काठमाडौं । एचआइभी संक्रमणको मुल कारण हो– कण्डमको प्रयोग विना नै यौन सम्पर्क । नेपालका कूल संक्रमितमध्ये ७७ प्रतिशतमा यही कारण एचआईभी भएको पाइएको छ ।
नेपाली बजारमा वार्षिक तीन करोडभन्दा बढीको कण्डम खपत हुन्छ । एचआईभी /एड्स, हेपाटाइटिस बी, हेपाटाइटिस सीसहित यौनजन्य रोग रोक्ने भएकाले यौनसम्पर्कका बेला कण्डमको प्रयोग आवश्यक भएको चिकित्सक बताउँछन् ।
कण्डमको प्रयोगले अहिले बढिरहेको अनिच्छित गर्भ र गर्भपतन पनि रोक्न सहयोग पुग्छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले एचआईभी बढ्नुको कारण कण्डमको प्रयोग न्यून हुनु रहेको जनाएको छ ।
नेपालमा कन्डमको आयात गर्दा कर छुट छ । कर छुट हुने भएकोले पनि नेपालमा गुणस्तरहीन कण्डम भित्रिने गरेको बिज्ञ बताउँछन् । नेपालमा पाइने कतिपय कण्डममा उत्पादन र म्याद सकिने मिति उल्लेख नगर्ने भएकाले गुणस्तरीयतामा विश्वस्त हुने अवस्था नरहेको सर्वसाधारण बताउँछन् ।
आवश्यक मात्रामा प्रयोग गर्नुपर्ने लुब्रिकेन्ट तथा अन्य पदार्थको मात्रा नमिलेको खण्डमा पनि कण्डम गुणस्तरहीन हुन्छ । तर, यस्तो मात्रा जाँच गर्ने निकाय नेपालमा छैन । आइवीवीएस सर्भेअनुसार एचआइभी तथा यौनरोग सर्न सक्ने जोखिममा रहेका यौनकर्मी, उनीहरूका ग्राहक, पुरुष समलिंगी, तेस्रो लिंगी, सुईबाट लागुपदार्थ लिने व्यक्तिमा कन्डम प्रयोग गर्ने व्यवहारमा पछिल्लो समय केही सुधार आएको देखिन्छ ।
बिभिन्न यौनरोगसहित एचआइभी संक्रमण कम गर्नका लागि कन्डमको सहज र सुलभ उपलब्धता तथा पहुँच हुनु आवश्यक छ ।