डा.प्रकाश बुढाथोकी
सिनियर कन्सल्टेन्ट एण्ड डेण्टल सर्जन प्रमुख
आँखा,नाक,कान,घाँटी तथा मुख स्वास्थ्य उपचारात्मक महाशाखा,स्वास्थ्य सेवा विभाग
मानिसले खानेकुरा निल्दा घाँटी चल्नेसम्मको भागलाई सामान्यतया मुख स्वास्थ्य भन्ने गरिन्छ।मुख स्वास्थ्यभित्र गालाको भित्री भाग, गिजाँ,ओठ,जिब्रो दातँ तथा मुख खोल्न तथा बन्द गर्नका लागि आवश्यक सम्पूर्ण अंगहरु मुख स्वास्थ्यभित्र पर्छ ।
मुख स्वास्थ्य स्वस्थ भएको खण्डमा मानिसको पुरै अंग नै स्वस्थ हुन्छ। खाने खाने अंग नै स्वस्थ नभएको अवस्थामा अन्य अंगहरुको स्वस्थ्य रहन्छन् भन्नु भ्रम मात्रै हो। जुन रोगका कारण मानिसले आफ्नो दैनिकीलाई थप अगाडि बढाउन सक्दैन त्यही रोगमात्रै मानिसको प्राथमिकता पर्ने गरेको छ।
नेपाल जस्तो अल्पविकसित मुलुकमा जुन रोगबाट मानिसको मृत्यु नै हुन्छ त्यस्ता रोगहरुको उपचार मात्रै प्राथमिकतामा पर्ने गरेको पाइन्छ ।पछिल्ला केही वर्ष यता भने मानिसहरु मुख स्वास्थ्यबारे पनि केही न केही रुपमा चेतनशील भएको हामीले पाएका छौं । दिनको दुईपटकसम्म दातँ माझ्ने,मजन छनौट,दातँलाई असर गर्ने खानेकुराहरुको कम प्रयोग गर्ने तथा केही समस्या आएमा उपचारमा जाने मानिसहरुको संख्या बढ्दो छ।
सरकारले बिरामीको मृत्यु नै हुने गम्भीर प्रकारका रोगहरुलाई प्राथमिकता राखेको पाइएको छ । त्यसकारण पनि मुख स्वास्थ्यले सरकारीस्तरबाट कम प्राथमिकता पाएको छ।तर विगत दुई वर्ष यता भने मन्त्रालय अन्तर्गत पनि मुख स्वास्थ्यको छुटै विभाग स्थापना गरिएको छ।यस हिसाबले भन्न सकिन्छ मुख स्वास्थ्यले पनि सरकारी स्तरबाट केही प्राथमिकता पाएको छ ।
यद्यपि सरकारले मुख स्वास्थ्यलाई अझै पनि अपेक्षाकृत प्राथमिकता राखेको भने छैन। मुख स्वास्थ्य सम्बन्धि अन्र्तराष्ट्रिय अभ्यासलाई हेर्ने हो भने केही मुलुकले यस क्षेत्रमा गरेका काम प्रशंसायोग्य नै छन्।विकसित मुलुकहरुको खानपान शैली,उच्च प्रतिव्यक्ति आय,तथा मुलुकमा निहित स्वास्थ्य सेवाको उपलब्धताका आधारमा मुख स्वास्थ्य प्राथमिकता परेको हो ।
तर केही अल्पविकसित मुलुकहरुको तुलनामा भने नेपालमा भएको यस क्षेत्रको प्रयास भने प्रशंसायोग्य नै छ भन्न सकिन्छ । केही भएको छ भन्ने भान भएतापनि गर्न बाँकी पनि धेरै नै छ। सरसफाइमा मात्रै ध्यान दिन सकेको खण्डमा मुख स्वास्थ्यसम्बन्धी ९० प्रतिशत रोगको न्यूनीकरण गर्न सकिन्छ। दातँ तथा मुख सम्बन्धि रोगको सुरुवातको समयमा यस रोगको उपचार महँगो छैन।रोगले जटिल रुप लिदैं जाँदा यसको उपचार महँगो हुने हो ।
साथै दाँतको उपचारका लागि चाहिने कुनै पनि सामान नेपालमा नबन्ने तथा विदेशबाट सामाग्रीहरु आयात गर्दो पनि पनि सरकारले कर छुट नगरेका कारण पनि उपचार महँगो भएको हो। विदेशसँग तुलना गर्दा भने नेपालको उपचार शुल्क थोरै नै मानिन्छ । केन्द्रीय तथा विभिन्न स्थानीय अस्पतालहरुमा अहिले दाँत सम्बन्धि विभिन्न सेवा उपलब्ध छ। मुख स्वास्थ्यमा आएको समस्याले अन्य रोगको समस्या पहिचान गर्नमा सहयोगी भूमिका खेल्छ।
मानिसले खाना खाने मुख नै अस्वस्थ भएमा शरीरका अन्य अंगहरुको स्वस्थ हुन्छन् भनी परिकल्पना गर्न सकिदैंन।यदि गर्भवती महिलाको मुख स्वास्थ्यमा समस्या छ भने बच्चा समय अगाडि नै जन्मन सक्ने जोखिमका साथै बच्चा शारीरिक तथा मानसिक रुपमा नै अस्वस्थ हुन सक्ने सम्भावना रहन्छ। दातँ तथा मुखमा भएको फोहोर रक्तनलीहरुमा मिसिन गई मुटु तथा मृगौलासम्बन्धि रोगहरु समेत लाग्न सक्छ। सबैभन्दा पहिला मुख स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रमहरु तल्लो तहसम्म लैजानका लागि स्थानीय निकायलाई सक्रिय भूमिका दिनु आवश्यक हुन्छ।
नेपाल सरकारले स्थानीय निकायमा यसको प्रभावकारी प्रभाव पार्न नसकेसम्म लागि कार्यक्रमहरु केन्द्रबाट नै सञ्चालन गर्ने सोच बनाएको छ।यस्ता जनचेतनामुलक कार्यक्रम सञ्चालनका लागि नेपाल सरकारले प्रदेश सरकारसँग सहकार्य पनि गरेको छ ।गत वर्षदेखि नेपाल सरकारले मुख स्वास्थ्य सम्बन्धि विभिन्न जनचेतनामुलक सूचना दिने कार्यको थालनी गरिसकेको छ।प्रत्येक ६ महिनामा परीक्षण गरेकोमा खण्डमा मुख सम्बन्धि रोग लाग्न सक्ने अवस्था नै आउँदैन।