काठमाडौं । मुलुककै जेठो तथा केन्द्रीय स्तरको अस्पताल वीरमा बिरामीको चाप बढ्नु स्वभाविक हो । देशका उच्च तथा निम्न वर्गको रोजाईमा पर्ने गरेको वीर अस्पतालमा अहिले कोभिडका भन्दा नन् कोभिडका बिरामीहरुको चाप बढिरहेको बताउँछन वीर अस्पतालका निर्देशक डा.भुपेन्द्र कुमार बस्नेत।
अस्पतालले दैनिक रुपमा १३–१४ सय बिरामीहरुलाई उपचार सेवा दिइरहेको छ । सरकारले कोरोनाका बिरामीहरुको उपचारका लागि भन्दै छुट्याएको वीर अस्पतालमा पछिल्लो समय कोभिडका बिरामीहरुको चाप घटेपनि नन् कोभिडका बिरामीहरुको चाप भने अत्याधिक मात्रामा उनको रहेको दाबी छ ।
करिब ४० –५० को संख्यामा कोभिड बिरामीहरु हाल अस्पतालमा उपचाररत्त अवस्थामा रहेका छन् भने दैनिक ४–५ जना मात्रै उपचारका लागि आउने गरेका छन् । यद्यपि अस्पतालले अझै पनि दैनिक १५० – २०० को संख्यामा पिसिआर परीक्षण भने गरिनै रहेको छ ।
पहिले झै अस्पतालले दिने गरेको विशेषज्ञ सेवा सञ्चालन भइ नै रहेको छ । नयाँ अत्याधुनिक भवन बनेपनि जनशक्ति व्यवस्थापन हुन नसक्दा भने सेवा प्रवाहमा चुनौती थपिएको छ । संमग्रमा सबै खालका जनशक्तिको अभाव भएपनि विशेषगरी नर्सिङ जनशक्तिको अभाव भने धेरै नै रहेको डा ।बस्नेत बताउँछन् । नर्सिङ जनशक्ति अभावका कारण नै अस्पतालले कतिपय सेवाहरु दिन नै सकेको छैन । हाल अस्पतालमा कोभिड तथा नन् कोभिड गरी करिब ६०० बेड सञ्चालनमा रहेको वीरमा नयाँ भवन बनेपनि जनशक्ति व्यवस्थापन हुन नसक्दा अस्पतालले अत्याधिक मात्रामा रहेको बिरामीको चाप थेग्न नसकेको हो । अस्पताललाई थप ८ सय भन्दा बढी जनशक्ति आवश्यक रहेको छ ।
नेपाल सरकारले उक्त भवन निर्माण भएसँगै ८३१ जनाको दरबन्दी कायम गरेपनि लोक सेवा मार्फत् जनशक्ति परिपूर्ति गरिने भएकोले त्यसका लागि समय लाग्नु स्वभाविक पनि भएको डा.बस्नेतको तर्क छ । वीरमा अस्पतालमा उपचारका लागि जाँदा प्राय सुन्नुपर्ने समस्या हो सिटिस्क्यान बिग्रियो, एक्स–रे सेवा छैन । उनी भने त्यो सुन्न नपरोस् भन्ने लक्ष्यका साथ काम गरिरहेको डा. बस्नेतको दाबी छ ।
उनी भन्छन् मान्छे त कहिले बिरामी पर्छ भने मेसिनरी सामान बिग्रनु त स्वभाविक नै हो नि । त्यसमा पनि ६ घण्टा चल्ने मेसिन १२ घण्टा चल्छ अत्याधिक चाप भएपश्चात् मेसिन त बिग्रिहाल्छ नि । नेपाल सरकारबाट बजेट नआएकोले मेसिन खरिदको प्रक्रिया अगाडि बढाउन सकिएको छैन ।
अस्पतालले पहिले दिदैं आएका सेवाहरुलाई व्यवस्थित बनाउनुका साथै अन्य केही सेवाहरु थप गरेको छ । आगामी केही दिनभित्र नै अनलाइन टिकट सेवा ल्याउने दाबी डा. बस्नेतको छ । बिरामीले अस्पताल आएर स्वास्थ्य परीक्षण गराएपश्चात् घरमै बसेर रिपोर्ट हेर्न पाउने व्यवस्थाभने अस्पतालले गरि सकेको छ ।
वीर अस्पतालको सुधारमा धेरै कामहरु गर्न बाँकी रहेको छ ।आफूले पुरानो भवनलाई भत्काएर करिब ७०० बेडको नयाँ अस्पताल बनाउने योजना अगाडि सारेको बताउँछन् । त्यसका लागि आन्तरिक होमवर्क तथा छलफलमा व्यस्त छौं केही समयपश्चात् नेपाल सरकार समक्ष योजना लैजाने तयारी छ ।
अस्पतालले विस्तार गरेको नयाँ सेवामा क्यान्सर स्क्रिनिङ सेवा एक हो । नेपालमा बढी मात्रामा रहेको ठूलो आन्द्राको क्यान्सर,पाठेघरको क्यान्सर तथा स्तन क्यान्सर भए नभएको जानकारी अगाडि नै लिनका लागि यो सेवा सुरुवात गरिएको हो ।
के हो क्यान्सर स्क्रिनिङ सेवा ?
क्यान्सर स्क्रिनिङ सेवा कुनै पनि व्यक्तिमा क्यान्सर लागे नलागेको सुरुवाती अवस्थामा नै थाहा पाउनका लागि प्रयोग गरिने एउटा प्रविधि हो । स्क्रिनिङ कार्यक्रमले १० वर्षपछि हुनसक्ने क्यान्सर, वंशाणुगत कारणले हुने क्यान्सर, छिटो हुन लागेको क्यान्सरको पत्ता लगाउन सकिने भएकाले रोग लाग्नै नदिने सेवाको उद्देश्य रहेको अस्पतालका प्रमुख डा. भुपेन्द्र कुमार बस्नेतले जानकारी दिए।
नेपालमा देखिएका प्रमुख क्यान्सरलाई मध्यनजर गर्दै स्क्रिनिङ सेवा सुरु गरिएको डा. बस्नेतको भनाई छ।चिकित्सकका अनुसार लामो समय धुम्रपान प्रयोगकर्ता, प्रदूषणमा बसिरहेका, पेस्टिसाइडजस्ता विषादीको सम्पर्कमा काम गरिरहने किसान, लामो समय रङ्गको काम गर्नेहरू, रङ्गको कारखानामा काम गर्नेहरू, परिवारमा पहिला नै कसैलाई क्यान्सर भएका, विवाहित,अविवाहित महिलालगायतका समूह क्यान्सरको सम्भावित जोखिममा हुन्छन्।