काठमाडौं– नेपालमा करिब डेढ वर्ष पछि कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १० हजार भन्दा तल झरेको छ ।
२०७७ वैशाख ८ मा सक्रिय संक्रमित ८ हजार ६५९ रहेकोमा त्यसपछि लगातार बढ्दै सक्रिय संक्रमित संख्या २०७८ को जेठ ११ गते १ लाख १७ हजार २६१ जना पुगेको थियो । त्यसपछि भने घट्दै सक्रिय संक्रमित संख्या पछिल्लो २४ घण्टामा ९ हजार ५२६ जना रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९७।४ प्रतिशत पुगेको छ । पछिल्लो समय थप ९११ जना संक्रमणमुक्त भएका छन् । तर दसैंपछि काठमाडौं उपत्यका लगायत केहि स्थानमा भने कोरोना संक्रमित हुनेको संख्या फेरि बढ्न थालेको मन्त्रालय र विज्ञहरुले बताइरहका छन् ।
देशभर पछिल्लो २४ घण्टामा थप ३७२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय सात हजार ९११ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप ११ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ३९९ पुगेको मन्त्रालयको तथ्याङ्क छ ।