कोभिड-१९ विरुद्धको खोप बालबालिकालाई अनिवार्य गर्ने विश्वकै पहिलो मुलुक कोस्टारिका बनेको छ । बालबालिकालाई नियमित दिइने खोपको सूचीमा कोभिड-१९ विरुद्धको खोप पनि राखिएको छ ।
सन् २०२२ को मार्चबाट १२ वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाउन आवश्यक खोपको व्यवस्था गर्न कोस्टारिकाले खोप निर्माता फाइजरसँग सम्झौता नै गरेको छ ।
गत साता अमेरिकाको स्वास्थ्य सम्बन्धी नियामक निकायले ५ वर्षदेखि ११ वर्षका बालबालिकालाई कोभिड विरुद्ध फाइजर खोप दिन अनुमति दिइसकेको छ ।
कोस्टारिकाले फाइजरसँग ३५ लाख मात्रा खोप लिने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको छ । त्यस मध्ये १५ लाख डोज ५ देखि ११ वर्षका बालबालिकाका लागि छुट्याइनेछ ।
बाँकी खोप यस अघि नै पूर्ण खोप लगाएका असक्त र जेष्ठ नागरिकलाई तेस्रो डोज दिइने जनाइएको छ । कोस्टारिकामा खोप दिन योग्य उमेरका ५५ प्रतिशत नागरिकले पूर्ण खोप लगाइसकेका छन् ।-