पोषणविद प्रा. डा मनसा थापा ठकुराठी
तिहार भन्नेबितिकै मिठाईको पर्वका रुपमा लिइन्छ । यसको भिन्नै महत्व रहेको हामी पाउँछौं । तिहारको मुख्य खानेकुराको रुपमा सेल रोटी तथा मिठाईहरुको प्रयोग हुने गरेको छ ।
तिहारमा प्रयोग हुने यस्ता खानेकुराको मात्रा भन्दा पनि खानेकुराहरु कसरी बनाइएको छ भन्ने कुराले त्यसबाट हुने हानीको आकंलन गर्न सकिन्छ । त्यस्ता खानेकुराहरु कसरी बनाइएको हो, तेलको प्रयोग कति मात्रामा र कति पटकसम्म गरिएको छ,भन्नेले त्यस्ता मिठाईको प्रयोगले स्वास्थ्यमा हानी गर्छ या गर्दैन भन्ने निर्धारण गर्छ ।
अझै पनि सेल रोटी र मिठाई बनाउँदा चिल्लो पदार्थको प्रयोग धेरै नै गर्नुपर्छ भन्ने परम्परागत सोचाईका कारण घरमा बनाइने यस्ता परिकारहरुमा बढी मात्रामा चिल्लोको प्रयोग गर्ने चलन रहेको छ । पहिलेका मानिसहरुले सेल रोटी तथा मिठाई बनाउँदा तेलको नभई घिउको प्रयोग गर्ने प्रचलन थियो जुन स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । घिउमा बनाइएको सेल रोटीले तेलमा बनाइएको भन्दा स्वास्थ्यलाई कम हानी गर्छ ।
तेलमा सेलरोटी तथा मिठाई बनाउँदा तेल तातो भएपछि त्यसले चाँडै नै नकारात्मक असर गर्छ भने तेलको तुलनामा घिउमा नकारात्मक असर आउन समय लाग्छ । त्यसैले सेलरोटी तथा मिठाई बनाउँदा घिउको प्रयोग गरिनु राम्रो मानिन्छ । तर पटक-पटक प्रयोग गरिएको तेल तथा घिउ दुवै स्वास्थ्यका दृष्टिकोणले हानीकारक मानिन्छ ।
नेपालीहरुमा मिठाई खाने प्रचलन बढेसँगै मानिसहरु बजारीया मिठाईमा बढी मात्रामा भर पर्ने गरेका छन् । बजारमा जभाबाभी रुपमा बेच्न राखिएका मिठाईहरु बढी मात्रामा मिसावटयुक्त हुने भएकोले यसले स्वास्थ्यमा प्रतिकूल असर गर्छ । त्यस्ता मिठाईहरुमा प्रयोग हुने तेल तथा विभिन्न रंगहरु स्वास्थ्यका लागि हितकर मानिदैंनन् । साथै बजारका मिठाईहरु बासी समेत हुने गर्छ ।
त्यसकारण बजारिया मिठाइ भन्दा तिहारको समय आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुको पर्व भएकाले मिठाई पनि दाजु भई दिदीबहिनी मिलेर नै बनाउन म सल्लाह दिन्छु । त्यसरी बनाइएको मिठाई गुणस्तरीय तथा स्वादिलो हुनुका साथै स्वास्थ्यका लागि हितकर मानिन्छ ।
त्यस्तै तिहारमा चिल्लो खानेकुराहरुलाई कम प्राथमिकता दिनुपर्छ । सकेसम्म तेलको कम प्रयोग तथा एकपटक मात्रै तताएको तेलको प्रयोग गर्नुपर्ने हुन्छ । स्वस्थ व्यक्तिका लागि तिहारको समयमा केही मात्रामा बढी चिनीको प्रयोगले खासै असर गर्दैन । तर सुगरका रोगीहरुले भने चिनीको प्रयोग गरिएका खानेकुराहरु खादाँ अनिवार्य रुपमा रगतको परीक्षण गर्नुपर्ने हुन्छ । तर उचित जीवनशैली भएको स्वस्थ व्यक्तिले एक दुई दिन चिनीको प्रयोग केही बढी गर्दो उसलाई खासै असर गर्र्दैन । तिहारको समयमा बढी मात्रामा गुलियो तथा चिल्लो खानेकुरा खादैंमा मोटाइन्छ भन्ने सोच छ भने त्यो गलत हो । तर अन्य समयमा शारीरिक व्यायाम तथा सन्तुलित खानाको भने आवश्यकता छ ।
तिहारमा बालबालिकाको खानपान
बालबालिकाहरुको खानपान विशेष खालको हुनु आवश्यक छ । तिहारको समयमा बच्चाहरुलाई मिठाईमाथि भने नियन्त्रण आवश्यक छैन । दशैं तिहार जस्ता चाडपर्वहरुमा बालबालिकालाई बढी मात्रामा बजारिया पेय पदार्थहरु कोकाकोला,फेन्डा तथा विभिन्न प्रकारका जुसहरु दिने प्रचलन छ त्यो भने गलत हो । बजारबाट ल्याइएका विभिन्न प्रकारका चकलेटहरुको प्रयोग गर्नुका सट्टा आफ्नै घरमा बनाइएको मिठाई दिनु बाल स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ ।
तिहारमा प्रयोग हुने भाइ मसालाका महत्व
भाइटीकामा दाजुभाइलाई उपहारका रूपमा भाइमसला दिने प्रचलन रहेको छ । तिहारमा विशेषगरी भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि काजु, किसमिस, ओखर, बदाम, चकलेट, सुपारी, नरिवल, मखनलगायतका मसाला दिने चलन छ ।
दाजुभाईका लागि दिइने मसलाहरु स्वास्थ्यका लागि पनि निकै उपयोगी मानिन्छ । तिहारमा प्रयोग हुने भाई मसलाको प्रयोगले शारीरिक विकासका साथै रोगसित लड्नसक्ने क्षमता समेत वृद्धि गर्ने साथै कोलेस्ट्रोल समेत नियन्त्रण गर्न सक्छ ।