विश्वभरमा रहेका मुटुरोगीहरुको संख्यालाई हेर्ने हो भने वर्षैनी १ करोड ७० लाख मानिसहरुको मृत्यु कारण बनेको छ मुटु रोग । यही अनुपातमा मुटु रोगीहरुको संख्या बढ्दै जाने हो सन् २०३० सम्ममा २ करोेड ३० लाख मानिसहरुको मृत्युको कारण मुटु रोग बन्न सक्छ ।
नेपाल लगायत विश्वकै तथ्यांकलाई हेर्ने हो भने नसर्ने रोगहरुमध्ये सबैभन्दा बढी मानिसहरुको मृत्युको कारण मुटु रोग बनेको छ । वर्तमान समयमा उमेर ढल्किएका मानिसहरु मात्रै नभई युवा पुस्तामा समेत मुटु रोगीहरुको संख्या बढ्दै जानु एक चुनौतीको रुपमा नै देखा परेको छ । मुटु रोगको वर्तमान अवस्था,कारणहरु रोकथामका उपाय तथा उपचारविधी लगायतका विषयमा केन्द्रित भएर वरिष्ठ मुटु रोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीसँग लक्ष्मी चौलागाईं गरेको कुराकानीको एक अंश:
मुटु रोगीहरुको वर्तमान अवस्था कस्तो छ ?
मुटु रोगीहरुको संख्या बढ्दै गएको अवस्था अहिलेको यथार्थ अवस्था हो । तर, विकसित मुलुकहरुमा घट्दो अवस्थामा रहेको मुट रोग नेपाल जस्तो अल्पविकसित देशहरुमा भने यस्ता रोग बढिरहेका छन्। विकसित मुलुकहरुले स्वास्थ्य प्रतिको सजगता तथा रोग रोकथामका क्षेत्रमा गरेका प्रयास प्रशंसायोग्य छन् ।
त्यसकारण विकसित मुलुकहरुमा मुटु रोगीहरुको संख्या घट्ने अवस्थामा पुगेको हो । डेनमार्क, स्वीडेन, नर्वे, अमेरिका जस्ता मुलुकहरुमा वर्तमान अवस्थामा मुटु रोगीहरुको संख्या घट्ने क्रममा रहेको छ । तर, नेपालजस्तो अल्पविकसित मुलुकहरुमा भने मुटुरोगीहरुको संख्या बढ्ने क्रममा रहेको छ। मध्यम आर्थिक अवस्था भएका नेपालजस्ता मुलुकहरुमा यस मुटु रोगको अवस्था भयावहरुपमा रहेको छ ।
आर्थिक अवस्था न्यून भएका मुलुकहरुमा भने अहिले पनि सरुवा रोग,कुपोषण जस्ता समस्याहरु व्याप्त छ । नेपाल लगायत मध्यम आर्थिक अवस्था भएको मुलुकहरुमा भने सरुवा रोग नभई नसर्ने रोगको समस्या व्याप्त छ । मुटुको रोगको कारण अन्य नसर्ने रोगहरु लाग्ने सम्भावना पनि त्यतिकै रहन्छ ।
जस्तै क्यान्सर डाइविटिज लगायतका रोगहरुलाई मुटु रोगको रिक्स फ्याक्टर पनि भन्ने गरिन्छ । जस्तै डाइबिटिजका कारण मुटु रोग, मृगौलामा समस्या, उच्च रक्तचाप, कोलेस्ट्रोल , जस्ता स्वास्थ्य समस्याहरु देखिन सक्छन् । धुम्रपान ,मद्यपान,खानपान लगायतका कुराहरु मुटु रोगका जोखिम तत्वहरु हुन् । मुटु रोगका विविध कारणहरु छन् । त्यसमध्ये खानपान एक महत्वपूर्ण कारण हो ।
त्यस्तै धुम्रपान तथा मद्यपान,व्यायामको कमी,जंकफुडको अत्याधिक प्रयोग जस्ता मानवीय व्यवहारले दिन प्रतिदिन मुटुरोगीहरुको संख्या बढिरहेको छ । मुटु रोगलाई नियन्त्रण गर्नका लागि शारीरिक व्यायाम महत्वपूर्ण मानिन्छ।
मानिसको शरीरलाई दैनिकरुपमा कति व्यायाम आवश्यक पर्छ ?
