काठमाडौं । उपत्यकाका विभिन्न अस्पतालहरुको पछिल्लो तथ्यांकले युवा मानसिक रोगीहरुको संख्या बढ्दै गएको देखाएको छ । काठमाडौं उपत्यकाका प्रमुख सरकारी अस्पतालहरुको पछिल्लो तथ्यांकले युवा मानसिक रोगीहरुको तथ्यांक बढेको देखाएको हो ।
महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा आउने युवा मानसिक रोगीहरुको संख्या पछिल्लो समय बढ्दै गएको उक्त अस्पतालका मानसिक रोग विशेषज्ञ डा.सरोज ओझा बताउँछन् । उनी भन्छन् अस्पतालमा दैनिक २०– २५ को संख्यामा मानसिक रोगीहरु आउने गरेका छन् जसमध्ये १० –१५ को संख्यामा युवाहरु हुन्छन् ।
वेरोजगारी, युद्ध घरायसी तनावलगायतका कारणले युवा पुस्तामा मानसिक रोगीहरुको संख्या बढ्दै गएको त्रिभुवन शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सरोज ओझा बताउँछन् । यसका साथै जाँडरक्सी तथा चुरोट खैनीजस्ता पदार्थहरुको अत्याधिक मात्रामा प्रयोग गर्ने युवा जमातमा पनि मानसिक रोगको समस्या विकराल रुपमा देखा परेको डा.ओझाको तर्क छ
मानसिक रोगीहरुलाई कडा खालका मानसिक रोगी तथा नरम खालका मानसिक गरी दुई भागमा वर्गीकरण गरिन्छ । वर्तमान समयमा कडा खालका युवा मानसिक रोगीहरुको संख्या अत्याधिक मात्रामा बढेको पाटन मानसिक अस्पतालका निर्देशक डा. मोहनराज श्रेष्ठ बताउँछन् । उनका अनुसार वर्तमान समयमा मानसिक रोगको उपचारका लागि मानसिक अस्पताल पाटन आउने अधिकांश युवा जमात रहेको छ ।
मानसिक रोगअन्तर्गत डिप्रेसनको समस्या पुरुषभन्दा महिलाहरुमा बढी मात्रामा देखिएको छ । जीवनमा अभाव बढी हुनु ,कूलत, बेरोजगारी, देखासिकी, निद्रा नलाग्नुलगायतका कारणले मानिसहरु युवावस्थामै मानसिक रोगको सिकार हुने श्रेष्ठ बताउँछन् ।उनका अनुसार सहरी भन्दा ग्रामीण क्षेत्रका युवा बढी मानसिक रोगको शिकार बनेका छन् ।युवाहरुमा मानसिक समस्या देखिएपनि त्यसको उपचार गराउनुपर्छ भन्ने ज्ञानको भने अभाव छ ।
उनीहरु आफूलाई मानसिक रोग लागेको स्वीकार नै गर्दैनन् । मानसिक रोगी भन्ने बित्तिकै समाजले दिने नकारात्मक धारणाका कारण युवा मानसिक रोगीहरु आफ्नो रोगबारे खुल्न नचाहेको डा।श्रेष्ठको तर्क छ ।प्रेम सम्बन्ध आकस्मिक रुपमा छुट्नु, कुनै पनि निकट व्यक्तिको आकस्मिक रुपमा हुने मृत्यु जस्ता कारणले कतिपय युवाहरु मानसिक रोगको शिकार हुन पुगेका छन् ।
नेपालका मानसिक रोगीहरुमा विशेषगरी चार प्रकारका समस्याहरु देखा परेका छन् । जसमा उदासीनता, विक्षिप्तता हिस्टोरियार छारेरोगजस्ता समस्याहरु पर्छन् । कतिपयलाई वंशानुगत कारणले नै मानसिक समस्या देखापर्छ । त्यस्ता मानसिक रोगीहरुको भने उपचार सम्भव नरहेको डा.श्रेष्ठ बताउँछन्।
गत महिनामात्रै मानसिक रोगको परीक्षणका लागि पाटन मानसिक अस्पतालमा ३ हजार ७ सय ६५ बिरामी आएको डा।श्रेष्ठ बताउँछन् । जसमध्ये १ हजार ८ सय १३ महिला तथा १ हजार तथा १ हजार ९ सय ५२ पुरुष रहेका थिए ।
परिवारको पालनपोषण तथा आर्थिक बोझका कारण पनि युवापुस्तामा मानसिक रोग बढ्दै गएको त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ डा.ओझा बताउँछन् ।
वर्तमान समयमा मानसिक रोग विश्वव्यापी रुपमा देखिएको छ । विश्वमा करिब २० देखि २५ प्रतिशत मानिसमा मानसिक समस्या देखिएको उनले बताए । चेतना तथा सेवा सुविधाको अवस्था बढ्दै गएको वर्तमान अवस्थामा उपचारका लागि आउने मानसिक रोगीहरुको संख्या बढ्दै गए पनि मानसिक रोगीहरुको संख्यामा भने कमी नआएको उनको भनाइ छ ।उनका अनुसार युवापुस्तामा बढेको मानसिक समस्याको कारण राजनीतिक अस्थिरताले सिर्जना गरेको वेरोजगारी र आर्थिक अभाव पनि एक हो ।
वैदेशिक रोजगारीमा गएका युवाहरु घरपरिवारबाट टाढा रहनुले पनि मानसिक समस्या निम्त्याएको उनी बताउँछन् । यसका साथै बढी मात्रामा अल्कोहलयुक्त पदार्थको सेवनले समेत युवामा मानसिक रोग देखिएको ओझाको तर्क छ ।