दशमलव २ प्रतिशतले खोपको पहिलो मात्रा लगाएका छन् भने ३३ दशमलव १ प्रतिशतले खोपको पुर्णमात्रा लगाएका छन् ।
मन्त्रालयको अनुसार १५ वा सो भन्दा माथिका उमेर समुहकाले हालसम्म ३९ दशमलव ६ प्रतिशतले खोपको पहिलो मात्रा र ३० दशमलव ३ प्रतिशतले खोपको पुर्णमात्रा लगाएका छन् । खोप अभियान सुरु भएदेखि अहिलेसम्म कुल १ करोड ५२ लाख ३ हजार ५८३ जनाले खोप लगाएका छन् । कम्तीमा खोपको पहिलो मात्रा ८६ लाख ५ हजार ५५ जनाले लगाएका छन् ।
त्यस्तै, खोपको पहिलो मात्रा ६५ लाख ९८ हजार ५३० जनाले लगाएको मन्त्रालयले जनाएका छन् । नेपालले कोरोना भाइरसविरुद्धको कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, जापानी एस्ट्राजेनेका र स्वीडिस एस्ट्राजेनेका खोप खरिद गरेको छ ।