काठमाडौं । नेपाल सरकारले आइतबारदेखि १२ –१७ वर्ष उमेर समूहका दीर्घरोगी बालबालिकालाई फाइजर –बायोएनटेक खोप दिने भएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आज गरेको फाइजर –बायोएनटेक प्रयोग गरी सञ्चालन हुने कोभिड –१९ खोप अभियानबारे गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा महाशाखाका प्रमुख सागर दाहालले नेपालभरी नै विभिन्न २४ अस्पतालबाट उक्त खोप अभियानको शुभारम्भ गरिने बताए ।
उनका अनुसार नेपालमा विं– सं २०७७ माघ १४ गतेदेखि सुरु भएको कोरोना खोप अभियानमा हालसम्म कोभिडशिल्ड,भेरो सेल –साइनोफार्म,एस्ट्राजेनिका,जेन्सन गरी विभिन्न ५ प्रकारका कोभिड –१९ का खोपहरु प्रयोग भइसकेका छन् । यी खोपहरु १८ वर्ष उमेर पुरा भइसकेकाहरुका लागि प्रयोग हुने गरेको छ । यद्यपि नेपालले पहिलो पटक अमेरिकी कम्पनीले उत्पादन गरेको फाइजर खोप दीर्घ रोगी बालबालिकाहरुका लागि लक्षित गरी सञ्चालन गर्न लागेको हो ।
नेपालमा कोभिड –१९ खोप अभियानमा हालसम्मको प्रगती
नेपालका हालसम्म ८७,५२,५६१ जनाले कोरोनाको पहिलो मात्राको खोप लिइसकेका छन् भने ७४,८५११० जनाले दोस्रो मात्रा खोप लिइसकेका छन् । पहिलो तथा दोस्रो डोज गरी हालसम्म १,६२,३७,६७१ जनाले कोरोनाको खोप लगाइसकेको तथ्यांक छ।
फाइजर खोप दिनका लागि लक्षित समूह
सरकारले १२ वर्षमाथिका विभिन्न ८ प्रकारका दीर्घ रोगका बिरामी बालबालिकाहरुलाई फाइजरको खोप दिने निर्णय गरेको छ । जसमा मुटुको बिरामी भई अप्रेशन गरेका या औषधिको प्रयोग गरिरहेका बालबालिका,मृगौलाको समस्या भई मृगौला फेरेका, डायलासिस् गराइरहेका, औषधि सेवन गरिरहेका,जुनसुकै प्रकारको क्यान्सको पहिचान भै उपचारमा रहेका,फोक्सोको समस्या भई चिकित्सकको पूर्जा बमोजिम औषधि सेवन गरिरहेका, अंग प्रत्यारोपण गराएका,उच्च उक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका,रोग प्रतिरोधात्मक क्षमता कम भएका,मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएका बालबालिकाहरु खोप अभियानको लक्षित समूहमा परेका छन् ।
खोप केन्द्र सञ्चालन हुने २४ अस्पतालहरु
दीर्घ रोगी बालबालिका लक्षित खोप अभियान सञ्चालनका लागि सरकारले नेपालभरि नै विभिन्न २४ सरकारी अस्पतालहरुमा खोप केन्द्र स्थापना गरेको छ । काठमाडौं उपत्यकामा वीर, श्री विरेन्द्र सैनिक ,सिभिल,त्रि।वि शिक्षण,शहीद गंगालाल राष्ट्रिय हृद्य रोग केन्द्र तथा पाटन अस्पतालमा खोप केन्द्र सञ्चालन गरिने छ । प्रदेश १ मा मेची प्रादेशिक अस्पताल, बी।पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,कोशी प्रादेशिक अस्पतालमा खोप केन्द्र तोकिएको छ ।
त्यस्तै गरी प्रदेश २ मा गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान,नारायणी प्रादेशिक अस्पताल तथा जनकपुर प्रादेशिक अस्पतालमा खोप केन्द्र सञ्चालन गरिने छ । त्यस्तै बाग्मती प्रदेशमा बी.पी कोइराला स्मृति क्यान्सर अस्पताल तथा धुलिखेल अस्पतालमा खोप केन्द्र तोकिएको छ ।
गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा धौलागिरिी अस्पतालमा खोप केन्द्र रहेका छन् ।लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल,राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा भेरी अस्पताल अस्पतालमा खोप केन्द्र तोकिएको छ । त्यसैगरी कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तथा सुदुरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताल तथा डडेल्धुरा अस्पतालमा खोप केन्द्र तोकिएको छ ।