डा.प्रकाशराज रेग्मी
वरिष्ठ मुटु रोग विशेषज्ञ
मुटुबारे थुप्रै अज्ञानता र भ्रमहरु रहेको पाइन्छ । मुटुका सम्बन्धमा रहेका कतिपय भ्रम तथा अज्ञानतालाई हटाउन आवश्यक छ । मुटु तथा यससँग सम्बन्धित विभिन्न रोगबारे रहेका केही भ्रमहरुबारे म स्पष्ट पार्न चाहन्छु ।
प्रत्येक मानिसले हरपल घड्किने मुटुलाई धेरै नै महत्व दिइरहेका हुन्छन् । मुटुबारे अध्ययन गरेका बाहेक ९९ प्रतिशत मानिसहरुलाई मुटु कहाँ हुन्छ भन्ने ज्ञान समेत छैन ।
मुटु छातीको बायाँतर्फ छ भन्ने आम धारणा रहेको छ जुन गलत हो । वास्तवमा यही भ्रमका कारण कतिपय मानिसहरुले अकालमा ज्यान गुमाइरहेका हुन्छन् । हुद्यघात हुँदा छातीको बायाँतर्फ पीडा हुन्छ भन्ने धारणा छ । तर छातीको बीच भागमा पीडा हुँदा भने ग्यास्ट्रिकको समस्या भएको भन्ने आम धारणाका कारण धेरै मानिसहरुको मुटु रोगका कारण मृत्यु भइरहेको हुन्छ । यसकारण मुटु छातीको बीच भागमा रहेको हुन्छ भन्ने जान्न आवश्यक छ । मुटुको तीन चौथाई भाग छातीको बीच भागमा हुन्छ ।
त्यस्तै चिल्लो पदार्थ मुटुका लागि हानिकारक छ भन्ने आम मानिसको धारणा रहेको छ । घिउ खाएर हृदयघात हुन्छ भन्ने आम धारणा रहेको छ जुन गलत हो । तर वास्तविकता त्यो होइन । हामीले खाने गरेको चिल्लो पदार्थबाट कोलेस्ट्रोल हुने सम्भावना १० देखी २० प्रतिशत मात्र हुन्छ । ८० देखी ९० प्रतिशत चिल्लो मानव शरीरले राम्रोसँग पचाउन सक्छ । शुद्घ घिउ तथा तेलले शरीरलाई आवश्यक मात्रामा पौष्टिक तत्व प्रदान गरिरहेका हुन्छन् । दैनिक एक चम्चा घिउ खानु मुटु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।
जंग फुडहरु चाउचाउ, बिस्कुट,दालमोठ ले भने मुटुमा विभिन्न प्रकारका समस्या आउने गर्छ । यस्ता पदार्थहरुमा रहेको रहेको चिल्लो विषाक्त हुन्छन् । घिउलाई तताएर खानेकुराहरु फ्राइ गरेर खाएको खण्डमा भने त्यो घिउ हानीकारक हुन्छ । सेल रोटी,पुरी, समोसा,पकौडा पकाउँदा धुवाँ आउने गरी घिउ तताएमा त्यो हानीकारक चिल्लो पदार्थ बन्छ । पटक पटक तताएमा घिउको चिल्लो हानीकारक चिल्लो बन्छ ।
कार्बोहाइट्रेड,फ्याट र प्रोटिन तीनै तत्वहरु हाम्रो शरीरलाई आवश्यक पर्छ । यी तीनै तत्वहरुबाट एक एक तिहाई शक्ति हाम्रो शरीरलाई आवश्यक छ । हाम्रो शरीर तथा नसाहरुले राम्रोसँग काम गर्नका लागि शरीरमा चिल्लो पदार्थको पनि आवश्यकता पर्छ । मानिसको शरीरलाई दैनिक १८०० क्यालोरी आवश्यक पर्छ भने चिल्लो पदार्थले ६०० क्यालोरी दिनुपर्ने हुन्छ । प्रशोधित कार्बोहाइट्रेडयुक्त खाना मैदा,मसिनो चामल,आलु,लगायतका पदार्थहरुको बढी मात्रामा प्रयोग मुटुका लागि हानीकारक मानिन्छ ।
आजकाल धेरै मानिसहरुले सुर्यमुखीको तेल १०० प्रतिशत कोलेस्ट्रोल फ्रि छ र त्यसले मुटुलाई फाइदा गर्छ भन्दै सुर्यमुखीको तेल प्रयोग गर्ने गरेको पाइन्छ । शुद्ध तोरीको तेलको प्रयोग सर्यमुखीको तेलको तुलनामा १०० गुणा फाइदाजनक छ ।
ब्लड प्रेसरको रोग लागेपश्चात् औषधिको सेवन सकेसम्म गर्नु हुँदैन । ब्लड प्रेसरको औषधिले किड्नी तथा कलेजोमा असर गर्छ तथा एकपटक प्रयोग गरेपश्चात् जिन्दगीभर खानुपर्छ भने अज्ञानता तथा भ्रम नेपाली समाजमा रहेको पाइन्छ । कतिपय अवस्थामा ब्लड प्रेसरको लक्षणबिना नै मानिसहरुले औषधि सेवन गर्न चाहदैनन् यसका कारण किड्नी फेल हुने समस्या आउँछ । ब्लड प्रेसरको औषधिले किड्नीलाई बिगार्छ भन्ने धारणा शत प्रतिशत गलत छ । ब्लड प्रेसरको औषधिले किड्नीलाई हान्ने होइन यदि ब्लड प्रेसर बढी नै रह्यो र यसलाई नियन्त्रण गर्न सकिएन भने त्यसले किड्नीमा असर गर्ने हो।