काठमाडौं । तपाईंले कस्तो किसिमको खाना खानुपर्छ भन्ने कुरा, भोजनबारे तपाईंको सोचाइ कस्तो छ अनि तपाईंका मूल्य र मान्यताहरूमा के–कस्ता छन् भन्ने विषयमा निर्भर रहनुहुँदैन-बरु, शरीरले के चाहन्छ भन्ने कुरामा निहित रहनुपर्छ । किनकि, भोजन शरीरसँग सम्बन्धित हुन्छ । जब के खाने र के नखाने भन्ने कुरा आउँछ, तब आफ्नो डाक्टर वा पोषणविद्लाई नसोध्नुहोस्, किनकि उनीहरू हरेक ५ वर्षमा आफ्ना धारणाहरू फेरिरहेका हुन्छन् ।
जब खानाको कुरा आउँछ, तब कस्तो प्रकारको खानेकुरा खाँदा यो प्रसन्न महसुस गर्छ भनेर आफ्नै शरीरलाई सोध्नुहोस् । फरक–फरक खानेकुराहरू खानुहोस् अनि खाना खाइसकेपछि शरीरले कस्तो महसुस गर्दछ भन्ने कुरामा ध्यान दिनुहोस् । यदि तपाईंको शरीर एकदमै फूर्तिलो, ऊर्जावान् र आनन्दित महसुस गऱ्यो भने, शरीर प्रसन्न रहेको छ भनेर बुझ्न सकिन्छ । यदि शरीर सुस्त र अल्छी महसुस गर्दछ अनि जागा अवस्थामा रहनको लागि निरन्तर कफी, चिया, चुरोट लिइरहनु पर्ने भएको छ भने, शरीर प्रसन्न अवस्थामा छैन भनेर बुझ्न सकिन्छ, होइन र ?
यदि तपाईंले आफ्नो शरीरलाई सुन्नुभयो भने, तपाईंको शरीर कस्तो प्रकारको खानाबाट प्रसन्न रहन्छ भनेर यसले प्रष्टै बताउनेछ । तर अहिले, तपाईं आफ्नो मनको कुरा सुनिरहनु भएको छ । तपाईंको मनले जतिबेला पनि तपाईंलाई ढाँट्दछ । तपाईं आफैँ हेर्नुहोस्, के यसले तपाईंलाई ढाँटिरहेको छैन र ? आज यसले तपाईंलाई यही कुरा ठीक हो भन्छ । अनि, भोलि फेरि यसले तपाईंलाई हिजो कस्तो कुरामा विश्वास गरिएछ भनेर मुर्ख जस्तो महसुस गराउँछ । त्यसैले, मनको पछि नलाग्नुहोस् । तपाईंले आफ्नो शरीरलाई मात्र सुन्न सिक्नुपर्छ ।
अरू सबै जनावर, सबै प्राणीहरूलाई के खाने र के नखाने भनेर थाहा हुन्छ । मनुष्यलाई यस संसारको सबैभन्दा बुद्धिमानी मानिन्छ, तर उनीहरूलाई के खानुपर्छ भनेर नै थाहा छैन । कसरी रहने भन्ने त परैको कुरा, मानिसहरूलाई के खानुपर्छ भन्नेसम्म पनि थाहा छैन ! त्यसैले, आफ्नो शरीरलाई सुन्नको लागि तपाईंमा निश्चित ध्यान र समझदारी हुनुपर्छ । जब तपाईंमा त्यो रहन्छ, त्यसबेला तपाईंलाई के खाने र के नखाने भनेर थाहा हुन्छ ।
तपाईंभित्र जाने खानाको गुणको सन्दर्भमा हेर्ने हो भने, निश्चय पनि तपाईंको प्रणालीको लागि मांसाहारी खानाको तुलनामा शाकाहारी खाना निकै बढी उत्तम हो । हामीले यसलाई नैतिकताको दृष्टिकोणबाट हेरिरहेका छैनौँ । हामीले यो शारीरिक प्रणालीको लागि के उपयुक्त छ भनेर मात्र हेरिरहेका छौँ-हामी त्यस्तो खानेकुरा खान चाहन्छौँ, जसले हाम्रो शरीरलाई आरामपूर्ण स्थितिमा राख्छ ।
चाहे तपाईं आफ्नो व्यापार–व्यवसाय राम्ररी चलाउन चाहनुहोस् वा राम्रो अध्ययन गर्न चाहनुहोस् वा अरू जुनसुकै काम राम्रो ढङ्गले गर्न चाहनुहोस्, तपाईंको शरीर आरामपूर्ण स्थितिमा रहनु एकदमै अपरिहार्य हुन्छ । त्यसैकारण, हामीले त्यस्तो खानेकुरा खानुपर्छ, जसबाट यो शरीर सहज एवं आरामपूर्ण स्थितिमा रहन सकोस् अनि त्यो भोजनबाट पोषण लिनको लागि संघर्ष गर्नु नपरोस् ।
कसरी शाकाहारी बन्ने ?
तपाईं प्रयोग गरेर हेर्न सक्नुहुन्छ: शाकाहारी भोजनलाई नपकाएको स्थितिमा खानुहोस् अनि त्यसले शरीरमा कस्तो फरक पार्छ भनेर हेर्नुहोस् । यसको पछाडि रहेको सोच के हो भने, हामी सम्भव भएसम्म खानालाई जीवित रूपमा खान चाहन्छौँ-जे–जति सम्भव हुन्छ, हामी तिनलाई ताजा रूपमै खान चाहन्छौँ । जीवनलाई कायम राख्नको लागि जीवित कोषिकामा सबैथोक रहेको हुन्छ ।
यदि तपाईंले जीवित कोषिका उपभोग गर्नुभयो भने, तपाईंको प्रणालीको स्वास्थ अहिले सम्मको भन्दा निकै फरक हुनेछ । जब हामी खानेकुरा पकाउँछौँ, तब त्यसको जीवन नष्ट हुन्छ । खानेकुरालाई नष्ट गरिसकेपछि खाँदाखेरी, त्यही मात्रामा जीवन ऊर्जा प्राप्त हुँदैन । तर, यदि तपाईंले खानेकुरालाई काँचै अवस्थामा खानुभयो भने, यसले तपाईंमा छुट्टै स्तरको जीवन्तता ल्याउँछ । यदि तपाईंले प्रशस्त मात्रामा टुसाएका गेडागुडीहरू, फलफूल र अरू सागसब्जीहरूलाई जीवित रूपमा खानुभयो भने-आफ्नो आहारमा कम्तीमा पनि ३०–४० प्रतिशत काँचो खानेकुरा समावेश गर्न सक्नुभयो भने-तपाईंले यो स्पष्ट महसुस गर्न सक्नुहुन्छ कि यसले तपाईंभित्रको जीवनलाई पनि एकदमै राम्रोसँग राख्नेछ ।
सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, तपाईं जुन खानेकुरा खानुहुन्छ, त्यो आफैँमा जीवन हो । हाम्रो जीवनलाई थामेर राख्नको लागि अरू जीवनहरूले आफैँलाई बलिदान गरिरहेका छन् । यदि हामीले आफूलाई जीवित राख्नको लागि आफ्नै जीवन त्यागिरहेका ती सम्पूर्ण जीवनहरूप्रति अत्यन्तै कृतज्ञताको भावले भोजन ग्रहण गऱ्यौँ भने, त्यही भोजनले तपाईंभित्र एकदमै छुट्टै तरिकाले व्यवहार गर्नेछ !