- डा. अनिल यादव
काठमाडौं- रमजान इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण चाड हो । मुसलमानहरुको सबैभन्दा पवित्र महिना रमजान महिना अप्रिल २५ देखी शुरु भएको छ। रमजानको पालना इस्लामको ५ वटा स्तम्भ मध्ये एक हो । विश्वभरका मुस्लिमहरु पुरा महिना व्रत (रोजा) बस्छन्। नेपालमा रहेका मुस्लिमहरुले पनि रोजा बस्ने गर्छन् ।
कुरानमा वर्णन गरे अनुसार रमजानको पवित्र महिनाको अवधिमा दिर्घ रोगहरु जस्तै मधुमेह भएका केहि व्यक्तिहरु वाहेक सवै स्वस्थ्य वयस्क मुस्लिमहरु रोजा बस्नु अनिवार्य हुन्छ। यस अवधिमा दिर्घ रोगीहरु लगायत केहि व्यक्तिहरुलाइ रोजा बस्न छुट दिइएको भएतापनि धेरै मुस्लिम मधुमेह रोगीहरु पनि रोजा बस्ने गर्छन् ।
रमजानको महिनामा जिवनशैलीमा हुने परिवर्तन तथा मधुमेहको औषधि सेवनमा हुने परिवर्तनको कारण व्रतले शरीरमा हुने मेटाबोलिजममा पनि गढबडि ल्याँउछ । त्यसैगरी मधुमेह विरामीमा हृदय, मृगौला र अन्य जटिलता हुदाँ मधुमेहका बिरामीहरु रोजा बस्दा जोखिम बढ्न जान्छ। त्यसकारण सुरक्षित रोजा सुनिश्चित गर्नको लागी मधुमेह विरामीहरुले रोजा राख्नु अघि चिकित्सक र धार्मिक सल्लाह लिनुपर्छ।
विश्वभरी १५ करोड भन्दा बढी मुस्लिमहरु मधुमेहका बिरामी छन्। नेपाल जनगणना २०११ कोअनुसार नेपालमा १० लाख मुस्लिमहरु छन् तर मधुमेह लागेका मुस्लिमहरुको जनसंख्याको कुनै तथ्याङ्क छैन। स्वस्थ्य व्यक्तिहरुले रोजा राख्दा शारीरिक फाइदाहरु पनि हुने गर्छन् ।
रोजा राख्दा हुने शारीरिक लाभहरु
शरीरको वजन कम हुन्छ
ग्लुकोजको नियन्त्रण हुन्छ
बोसोको मात्रामा सुधार हुन्छ
रक्तचाप नियन्त्रण हुन्छ
प्रतिरोधात्मक क्षमतामा बृद्धि हुन्छ
शरीर भित्रको विषाक्त पदार्थ बाहिर निस्कन्छ
रमजान को समयमा मधुमेह विरामीहरुमा हुने जोखिमहरु
रगतमा ग्लुकोजको अत्याधिक मात्रा कम हुनु (हाइपोग्लाइसीमिया)
रगतमा ग्लुकोजको अत्याधिक मात्रा बढी हुनु (हाइपरग्लाइसीमिया)
शरीरमा पानीको मात्रा अत्याधिक कम हुनु (जलवियोजन हुनु)
टाइप १ मधुमेह विरामीहरुको रगतमा एसिड (किटोनबडि) जम्मा हुनु
जोखिम कम गर्न के गर्नुपर्छ ?
रोजा बस्ने निर्णय गर्नु भन्दा ६/८ हप्ता अगाडी चिकित्सक र धार्मिक सल्लाहको अधारमा जोखिमको मुल्याङ्कन गर्नपर्छ ।
“‘अन्तराष्ट्रिय मधुमेह महासंघ ( आइ डि एफ)’ र ‘मधुमेह र रमजान (डि ए आर) ’ अन्तराष्ट्रिय गठबन्धन (आइ डि एफ डि ए आर)” मा रमजानको समयमा रोजा बस्न चाहने मधुमेह विरामीहरुलाइ ३ जोखिम समुहमा वर्गिकृत गरिएको छ। यसलाइ इजिप्टको मोफ्टिले अनुमोदन गरेको छ। धेरै उच्च जोखिम मधुमेह विरामीले रोजा राख्नै मिल्दैन।
उच्च जोखिम मधुमेह विरामीले रोजा राख्नु हुदैन।
मध्यम र कम जोखिम मधुमेह विरामीले चिकित्सकको सल्लाह अनुसार रोजा राख्न मिल्छ।
मधुमेह विरामी र परीवारिक सदस्यहरुले निम्न कुराहरुको वारेमा जानकारी राख्नु पर्छः
स्वस्थ्य पोषण
नियमित व्यायाम
औषधि र मात्रा को समायोजन
नियमित ग्लुकोजको जाँच
रगतमा अत्यधिक कम ग्लुकोज (हाइपोग्लाइसीमिया) हुदाँ देखिने लक्षणहरु
रोजा तोड्न मिल्ने अवस्थाहरु
रमजानको समयमा भोजनको योजना
शरीरलाइ दैनिक आवश्यक पर्ने क्यालोरीलाइ सेहरी र इफ्तार को बिचमा सहि मात्रामा विभाजन गरी सेवन गर्नुपर्छ।
अत्यधिक फाइवरयुक्त खाना खानुपर्छ।
फलफूल, तरकारीहरु र सलादहरु प्रशस्त मात्रामा खानुपर्छ।
सुर्यास्त र सुर्योदयको विचमा प्रशस्त तरल पदार्थ पिउनुपर्दछ।
गुलियो तरल पदार्थ, मिठाइ तथा क्याफिनयुक्त तरल पदार्थको सेवन गर्नुहुदैन।
इफ्तार