सातामा ५ दिन दैनिक ३० मिनेटको दरले मुटुको लागि आवश्यक पर्ने एरोबिक एक्ससाइज अर्थात् हिँड्ने, खेलकुदमा भाग लिने, उफ्रने लगायतका शारीरिक व्यायाम गरेको खण्डमा केही मात्रामा मुटु रोग लाग्ने जोखिमलाई कम गराउन सकिन्छ ।त्यस्तै खानामा फाइबरको मात्रा बढी भएको खानेकुराहरु जस्तै हरियो सागपात, गेडागुडी, फलफुल लगायतका खानेकुराहरुलाई बढी मात्रामा समावेश गर्न सकेको खण्डमा यस्ता खानेकुरा मुटु मैत्री बन्छन् ।
कार्बोहाइट्रेट बढी भएका खानेकुराहरु जस्तै आलु, चामल, चिनी लगायतलाई खानामा कम मात्रामा समावेश गर्नाले पनि मुटुमैत्री भोजन बन्छ ।माछा मासुको प्रयोग सन्तुलित मात्रामा गर्न सकेको खण्डमा त्यसले मुटुमा कुनै पनि हानि पुर्याउँदैन । मासुजन्य पदार्थहरुको सन्तुलन मिलाएर खाँदा त्यस्ता भोजन पनि मुटुमैत्री हुन्छन् ।
सकेसम्म मासुजन्य पदार्थहरुको प्रयोग गर्दो रेड मिटलाई घटाएर ह्वाइट मिटको प्रयोग धेरै गर्नोले त्यो मुटुमैत्री हुन्छ । हप्तामा दुई दिन मासुजन्य पदार्थको प्रयोग स्वास्थ्यका लागि लाभदायी मानिन्छ ।
मुटु रोगको जोखिम घटाउनका कस्ता खानेकुराको प्रयोग बढी मात्रामा गर्नुपर्ने हुन्छ ?
तारेको खानेकुरा साथै जंकफुडको अत्याधिक प्रयोग मुटुका लागि हितकर मानिदैंन ।आजकल जंकफुड मानिसको दैनिक बनिसकेको छ जसले दिनप्रतिदिन मुटु रोगको जोखिम बढाइरहेको छ । बढी मात्रामा चिल्लो,नुनिलो तथा गुलियो खानेकुराले मुटु रोगको जोखिम बढाएको छ।
नेपालमा कस्ता –कस्ता प्रकारको मुटु रोग बढी मात्रामा देखिएको छ?
नेपालमा देखा परेको मुटु रोगलाई तीन प्रकारमा विभाजन गर्न सकिन्छ ।केटाकेटीमा देखिने मुटु रोग, जसलाई जन्मजात मुटु पनि भनिन्छ । स्कुल जाने उमेरका बालबालिकामा देखिने मुटु रोग,यस्ता मुटु रोगलाई बाथ मुटु रोग पनि भन्ने गरिन्छ । यसप्रकारको मुटु रोग घाँटीको टन्सिल पाक्दाँ उपयुक्त औाषधि उपचार नपाएको कारणले लाग्छ। यस प्रकारको मुटु रोग ५देखि १५ वर्ष उमेर समुहका बालबालिकामा बढी मात्रामा लाग्छ । त्यसैगरी वयस्कहरुमा लाग्ने मुटु रोगको अर्को प्रकार हुन्छ।
यस्तो रोग जीवनशैलीसँग सम्बन्धित हुन्छ यसमा उच्च रक्तचाप ,कोलेस्ट्रोल ,हृदयघात लगायतका रोगहरु पर्ने गर्छन्।वर्तमान समयमा जीवनशैली बिग्रिएका कारण जीवनशैलीसँग सम्बन्धित रोगहरु एकदमै बढिरहेको अवस्था छ । उपचारको सुविधा,सहरीकरण तथा आधुनिक जीवशैलीका कारण यस प्रकार मुटु रोगहरुको संख्या बढिरहेको छ । भने उपचार सुविधाका कारण बाथ मुटुरोगीहरुको संख्या भने घटिरहेको अवस्था छ ।
कतिपय मुटुरोगहरु वंशाणुगत हुन्छन् जस्तै बुबा आमामा हृदयघात को समस्या छ भने छोराछोरीमा सर्ने सम्भावना बढी हुन्छ । जीवशैलीका कारण हुने मुटुरोगहरुमा उच्च रक्तचापको समस्या करिब ३३ प्रतिशत वयस्कहरुमा,कोलेस्टोर २५ प्रतिशतमा, तथा डाइबिटिज् १० प्रतिशतमा रहेको आकंलन गरिएको छ।काठमाडौं उपत्यकामा दैनिक १५–२० जनामा हृद्यघात हुने गरेको विभिन्न अस्पतालहरुको पछिल्लो तथ्यांकले देखाएको छ । मानिसको आहार,व्यवहार तथा मानसिक तनावका कारण मुटु रोगीहरुको संख्या बढेको हो।
कस्ता व्यक्तिहरुमा मुटु रोगको जोखिम धेरै हुन्छ ?
