आयुर्वेद आयु तथा र्वेद गरी दुईवटा शब्दबाट बनेको छ ।जसमा आयु भनेको जीवन अर्थात् मानिसको जन्मदेखी मृत्यसम्मको समय हो । र्वेद भनेको ज्ञान हो । आयुको बारेका ज्ञान दिने शास्त्रलाई नै आयुर्वेद भनिन्छ । अन्य विधाहरुमा जस्तै आयुर्वेदमा पनि विभिन्न तहको शिक्षा हुन्छ । यसमा पिएचडीसम्मको पढाइ हुन्छ । मेरो बुझाई ,सोचाई र अनुभवका आधारमा भन्ने हो भने आयुर्वेद चिकित्साशास्त्र एक परिपक्व, मानव कल्याणकारी विधा हो । संसारको कुनै पनि चिकित्साशास्त्र आयुर्वेद चिकित्साशास्त्र जति उपयोगी छैन ।
आयुर्वेद चिकित्साशास्त्र र हिन्दु संस्कृति एक अर्कोमा अन्तर सम्बन्धित छन् । आयुर्वेद चिकित्सा शास्त्रले मानिसका दिनचर्यालाई व्यवस्थित बनाएका हुन्छन् । यसले मानिसलाई कुन समयमा सुत्ने,उठ्ने,खाना खाने, सही तरिकाबाट पानी कसरी पिउने,कुन समयमा कुन खानेकुरा खाने तथा नखाने लगायतका कुराहरुको सुक्ष्म तथा वैज्ञानिकपूर्ण ज्ञान समेत दिने गरेको छ । जुन अन्य शास्त्रमा दिदैंन। जस्तै उदाहरणका लागि भन्ने हो भने एलोपेथिक उपचारले दुध पिउनु मानिसका लागि फाइदाजनक छ भन्छ। तर आयुर्वेदिक उपचार विधी गाईको दूध,भैंसीको दूध तथा ब्राखाको दूधको भिन्न भिन्नै महत्व रहेको कुरालाई स्पष्ट पारिदिन्छ ।
आयुर्वेद चिकित्साका अनुसार यदि कुनै मानिसमा निन्द्राको समस्या छ भने उक्त मानिसलाई गाई र ब्राखाको दुध दिनु उपयुक्त हुँदैन । उसलाई भैंसीको दूध दिनुपर्ने हुन्छ । त्यस्तै पखाला लागेको व्यक्तिलाई भैंसीको नभई ब्राखाको दूध दिनुपर्ने हुन्छ । त्यस्तै पाचनशक्ति कमजोर भएका मानिसहरुले कालो दाल खानु हुँदैन त्यस्ता व्यक्तिहरुले मृगुको दाल खानुपर्छ । आयुर्वेद चिकित्साशास्त्रले अस्तित्वमा ल्याएको योगाभ्यासलाई एलोपेथिक चिकित्साले त्यति स्वीकार गरेको पाइदैंन र तर विश्व स्वास्थ्य संगठनले भने योगको महत्वलाई स्वीकार गरिसकेको अवस्था छ ।
आयुर्वेद चिकित्सामा मानिसहरुको विश्वास अझै पनि नहुनुमा केही कारणहरु छन् । जसअन्तर्गत औषधिको गुणस्तरीयताको कुरा गरौं । औषधि उत्पादक कम्पनीहरुले स्वास्थ्यका हिसाबले भन्दा पनि व्यापारिक हिसाबले औषधिको उत्पादन गरिरहेका हुन्छन् । कुनै पनि बिरामीको रोग निको हुनुमा मुख्यतया ४ पक्षहरुबीच अन्तरसम्बन्ध रहेको हुन्छ । जसमा डाक्टर,औषधि,डाक्टरका सहयोगी,तथा बिरामी पर्छन् । जसमा डाक्टर र औषधिको भूमिका बढी रहन्छ । डाक्टर अनुभवी हुनुपर्छ भने औषधि गुणस्तरीय हुनु आवश्यक छ । कुनै पनि चिकित्साशास्त्र असफलमा हुनुको कारण पनि यी दुई मध्ये एक पक्ष कमजोर हुनु नै हो ।
