काठमाडौं । पाटन मानसिक अस्पतालमा ७ जना साइक्याट्रिक्स कार्यरत्त छन् । अस्पतालमा साइक्याट्रिक्सहरुको कूल दरबन्दी संख्या नौ रहेकोमा ७ जना मात्रै कार्यरत्त रहेको मानसिक अस्पताल पाटनका निर्देशक डा.मोहनराज श्रेष्ठ लाखे बताउँछन् ।
कूल ५० बेड संख्यामा सञ्चालित् मानसिक अस्पतालकै दरबन्दीमा रहने गरी नेपाल सरकारले एक जना साइक्याट्रिक्सलाई भरतपुर अस्पतालमा खटाएको भने अर्कोलाई बुटवल प्रादेशिक अस्पतालमा खटाएको छ । मानसिक अस्पतालमा दरबन्दी रहेका जनशक्ति अन्यत्र नै कार्यरत्त रहँदा अस्पतालको सेवा प्रवाहमा समस्या आएको निर्देशक श्रेष्ठ बताउँछन् । मानसिक अस्पतालमा साइकोलोजिष्टको दरबन्दी हुनुपर्ने हो तर अहिलेसम्म पनि मानसिक अस्पतालमा एक जना पनि साइकोलोजिष्टको दरबन्दी छैन । पाटन मानसिक अस्पतालले आन्तरिक स्रोतबाट एक जना साइकोलोजिष्ट राखेको बताउँछन् निर्देशक डा.श्रेष्ठ ।
नयाँ दरबन्दी संख्या कायम गर्नुपर्ने प्रस्ताव अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लिखित रुपमा नै गरिसकेको छ । तर नयाँ ओएनएम सर्भे गरेर मात्रै सरकारी अस्पतालहरुमा दरबन्दी थप गर्ने सरकारको नीतिका कारण अस्पताललाई कार्य सम्पादनमा समस्या तथा चुनौती थपिएको छ । सरकारी स्तरबाट नै खासै चासोका रुपमा नरहेको मानसिक स्वास्थ्य क्षेत्रमा कोरोना महामारी पश्चात् भने सरकारले केही चासो देखाएको स्वीकार्छन् निर्देशक श्रेष्ठ ।
कोरोना महामारी पश्चात् नरम खालका मानसिक रोगीहरु जस्तै एन्जाइटी तथा डिप्रेसनका बिरामीहरुको संख्या बढेकोले पनि मानसिक स्वास्थ्यबारे सरकारको चासो बढेको उनी बताउँछन् । कूल ५० बेड संख्यामा सञ्चालन हुँदै आएको मानसिक अस्पताल पाटनको बेड संख्या १०० हुनुपर्ने डा.श्रेष्ठको माग छ । उनी भन्छन् त्यसको जानकारी हामीले नेपाल सरकारलाई गराइसकेका छौं तर त्यसका लागि त जनशक्ति व्यवस्थापन तथा भौतिक संरचनाको विस्तार पनि महत्वपूर्ण हुन्छ ।
मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा नपरेकै कारण कायम गरिएको दरबन्दीमा भन्दा पनि ५० प्रतिशत मात्रै जनशक्ति यहाँ कार्यरत्त छन् । नेपालमा साइक्याट्रिक्सहरुको संख्या करिब २०० को हाराहारीमा पुगिसक्यो तर पनि जनशक्ति व्यवस्थापनमा सरकारले चासो देखाएको छैन ।
३५ वर्ष अघिकै दरबबन्दी कायम
३५ वर्षअघि मानसिक अस्पताल स्थापना हुँदा ५० शैया थियो, जसमध्ये तीन वटा इमर्जेन्सीमा छुट्याइएको छ । अहिलेसम्म पनि अस्पतालले बेड सङख्या बढाउन सकेको छैन ।
दैनिक ३ सय बिरामी पुग्ने अस्पतालमा जम्मा १६ जना नर्सको दरबन्दी छ । यो दरबन्दी पनि २०४० सालकै हो ।
मानशिक अस्पतालले उपलब्ध गराएको तथ्यांक अनुसार एघारौं तहको चिकित्सकको ३ वटा दरबन्दी छ । कन्सलटेन्ट साइक्याट्रिकको ६ वटा दरबन्दी रहेकोमा १ जना मात्र कार्यरत छन् । ६ जना मेडिकल अधिकृतको दरबन्दी छुट्याइएपनि ३ जना मात्र कार्यरत छन् । कुल ७४ दरबन्दी मध्ये २६ खाली नै छ ।
११ जना रेजिडेण्ड चिकित्सकको भरमा अस्पताल चलिरहेको छ ।
बिरामीको चाप बढेर सेवा दिन गाह्रो भएपछि अस्पतालले एक वर्षअघि ‘ओएनएम’ सर्भे पनि गराएको थियो । अस्पतालको बेड सङख्या कम्तिमा ३ सय हुनुपर्ने, नर्स १६० र नर्सिङ अधिकृत ५२ जना चाहिने देखियो । डाक्टरसँगै अस्पतालको लागि नयाँ भवन र उपकरण ल्याउनुपर्छ भन्ने ‘ओएनएम’ सर्भे रिपोर्टमा उल्लेख छ । तर स्वास्थ्य मन्त्रालयमा बुझाइएको प्रतिवेदनबारे अहिलेसम्म कुनै जवाफ आएको छैन ।