डा. रविन्द्र पाण्डे
नेपालमा दोस्रो लहर निकै घातक रह्यो । हामीकहाँ दोस्रो लहर डेल्टा भेरिएन्टको कारण आएको हो । अहिलेसम्मका कोरोना भाइरसका प्रजातिमध्ये डेल्टा भाइरस धेरै संक्रामक र घातक मानिन्छ । खोप तथा संक्रमणको कारण हामी ६८ % मा एन्टिबोडी बनेको NHRC को अध्ययनले पुष्टि गरेको छ ।
-अहिले रुस लगायत युरोपमा फैलिएको मुख्य प्रजाति डेल्टा हो । जुन हामी कहाँ गतसाल नै फैलिएको थियो । युरोपमा बेटा भेरिएन्ट ( B1351 ) पनि फैलिएको छ । बेटा भेरिएन्टभन्दा डेल्टा निकै संक्रामक र घातक छ । जाडो महिनामा युरोपमा डेल्टा र यसको म्युटेसन B.1.1617.2 ले झन्डै ५ लाख मान्छेको मृत्यु हुनसक्ने WHO ले चेतावनी दिएको छ ।
– रुसमा दैनिक एक हजारको हाराहारीमा मृत्यु भएको छ । त्यसको मुख्य कारण त्यहाँका नागरिक खोपमा अनिच्छुक हुनु, सरकारले खोपलाई तीब्र गतिमा संचालन नगर्नु तथा जनस्वास्थ्यका मापदण्डप्रति जनता उदासिन हुनु बताइएको छ । रुसमा ३२ % जनसंख्याले मात्र खोप लगाएको छ ।
– चीनको एउटा सहरमा २३ जना संक्रमित देखिएपछि सरकारले लकडाउन गरेको छ । पुरै देशमा लकडाउन भएको हैन ।
– नेपालमा चलायमान ठूलो जनसंख्याले खोप लगाएको छ । खोपको दायरा बढ्दै छ । बालबालिकाको खोप आउने चरणमा छ । मास्कको प्रयोग बढेको छ । डेल्टा भेरिएन्ट गतसालभन्दा कमजोर देखिएको छ । संक्रमणको मुहान भारतमा संक्रमण घटिरहेको छ । भारतमा खोप अभियान तीब्र छ । आकासबाट आउँदा पिसिआर रिपोर्ट अनिबार्य छ । तसर्थ अहिले हामी धेरै हदसम्म सुरक्षित छौं ।
– हामी कहाँ तेस्रो लहर कहिले आउँछ त ?
कोरोना भाइरसको म्युटेसन भएर शक्तिशाली प्रजाति देखा पर्यो भने, भारतमा महामारी बढ्यो भने, खोप कार्यक्रम तीब्र भएन भने तथा हामीले जनस्वास्थ्यका मापदण्ड पालनामा लापरबाही गर्यौं भने मात्र तेस्रो लहरको सम्भावना छ । अन्यथा छिट्टै तेस्रो लहर आउने लक्षण देखिएको छैन । तेस्रो लहर आयो भने पनि दोस्रो लहरजस्तो घातक हुँदैन । सबैले खोप लगाऔं, मास्क सहि तरिकाले लगाऔं अनि आफ्नो काम गरौँ ।