नेपालमा करिब ७०० भन्दा बढीको संख्यामा आयुर्वेद चिकित्सकहरु रहेका छन् । आयुर्वेदमा विशेषज्ञता हासिंल गरेका चिकित्सकहरुको संख्या मात्रै १०० भन्दा बढी भइसकेको छ । एलोपेथिक उपचार विधीले बिरामीको रोग छिटो निको हुन्छ भने आयुर्वेदले ढिलो मात्रै रोग निको हुन्छ भन्ने आम धारणा छ त्यसमा सत्यता छैन । कुनै कुनै रोगको उपचार आयुर्वेदिक उपचार विधीबाट गर्दो छिटै निको हुने गरेका पनि छन् । एलोपेथिक औषधिहरुमा विभिन्न प्रकारका केमिकलहरुको प्रयोग गरिने भएकोले यस्ता औषधिहरुले छिटो काम गर्छन् । आयुर्वेदिक औषधिहरु प्राकृतिक विधीबाट तयार गरिने भएकोले यसले रोग निको पार्नका लागि विस्तारै काम गर्ने र रोगको दीर्घकालीन समाधान खोज्ने गर्छ ।
मानिसहरुमा आयुर्वेदिक शिक्षाबारेको ज्ञान हुँदा हुँदै पनि एलापेथिकको तुलनामा यसबाट कमै आम्दानी हुने भएकाले आयुर्वेद शिक्षा अध्ययनमा मानिसहरुको आकर्षण कम भएको पाइन्छ । आयुर्वेद चिकित्सकको तुलनामा एलोपेथ चिकित्सकहरुले बढी पैसा कमाउने भएकोले मानिसहरुको पहिलो रोजाइमा एलोपेथ परेको हो । पढाईमा लागतको कुरा गर्नुपर्दो भने एलोपेथको तुलनामा आयुर्वेद चिकित्साको लागत कम छ । एलोपेथ तथा आयुर्वेद दुवै विधा अध्ययनका लागि आवश्यक समयावधि भने एउटै हो । पढाई खर्च भने शिक्षण संस्था अनुसार फरक–फरक छ ।
हाल भएका सेवा सुविधालाई नै व्यवस्थित गर्ने योजनामा सिंहदरबार बैद्यखाना रहेको छ । हामीले दिने गरेको परामर्श सेवालाई सुधार गर्नुपर्ने देखिएको छ । त्यसको तयारी हामीले गरि रहेका पनि छौं । हामी छठ लगतै पूर्वाधार तयार गरी परामर्श सेवालाई व्यवस्थित बनाउने छौं । यहाँ सानातिना स्वास्थ्य समस्या डिप्रेसन, माइग्रेन , बाथदेखि लिएर क्यान्सर, बाँझोपना जस्ता जटिल रोगका बिरामीहरु समेत उपचारका लागि आउने गरेका छन् । लामो समयसम्म एलोपेथिक उपचार गराएका बिरामीहरु आयुर्वेद उपचार विधीलाई परीक्षण गर्नका लागि पनि यहाँ आउने गरेको पाइन्छ । त्यस्तै आयुर्वेद शिक्षाबारे ज्ञान भएका बौदिक वर्ग पनि उपचारका लागि यहाँ आउने गरेका छन् । जस्तै ग्यास्ट्रिक,जन्डिस,पायल्स जस्ता रोगहरुमा आयुर्वेदिक औषधि राम्रो मानिने कारण त्यस्ता रोगका बिरामीहरु बढी मात्रामा उपचारका लागि यहाँ आउने गरेका छन् ।
इमर्जेन्सी बाहेकका रोगहरुमा आयुर्वेदिक औषधी नै प्रयोग गर्नका लागि म सल्लाह दिन्छु । कुनै पनि स्वास्थ्य समस्या आएमा पहिलोपटक आयुर्वेदमा नै उपचार गराउनका लागि पनि म सल्लाह दिन्छु । पहिलो पटक नै उपचारमा आएका बिरामीहरुमा रोगको मात्रा कम हुने भएकोले बिरामी चाँडै नै निको हुने सम्भावना रहन्छ । एलोपेथिक उपचारबाट निको नभएर आयुर्वेद उपचारमा बिरामी लाग्ने भएकोले पनि आयुर्वेद चिकित्सा एलोपेथिक भन्दा कम नतिजामुखी भएको हो ।