जन्मजात हुने मुटु रोग बाहेक खराब जीवनशैलाी अपनाउने अधिकांश मानिसहरुमा मुटुरोगको जोखिम बढ्दै गएको छ । खानपानमा सर्तक नहुने,धुम्रपान तथा मद्यपान बढी मात्रामा गर्ने,शारीरिक अभ्यास नगर्ने,मानसिक तनाव बढी भएका व्यक्तिहरु मुटु रोगको उच्च जोखिममा रहने गर्छन् ।महिला या पुरुषको हिसाबले भन्नुपर्दो भने महिनावारी हुने माहिलाहरुमा महिनावारी नहुने महिलामा भन्दा मुटु रोगको जोखिम केही कम हुने गर्छ ।तर अन्य हिसाबले भन्नुपर्दो भने महिला या पुरुष दुवैमा मुटु रोगको जोखिम उतिनै मात्रामा छ ।
मुटु रोगको उपचारलाई नेपाल र विश्वमा कसरी तुलना गर्न सकिन्छ ?
अहिले मुटु रोगको उपचारको क्षेत्रमा नेपालले पनि विश्वका अधिकाशं उपलब्धि हासिंल गरिसकेको छ । मनमोहन, गंगालाल जस्ता नेपालका अस्पतालले प्रदान गर्ने मुटुरोग सम्बन्धि उपचार सेवा अन्तराष्ट्रियस्तरको छ ।
यी अस्पतालहरुबाट मुटुका ९० प्रतिशत रोगहरुको उपचार पाउन सकिन्छ । मु्टु नै फेर्नुपर्ने अवस्था आयो भने अहिलेसम्म त्यस्तो सेवा भने नेपालले दिन सकेको छैन । मुटुका केही जटिल प्रकारका सर्जरी ,केही प्रकारका जीन थेरापी,स्टीम सेल थेरामीका लागि भने अझै विदेश धाउनुपर्ने अवस्था भने कायमै छ । नेपालका अस्पतालहरुमा पाइने मुटु रोगको उपचार विश्वको तुलना कैयौं गुणा सस्तो छ ।
छिमेकी मुलुक भारतसँगको तुलना गर्ने हो भने मुटु रोगको उपचारमा नेपालको सेवा दुई गुणा सस्तो छ। नेपालमा भएको स्वास्थ्य बिमा कार्यक्रम,सरकारले १५ वर्ष मुनिका बालबालिकाको र ७५ वर्ष माथिका नागरिकहरुको ,महिलाहरुको बाथ मुटु रोगको निशुल्क उपचार गर्ने व्यवस्था ,विपन्न वर्गलाई दीर्घ रोगको क्षेत्रमा १ लाख रुपैयाँ उपचार खर्च दिने व्यवस्था जस्ता विभिन्न कार्यक्रमहरुको आधारमा भन्न सकिन्छ विकसित मुलुकभन्दा पनि नेपालको उपचार सुविधा कैयौं गुणा राम्रो छ ।
मुटुलाई कसरी सुरक्षित राख्ने ?
धूमपान तथा मद्यपान नगर्ने, नियमित शारीरिक व्यायाम गर्ने, तनावमुक्त रहने, सकभर बाहिरको खानेकुरा नखाने, फलफूल तथा तरकारीको मात्रा बढी खाने, नुन कम खाने, चिल्लो तथा बोसोयुक्त खानेकुराको सेवन कम गर्ने गरेमा मुटुरोगबाट बच्न सकिन्छ । दैनिक खानेकुरामा ध्यान दिएमा ८० प्रतिशतसम्म मुटुरोगबाट बच्न गर्न सकिन्छ ।