काठमाडौं । आज नोभेम्बर १४, विश्व मधुमेह दिवस । इन्टरनेसनल डायबेटिज फेडेरेसन र विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९१ देखि नोभेम्बर १४ का दिनलाई विश्व मधुमेह दिवसको रुपमा मनाउन थालिएको हो । सन् २००६ मा यो दिवसले आधिकारिक रुपमा संयुक्त राष्ट्र संघ अन्तर्गत स्थान पाएको थियो ।
यो दिन मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिन पनि हो । फ्रेड्रिक ग्रान्टले चार्ल्स बेस्टसँग मिलेर सय वर्ष पहिले इन्सुलिनको खोज गरेका थिए । उनैको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा विश्व मधुमेह दिवस मनाइन्छ।
के हो मधुमेह ?
रगतमा ग्लुकोजको मात्रा बढी हुँदै गएमा मधुमेह हुन्छ । शरिरको तौल बढ्दै गएमा मानिसमा मधुमेहको खतरा पनि बढ्दै जाने सम्भावना हुन्छ । उच्च रक्तचापको समस्या भएको मानिसलाई मधुमेह हुन सक्छ । मानव शरीरमा कोलस्ट्रोलको मात्रा बढ्दै गएमा पनि मधुमेह हुने संभावना हुन्छ । गर्भवती महिलालाई मधुमेहको समस्या छ भने बच्चामा मधुमेह देखिने खतरा धेरै हुन्छ । मुटु रोगी र ४० वर्ष नाघेका मानिसहरुलाई मधुमेहको समस्या देखा पर्न सक्छ ।
३० वर्ष मुनिकालाई पहिलो तह र ३० वर्षभन्दा माथिकालाई दोस्रो तहको मधुमेह हुन्छ । पहिलो तह पारिवारिक र वंशाणुगत कारणले हुन्छ भने दोस्रो तह खानपान र जीवनशैलीका कारण हुने गर्दछ । मधुमेहले तत्काल हृदयाघात, मस्तिष्काघात, मिर्गौला खराब, दृष्टि गुम्ने जस्ता समस्या ल्याउन सक्छ । दीर्घकालीन रुपमा पनि यसले बिस्तारै मिर्गौला खराब गर्ने, दृष्टि समस्या बढ्दै जाने, घाउ निको नहुने, मस्तिष्काघातसम्म पुर्याउने खतरा रहन्छ ।
रोकथाम
– बच्चालाई ६ महिनाको उमेरसम्म गाईभैँसीको दूध खुवाउनुहुँदैन ।
– टाइप २ मधुमेहलाई भने नियन्त्रण गर्न सकिन्छ । यसका लागि जीवनशैली परिवर्तन गर्नुपर्छ ।
– खानपिनमा ध्यान दिनुपर्छ ।
– तौल सन्तुलनमा राख्नुपर्छ ।
– तनाव कम गर्नुपर्छ ।
– महिलाले स्तनपान गराएमा पनि मधुमेहबाट बच्न सकिन्छ ।
– नियमित रूपमा शारीरिक अभ्यास गर्नुपर्छ ।