तरल पदार्थहरू अन्तर्गत नरिवल पानी र कागती पानी (चिनी नभएको), अमिलो फल को रस १ गिलास
कुनै एक गुलियो फल (१/२ भाग)
मुरी, चिउरा र नूडल्स १ कप
पियाजी १ पिस
उमालेको छोला १/२ कप, चप – १ पिस, कबाब १/२ पिस
काक्रो, अमिलो फलको रस, नरिवल पानी इच्छा अनुसार
बेलुकाको खाना
रोटी २ र चामल १/१.५ कप (१२०/१८० ग्राम)
माछा, मासु र अण्डा १ पिस
तरकारी, सलाद ईच्छा अनुसार
दाल १ कप
सेहरी
चामल २ कप (२५०/३०० ग्राम)
माछा र मासु २ पिस
तरकारी, सलाद ईच्छा अनुसार
दाल १ कप
दूध १ कप
रमजानको समयमा व्यायाम
रोजाको समयमा कठोर व्यायाम गर्नुहुदैँन । किनभने यसले गर्दा रगतमा ग्लुकोजको मात्रामा अत्याधिक कमि हुनुको साथै शरीरमा पानीको मात्रा (जलवियोजन) अत्याधिक कम हुन सक्छ ।
तारावीह प्रार्थनामा गरिने शारीरिक श्रमलाई दैनिक व्यायामको भागको रूपमा मान्न सकिन्छ ।
खाना खाएको १र२ घण्टा पछि व्यायाम गर्न सकिन्छ ।
रमजानको बेला औषधिको समायोजन तथा परिमार्जन
औषधिको मात्रा, समय वा औषधिको प्रकार समायोजन तथा परिमार्जनको बारेमा आफ्नो चिकित्सकसंग सल्लाह गर्नुपर्छ ।
रमजानको समयमा ध्यान दिनुपर्ने कुराहरु
कुरानले स्पष्ट रूपमा भनेको छ कि यदि कुनै विरामी छ भने “छुटेको रोजा (ब्रत) अर्को समयमा पुरा गर्नुपर्दछ” किनकि अल्लाह तपाईको लागि सहजता चाहन्छन् र तपाईलाई कठिनाइमा राख्न चाहदैनन ।
मधुमेह बिरामीहरू खानेकुरा तथा औषधिको समुचित प्रयोग बारे शिक्षित नभएमा रोजा राख्ने अवस्थामा विभिन्न प्रकारका जोखिमहरूमा हुन्छन् किनकि तिनीहरू एकल वा बहु औषधि वा इन्सुलिन प्रयोग गरिरहेका हुन्छन् जसले हाइपोग्लाइसीमिया वा हाइपरग्लाइसीमिया निम्त्याउन सक्छ।
मधुमेह बिरामीहरूले कुनै पनि शारीरिक रोगमा रोजा तोड्नु पर्ने हुन सक्छ। यो सिफारिस इजिप्टको मोफ्टीद्वारा अनुमोदित छ, जुन इजिप्टको सर्वोच्च धार्मिक नियामक प्राधिकरण तथा विश्व प्रसिद्ध इस्लामिक शैक्षिक संगठन अल अजहरको विद्वान हो।
प्रत्येक मधुमेह बिरामी जसले रोजा राख्न चाहन्छन् आफ्नो रगतमा ग्लूकोजको मात्राको अनिवार्य रुपमा स्वयं अनुगमन गर्नुपर्छ र यसरी रगतमा ग्लूकोजको परिक्षण गर्दा रोजा धार्मिक रुपमा अवैध हुदैन भनि जोड दिनुपर्छ।
रगतमा ग्लूकोजको मात्राको अनुगमन
इफ्तारको अघि
इफ्तार, रातीको खाना र सेहरीको २ घण्टा पछि
मध्य दिन
यदि कम वा उच्च रगत ग्लूकोजको लक्षण छ भने वा अस्वस्थ महसुस भएमा कुनै पनि समय
रोजा तोड्न मिल्ने अवस्थाहरु
रगतमा ग्लूकोजको मात्रा <70 mg/dl (3.9 mmol/l) भएमा
रगतमा ग्लूकोजको मात्रा श्रघण्ण् >300 mg/dl (16.7 mmol/l) भएमा
अस्वस्थ महसुस भएमा
रगतमा ग्लूकोजको मात्रा अत्यधिक कमि भई पसिना आउने, चक्कर लाग्ने, हृदयको गति बढने लगायतका लक्षणहरु देखिएमा
अन्य अत्यधिक पखाला लागे बान्ता भए, ज्वरो आउने जस्ता समयमा
के गर्दा रोजा टुट्दैन ?
रगतबाट ग्लूकोज परिक्षण गर्दा
इन्सुलिन इन्जेक्सन लिदाँ
रमजान समाप्त भएपछि ध्यान दिनुपर्ने कुराहरु
इद, उल र फितरको समयमा अत्यधिक खानाहरू (विशेष गरी मिठाइ) खानुहुदैन । किनकि यसले उच्च रक्त ग्लुकोज निम्त्याउन सक्छ।
औषधिको मात्रा, समय वा औषधिको प्रकार समायोजन तथा परिमार्जनको बारेमा चिकित्सक संग सल्लाह लिनुपर्छ ।
रमजानको समयमा हाइपोग्लाइसीमिया वा हाइपरग्लाइसीमिया को घटनाहरू भएको थियो भने रमजानको अर्को बर्षको योजना बनाउदा बिशेष सावधानी अपनाउनुपर्छ ।
(डा.अनिल यादव मधुमेह, थाइरोइड र हर्मोन विशेषज्ञ हुन् । उनी विराट मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत छन् । )