नेपालमा हाल भारतमा उत्पादित आस्ट्राजेनेकाको कोभिशील्ड र चिनियाँ भेरोसेल खोप कोरोनाभाइरसविरुद्ध दिइँदै आइएको छ।
कतिपयले यी दुवै खोप लगाउँदा झन् प्रभावकारी हुनसक्ने विचार सामाजिक सञ्जालमा व्यक्त गरेको देखिएको छ।
तर सरकारले भने खोपको पहिलो मात्रा प्राप्त गरेका व्यक्तिले त्यही खोपको दोस्रो मात्रा लगाउनुपर्ने बताइरहेको छ।
पहिलो मात्रा कोभिशील्ड लगाएकाले दोस्रो मात्रा पनि कोभिशील्ड नै र भेरो सेल लगाएकाले भेरो सेल नै लगाउनु पर्ने सरकारको भनाइ छ।
दुवै खोप लगाउनु हुन्छ कि हुँदैन ?
स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले दुई वटा खोप मिसाउँदा के हुन्छ भन्ने विषयमा अन्ताराष्ट्रिय स्तरमै अध्ययन भइरहेको बताए।
उनले भने, 'यो अहिले अध्ययनकै विषय छ।'
हालसम्म कुनै पनि मुलुकले दुई खोप मिसाएर लगाउन नभनेको र खोप मिसिँदा के हुन्छ भन्ने विषयमा केही भनिहाल्न अप्ठ्यारो रहेको उनले बताए।
परिषद्का सदस्यसचिव प्रदीप ज्ञवालीले पनि दुई खोप मिसाएर दिने सरकारी योजनामा नरहेको जानकारी दिए।
सरकारले गठन गरेको खोपसम्बन्धी विज्ञ समूहका संयोजक डा. श्यामराज उप्रेतीले पनि दुइटै खोप लगाएको विषयमा आफूहरूलाई जानकारी नभएको बताए।
'मैले धरै ठाउँमा हेरेको छु। सुरुमा आस्ट्राजेनेका लगाएकाले दोस्रो मात्रामा भेरो सेल लगाएको त थाहा छैन,' उनले भने।
'सुरुमा जुन लगाएको हो त्यही लगाउनुपर्छ भनेर हामीले व्यापक प्रचारप्रसार गरेका छौँ।'
स्वास्थ्य मन्त्रालयका अनुसार कोभिशील्ड र भेरो सेल फरक किसिमका खोप हुन। कोभिशील्ड पुनः संयोजित खोप हो भने भेरो सेल निष्क्रिय पारिएको भाइरसनिर्मित खोप हो।
माइक्रोबायोलोजी प्राध्यापक तथा खोपसम्बन्धी अध्येता डा.प्रकाश घिमिरेका अनुसार भेरो सेल निष्क्रिय पारिएको खोप भएकाले यसको प्रभावकारिता भेक्टर्ड खोप (कोभिशील्ड) भन्दा केही कम हुन्छ।
भेक्टर्ड खोप दुई मात्रा लगाएपछि प्रभावकारिता लगभग ८० प्रतिशत हुने विभिन्न अध्ययनले देखाएको उनी बताउँछन्। बीबीसी