चितवन- मेरुदण्डमा समस्या देखिएका बिरामीको उपचारका लागि रोटरी क्लबको अगुवाइमा भरतपुर अस्पताल परिसरमा रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माणको काम थालिएको छ। आज जग पूजा गरेर निर्माण कार्य थालिएको हो।
चितवनका ६, नवलपरासीका दुई र ललितपुरको एक गरी ८ वटा क्लबले आर्थिक सङ्कलन गरी सेन्टर निर्माण गर्न लागेका हुन। निर्माण समितिका संयोजक उत्तमलाल चुकेका अनुसार रु ६ करोडमा सेन्टर निर्माण गर्ने तयारी गरिएको छ। सुरुमा २५ शय्या र पछि ५० शय्या बनाइने उनले जानकारी दिए। रोटरी क्लबसँगै स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग सहयोग सङ्कलन गरिने चुकेले जानकारी दिए।
रोटरी क्लब अफ चितवन रत्ननगर, नारायणगढ, भरतपुर, नारायणी मिडटाउन, गैँडाकोट, पूर्वी चितवन, कावासोती र जावलाखेलको संयुक्त परियोजनाको रुपमा सेन्टर अघि बढाइएको हो। रोटरी क्लब अफ रत्ननगरका पूर्व अध्यक्ष जनक पौडेलले निर्माण सम्पन्न भएसँगै भरतपुर अस्पताललाई हस्तान्तरण गरिने बताए। एक वर्षभित्रमा निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए।
मेरुदण्डका बिरामी राखिने भएकाले भूइँ तला मात्र बनाइने छ। अस्पताललाई हस्तान्तरणपछि पनि आवश्यक सहयोग रोटरीले गर्ने पौडेलको भनाइ छ। भरतपुर अस्पतालमा यसअघि नै विसं २०६९ असार १ गतेबाट स्पाइनल सेन्टर सञ्चालन गरिएको थियो। हाल १० शय्याको सो सेन्टर कोभिडका कारण अन्य विभागमा गाभेर सञ्चालन गरिएको छ।
भरतपुर अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट प्राडा कृष्ण प्रसाद पौडेल स्पाइनल उपचारको विज्ञ समेत हुन्।
अस्पतालको पाँच कठ्ठा जमिनमा सेन्टर निर्माण थालिएको हो। यसले स्पाइनलमा समस्या भएका बिरामीको उपचारमा सघाउ पुग्ने पौडेलको भनाइ छ। भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार निर्माणपछि यसको सञ्चालन विकास समितिलेनै गर्ने छ। सेन्टर पूर्ण रुपमा निर्माण गरी उपकरणसहित जडान गरेर रोटरीले अस्पताललाई हस्तान्तरण गर्ने उनले जानकारी दिए।
सेन्टरलाई उपचारसँगै पुनःस्थापना केन्द्रको रुपमा विकास गरिने छ। मेरुदण्डका बिरामीमा अन्य समस्या भएमा अस्पतालमानै उपचार गर्न सकिने भएकाले यो सेन्टर निकै प्रभावकारी हुने अधिकारीको भनाइ छ। सरकार आफैले गर्नुपर्ने काममा रोटरीको अगुवाइमा हुन लागेको भन्दै उहाँले सबैलाई आवश्यक सहयोगका लागि अनुरोध गरे। रासस