काठमाडौं । विभिन्न प्रकारका चोटपटक लागेका तथा गम्भीर प्रकारका इन्जुरीका बिरामीहरुको उपचार गर्ने उद्देश्यले नेपालमा एक मात्रै ट्रमा सेन्टरको स्थापना गरिएको हो ।
नेपालमा केन्द्रीयस्तरमा एक मात्रै ट्रमा सेन्टर रहेकोले यसलाई ट्रमा सेन्टरका रुपमा मात्रै विस्तार गर्नका लागि नेपालका सन्दर्भका समय सापेक्ष तथा सम्भव नदेखिएको ट्रमा सेन्टरका निर्देशक डाक्टर प्रमोद जोशी बताउँछन् । उनी भन्छन्, ट्रमा सेन्टरले ट्रमाका बिरामीहरुलाई प्राथमिकतामा राखेर उपचार गरेपनि अर्थोपेडिकका अन्य सेवाहरु पनि यहाँबाट सञ्चालन गरिदैं आएको छ ।
वीर अस्पतालको नयाँ भवन तयार हुनासाथ सर्जरी बाहेकका अन्य सेवाहरुलाई सारिने निर्देशक जोशी बताउँछन् । त्यसपश्चात् भने ट्रमाका मात्रै सेवाहरु प्रदान गरिने छ उनी बताउँछन् । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको पाँच वर्षपछि ०७१ मंशिर मुलुकको एक मात्र ट्रमा सेन्टरको नेपालका तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
नेपालमा एउटा मात्रै भएको हुनाले ट्रमा सेन्टरमा बिरामीको चाप थेग्न नै नसक्ने अवस्थामा पुगेको डा.जोशीको दाबी छ । रेफरल सेन्टरको रुपमा रहेको यहाँ नेपालभरि बाट नै ट्रमाका केशहरु आउने गरेका छन् । संघमा केन्द्रीकृत अवस्थामा रहेको सेवा सुविधालाई प्रदेशसम्म पु¥याउने सरकारी अवधारणा अनुसार सबै प्रदेशहरुमा ट्रमा सेन्टरको स्थापना गर्न सकिएमा यहाँ रहेको बिरामीको अत्याधिक चापमा अवश्य नै सुधार आउने उनी बताउँछन्।
आकस्मिकसहित बहिरंग र अन्तरंग सेवामार्फत् बिरामीलाई सेवा दिँदै आएको राष्ट्रिय ट्रमा सेन्टरबाट दैनिक ३ सय भन्दा बढी बिरामीले ओपिडीमा मात्रै सेवा लिदैं आएका छन् । ट्रमा सेन्टरका लागि सरकारले २ सय ४७ को संख्यामा जनशक्ति छुट्याएको छ । त्यसमध्ये २७ जनाको विशेषज्ञ चिकित्सक दरबन्दी रहेकोमा २१ जना मात्र कार्यरत छन् । त्यसैगरी, मेडिकल अधिकृत ३१ जना कार्यरत छन् । नर्सिङ जनशक्तितर्फ १ सय ४७ जनाको दरबन्दी रहेकोमा १ सय ७ दरबन्दी मात्र परिपूर्ति भएको अवस्था छ ।
ट्रमाका अतिरिक्त्त अर्थोपेडिक विभाग, न्युरोसर्जरी विभाग, प्लास्टिक सर्जरी विभागलगायत सञ्चालनमा रहेका छन् । ट्रमा सेन्टर मात्र नभई नेपालको सबै स्वास्थ्य संस्थाहरु जनशक्ति अभावमा नै काम गर्न बाध्य छन् । पर्याप्त स्थानको अभाव, जनशक्ति अभाव, उपकरण अभावलगायत अनेकौँ समस्याका कारण पनि ट्रमा सेन्टरले स्थापनाको लक्ष्यअनुसार काम गर्न नसकेको उनको भनाइ छ ।
हामीले ओएनएम सर्भे गर्नुपर्ने माग पहिलादेखि नै राख्दै आइरहेका छौं । ट्रमा सेन्टरको आकस्मिक कक्षमा अत्यावश्यक एमडीजीपीको चिकित्सकको दरबन्दी समेत नभएकाले काम गर्नमा कठिनाई भएको निर्देशक जोशी बताउँछन् । त्यसका लागि नेपाल सरकारले एउटा नयाँ ओएनएम सर्भे गरेर उक्त चिकित्सकको दरबन्दी परिपूर्ति गर्नु आवश्यक रहेको छ । ट्रमा सेन्टरले आफूलाई चाहिने जनशक्ति करारबाट पनि लिएको छ ।
सरकारी स्तरबाट सञ्चालित राष्ट्रिय ट्रमा सेन्टरको ओपीडि शुल्क अन्य सरकारी अस्पतालहरुको जस्तै भएतापनि सर्जरी सेवाको हकमा भने प्राय हाड जोर्नीका सर्जरी हुने भएकोले त्यस्ता सर्जरीमा प्रयोग हुने फलाम पाताहरु नै महँगो हुने भएकोले सर्जरी सेवा महँगो भएको स्विकार्छन् डाक्टर गिरी ।